भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्यायो । घर, पुल, सडक, जलविद्युत् आयोजना र स्वास्थ्य संस्थासमेत तहसनहस भएको यो विपत्ति आफैँमा अकल्पनीय त्रासदी हो । तर विपत्तिको घाउमा अर्को स्वास्थ्य संकट थपिन सक्ने चिन्ता छ । प्राकृतिक विपत्तिले निम्त्याउने क्षति केवल बाढीको पानीसँगै समाप्त हुँदैन । अहिले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा दूषित पानी, फोहोरको थुप्रो, बिग्रिएका खानेकुरा, क्षतिग्रस्त शौचालय र अस्वस्थ वातावरणका कारण विभिन्न संक्रामक रोग फैलिन सक्ने सम्भावना बढेको छ । यस्तो अवस्थामा समयमै सावधानी नअपनाउने हो भने बाढीको पीडामाथि महामारीको अर्को विपत्ति थपिन सक्छ ।
बाढीपछि पानीका स्रोतहरू दूषित हुनु सामान्य हो । ढल, फोहोर तथा मृत पशुपक्षी पानीमा मिसिँदा झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिसलगायतका पानीजन्य रोगको जोखिम बढ्छ । लामखुट्टेको प्रजननस्थल बढ्दा डेंगु, मलेरियालगायतका रोगको जोखिम पनि बढ्न सक्छ । त्यस्तै, चिसो, ओसिलो र भीडभाडयुक्त अस्थायी आश्रयस्थलमा बस्न बाध्य नागरिकमा श्वासप्रश्वासजन्य तथा छालासम्बन्धी समस्या पनि देखिन सक्छ । त्यसैले अहिलेको प्राथमिकता राहत वितरणसँगै स्वास्थ्य सुरक्षालाई पनि बनाउन आवश्यक छ । प्रभावित बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था, पानी शुद्धीकरणका उपाय, अस्थायी शौचालय, फोहोर व्यवस्थापन तथा नियमित सरसफाइ तत्काल गर्नुपर्छ । स्वास्थ्यकर्मीको टोली परिचालन गरी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र औषधि वितरणलाई प्रभावकारी बनाउनुपर्छ ।
कुनै क्षेत्रमा असामान्य रूपमा बिरामीको संख्या बढेको देखिए तत्काल पहिचान गरी रोग फैलिन नदिन निगरानी र नियन्त्रणका उपाय अघि बढाउनुपर्छ । यसमा सरकारको मात्र जिम्मेवारी छैन । स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षा निकाय, गैरसरकारी संस्था, सामाजिक संघसंस्था र समुदाय सबैको सहकार्य आवश्यक छ । राहतका नाममा खानेपानी, खाद्यान्न वा औषधि वितरण गर्दा गुणस्तर र सुरक्षित प्रयोगमा विशेष ध्यान दिनुपर्छ । प्रभावित नागरिकले पनि उमालेर वा शुद्धीकरण गरेर मात्र पानी पिउने, बासी तथा शंकास्पद खाना नखाने, व्यक्तिगत तथा वरपरको सरसफाइमा ध्यान दिने र बिरामी परे तत्काल स्वास्थ्य संस्थामा पुग्ने गर्नुपर्छ । तसर्थ बाढीग्रस्त क्षेत्रमा तत्काल स्वास्थ्य जोखिमको मूल्याङ्कन गरी सम्भावित महामारी रोकथामका लागि पूर्वतयारी र निगरानीलाई तीव्र बनाउन जरुरी छ ।

