नेपालमा हरेक वर्ष भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । यस वर्ष पनि आज विभिन्न कार्यक्रमहरु गरी दिवस मनाउन लागिएको छ । पहिले भदौ ४ गते मनाइने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ मा मनाउन थालिएको हो । सन १९९० मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको पाइन्छ । बालबालिका प्रकृतिका सुन्दर संरचना हुन, आमाबाबुका सुनौला सपना हुन्, समाज र राष्ट्रका भविष्यका संवाहक पनि हुन् । बालबालिका बिनाको समाज कल्पनासम्म गर्न सकिँदैन । आजका बालबालिका भोलिका आमाबाबुका सहारा र राष्ट्रका कर्णधार हुन् । त्यसैले पनि बालदिवस आफैमा महत्वपूर्ण रहेको छ ।
बालबालिकाको अधिकार, सुरक्षा, शिक्षा, स्वास्थ्य र समग्र विकासप्रति राज्य तथा समाजको ध्यानाकर्षण गराउने महत्वपूर्ण अवसरका रूपमा यो दिवसलाई लिनुपर्छ । दिवस मनाउनुको उद्देश्य केवल औपचारिक कार्यक्रम र नारामा सीमित नभई बालबालिकाका वास्तविक समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्नु हो । बालबालिका देशका भविष्य मात्र होइनन्, वर्तमानका महत्वपूर्ण नागरिक पनि हुन् । उनीहरूको सुरक्षित, सम्मानजनक र बालमैत्री वातावरणमा हुर्कने अधिकार छ । संविधान तथा प्रचलित कानूनले बालबालिकाका विभिन्न अधिकार सुनिश्चित गरे पनि व्यवहारमा अझै धेरै बालबालिका ती अधिकारबाट वञ्चित छन् । यो अत्यन्तै दुखको कुरा हो । गुणस्तरीय शिक्षाको पहुँचमा असमानता, कुपोषण, बालश्रम, बालविवाह, हिंसा, दुव्र्यवहार, बेचबिखन तथा अनलाइन जोखिमजस्ता समस्या अझै चुनौतीका रूपमा रहेका छन् । विशेषगरी आर्थिक रूपमा विपन्न, ग्रामीण तथा दुर्गम क्षेत्रका बालबालिका शिक्षा, स्वास्थ्य र संरक्षणका आधारभूत सेवाबाट समेत पछाडी पर्नुपर्ने अवस्था छ ।
विद्यालयमा भर्ना हुँदैमा बालअधिकार सुनिश्चित भएको मान्न सकिँदैन । उनीहरूले सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा पाउने, आफ्नो विचार व्यक्त गर्ने, खेल्न तथा सिर्जनात्मक गतिविधिमा सहभागी हुने अवसर पनि पाउनुपर्छ । बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार नियन्त्रण गर्न परिवार, विद्यालय, समुदाय र राज्य सबै जिम्मेवार बन्न आवश्यक छ । बालबालिकालाई अनुशासनका नाममा शारीरिक वा मानसिक यातना दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिकामाथि हुने साइबर दुव्र्यवहार, अनलाइन ठगी तथा अनुचित सामग्रीको जोखिम पनि बढिरहेको छ । त्यसैले बालमैत्री डिजिटल वातावरण निर्माणमा समेत अभिभावक, विद्यालय र राज्यले विशेष ध्यान दिनुपर्छ । बालअधिकार संरक्षणका लागि कानून निर्माण मात्र पर्याप्त हुँदैन । बनेका कानूनको प्रभावकारी कार्यान्वयन, बाल संरक्षणका संयन्त्रको सुदृढीकरण र पीडित बालबालिकालाई सहज न्याय तथा पुनःस्थापनाको व्यवस्था आवश्यक छ । तसर्थ संविधानम भएको बाल अधिकार सुनिश्चित गर्ने दिशामा सबैले ध्यान दिन जरुरी छ ।

