Shittalpati
आमाको सधैँ सम्मान गरौं

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । हरेक वर्ष वैशाख महिनाको कृष्ण पक्ष औंसीको दिन हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष श्रद्दाका साथ लिने गर्छन् । आफ्नी आमा, दिवंगत आमा जुनसुकै भए पनि आमालाई सम्झिने यस दिनको एक विशेष शास्त्रीय मान्यता रहेको छ । आजको दिन जन्मदिने माताप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्ने गरिन्छ । यस दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने, दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।
मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ । मातातिर्थ औंशीका दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मनपर्ने खानेकुरा तथा उपहार दिई छोराछोरीहरूले आमाबाट शुभ आर्शिवाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई मातातीर्थ औंसी भन्ने गरिन्छ । आमाबाट टाढा रहेका सन्तानहरू आमालाई भेट्न पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत सम्झने गर्छन् भने आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै श्राद्ध–तर्पण गरी मातृत्वको स्मरण गर्छन् । यसवर्ष विश्वभर फैलिएको कोरोना महामारीका कारण अधिकांश सन्तानहरुले आफ्नो जन्म दिने आमालाई भेट्न पाएका छैनन् । आमासँग भेट नहुनेहरुले सामाजिक सञ्जालमा सम्झिएका छन् । यसलाई केही हदसम्म सकारात्मक रुपमा लिन सकिन्छ । तर वर्षको एक पटक मात्र आमालाई सामाजिक सञ्जालका भित्ताहरूमा मात्रै सजाएर आमा सम्झिने प्रवृत्तिको विकासलाई भने सकारात्मक मान्न सकिदैन । हिजोआज बढ्दो पश्चिमीकरण र तिनका मूल्य–मान्यता अँगाल्ने होडमा धेरै आमाहरू अवहेलनामा परिरहेका छन् । आफू सक्षम नबनुञ्जेल काखमा लुटपुटिने र सक्षम बनिसकेपछि तिनै आमालाई साहारा विहीन बनाउने सन्तानहरू अहिले बढिरहेका छन् । यो अत्यन्त दुःखको कुरा हो । आमा– जननी, जन्मदाता र कर्मदाता हुन् । नौ महिनासम्म आफ्नो कोखमा राखेर हुर्काउने, बढाउने, पढाउने लगायतको कामहरु आमाले नै गर्नुहुन्छ । सबैको मुखमा आपत पर्ने बितिकै ‘आमा’ भन्ने शब्द फुत्किहाल्छ । चाहे गर्भमा होस्,चाहे काखमा, चाहे घर, स्कुल, कलेज, कार्यालय, विदेश जहाँ रहे पनि आफ्नो सन्तानको समान रुपले माया गर्ने ज्ञानकी खानी आमा नै हुन् । त्यसैले आमाको माया अपरम्पार रहेको छ । तसर्थ आमाको अपार मायालाई हामीले कहिल्यै भुल्नुहँदैन । सधंै सम्मान गर्न सिकौैंं ।

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update