प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई विश्व ओजोन तह बचाउ दिवसका रूपमा मनाइन्छ । विश्वभर बर्सेनि आजकै दिनलाई विश्वभरि विभिन्न कार्यक्रम गरेर विश्व ओजोन तह बचाउ दिवस मनाइने गरिन्छ । ग्लोबल वार्मिङका कारण पृथ्वीको तापमान बढ्दै गएकोमा विश्व समुदाय चिन्तित भइरहेकै बेला यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष दिवस मनाइए पनि ओजोन तह संरक्षणमा भने खासै ध्यान दिइएको पाइँदैन । पृथ्वीमा कार्बनको मात्रा बढ्दै गएको छ भने ओजोनको तह पातलिँदै गएको छ । जसले गर्दा खतराको अवस्था सिर्जना हुने तर्फ वैज्ञानिकहरुले चिन्ता प्रकट गर्नुलाई अन्यथा लिनु हुँदैन ।
पृथ्वीलाई सूर्यबाट आउने हानिकारक पराबैजनी किरणबाट जोगाउने ओजोन तह मानव जीवन तथा समग्र पर्यावरणका लागि प्राकृतिक सुरक्षा कवच हो । त्यसैले यसको संरक्षण गर्नु कुनै एक देश वा संस्थाको मात्र नभई सम्पूर्ण मानव समुदायको साझा दायित्व हो । विगतमा क्लोरोफ्लोरोकार्बन लगायतका ओजोन तहलाई क्षति पु¥याउने रसायनको अत्यधिक प्रयोगका कारण ओजोन तहमा प्वाल पर्ने समस्या गम्भीर बनेको थियो । यसको असर मानव स्वास्थ्य, कृषि, वनस्पति तथा समुद्री जीवमा समेत पर्न सक्ने खतरा बढेको थियो । विश्व समुदायले समस्या समाधानका लागि मोन्ट्रियल प्रोटोकलजस्ता अन्तर्राष्ट्रिय प्रयास अघि बढाएपछि ओजोन तह संरक्षणमा सकारात्मक उपलब्धि हासिल भएको छ । यसले विश्वव्यापी सहकार्यबाट वातावरणीय चुनौती समाधान गर्न सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ । तर उपलब्धि हासिल भयो भन्दैमा हामी ढुक्क भएर बस्ने अवस्था छैन । जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र विभिन्न हानिकारक रसायनको प्रयोगप्रति अझै सचेत हुन आवश्यक छ । उद्योग, व्यवसाय तथा उपभोक्ताले वातावरणमैत्री प्रविधि र उत्पादनलाई प्राथमिकता दिनुपर्छ ।
सरकारले प्रभावकारी नीति तथा कानुन निर्माण गरी त्यसको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ । साथै, विद्यालयदेखि समुदायसम्म ओजोन तह संरक्षणसम्बन्धी जनचेतना फैलाउनु जरुरी छ । नेपालजस्ता विकासोन्मुख मुलुकले पनि वातावरण संरक्षणलाई विकासको बाधक होइन, दिगो विकासको आधारका रूपमा लिनुपर्छ । ऊर्जा तथा प्रविधिको प्रयोग गर्दा वातावरणीय प्रभावलाई ध्यान दिने, हानिकारक रसायनको प्रयोग घटाउने र वातावरणमैत्री जीवनशैली अपनाउनेतर्फ सबैको ध्यान जानुपर्छ । विश्व ओजोन तह बचाउ दिवस केवल एउटा दिवस मनाउने अवसर मात्र होइन, पृथ्वी र भावी पुस्ताप्रतिको हाम्रो जिम्मेवारी सम्झाउने दिन पनि हो । ओजोन तह जोगाउनु भनेको मानव जीवन र पृथ्वीको भविष्य जोगाउनु हो । तसर्थ सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबै ओजोन तह संरक्षणमा जिम्मेवार बन्न जरुरी छ ।

