Shittalpati
कुर्सी अस्थायी हो, चरित्र स्थायी

विदुर घिमिरे

राजनीतिमा पद आउँछन्, जान्छन् । कुर्सी बदलिन्छ, सत्ता बदलिन्छ, अनुहार बदलिन्छन् । तर मानिसको वास्तविक परिचय उसको कुर्सीले होइन, कुर्सीबाट ओर्लिएपछि उसले जोगाउन सकेको चरित्रले दिन्छ । आज पदमा हुँदा दुई हात जोडेर नमस्कार गर्नेहरूको भीड लाग्छ । हिजो विरोध गर्नेहरू पनि आज नजिकिन खोज्छन् । शक्ति हातमा हुँदा वरिपरि प्रशंसाका माला लगाउनेहरू प्रशस्तै भेटिन्छन् । तर पद सकिएपछि पनि उही सम्मान, उही माया र उही सम्बन्ध कायम रहन्छ भने मात्र बुझ्नुपर्छ—त्यो सम्मान पदको थिएन, व्यक्तित्वको थियो; त्यो सम्बन्ध स्वार्थको थिएन, संस्कारको थियो । दुर्भाग्यवश, हाम्रो राजनीतिक संस्कारमा पदलाई चरित्रभन्दा ठूलो बनाउने रोग अझै गहिरो छ । पद पाएपछि आफूलाई सर्वज्ञ, सर्वशक्तिमान र प्रश्नभन्दा माथि ठान्ने प्रवृत्ति मौलाउँदै गएको छ । आलोचना सुन्न नसक्ने, असहमति राख्नेलाई शत्रु देख्ने र आफ्ना कमजोरीमाथि शक्तिको पर्दा हाल्ने संस्कारलाई कतिपयले ‘अनुशासन’ को नाम दिएका छन् । तर स्पष्ट हुनुपर्छ—अस्थायी जीवनका पद, पावर, पाखुरे बल र पैसाको आडमा गरिने दादागिरी स्वीकार्य हुँदैन । कसैले सुन खाएको छैन, अरूले ढुङ्गा खाएका छैनन् । सबैसँग आत्मसम्मान छ, सबैसँग विवेक छ, सबैसँग आफ्नो सीमारेखा छ ।

नेतृत्वको नाममा स्वेच्छाचारिता चल्दैन । सम्बन्धको नाममा स्वार्थको राजनीति टिक्दैन । किनकि स्वार्थमा बनेका सम्बन्धहरू स्वार्थ सकिएसँगै टुट्छन् । आज साथ दिनेहरू भोलि साथ छोड्न सक्छन्, आज एउटा समूहमा उभिनेहरू भोलि अर्को समूहमा पुग्न सक्छन् । तर चरित्रको इतिहास भने मानिससँगै हिँडिरहन्छ । सम्मान गर्न जान्नेले सम्मान गर्छ । माया गर्न जान्नेले माया गर्छ । विश्वास गर्न जान्नेले विश्वास गर्छ । तर संस्कारलाई कमजोरी ठानेर त्यसको दुरुपयोग गर्न खोज्नु भ्रम हो । मौनतालाई कमजोरी ठान्नेहरूले इतिहास बुझेनन् । धैर्यलाई डर ठान्नेहरूले समयको शक्ति बुझेका छैनन् । सहनशीलतालाई निरीहता ठान्नेहरूले सीमारेखा नाघेपछि आउने प्रतिरोधको मूल्य बुझ्न बाँकी नै छ । राजनीतिमा एउटा गम्भीर प्रश्न उठ्छ—के असहमति अराजकता हो ? के प्रश्न गर्नु अपराध हो ? के नेतृत्वको आलोचना गर्नु विद्रोह हो ?  यदि उत्तर ‘हो’ हो भने लोकतन्त्र भाषणमा मात्र बाँकी रहन्छ । किनकि लोकतन्त्रमा नेतृत्व प्रश्नभन्दा माथि हुँदैन । पदले जवाफदेहिताबाट उन्मुक्ति दिँदैन । बरु पद जति ठूलो हुन्छ, जवाफदेहिता त्यति नै ठूलो हुनुपर्छ । आज प्रश्न गर्नेलाई ‘अराजक’, असहमति राख्नेलाई ‘विरोधी’ र आफूअनुकूल नचल्नेलाई ‘अनुशासनहीन’ को बिल्ला भिराउने प्रवृत्ति बढ्दो छ । यस्तो राजनीति लोकतन्त्रको अभ्यास होइन; यो त हिजोको दरबारिया मानसिकताको नयाँ संस्करण मात्र हो । कुर्सीलाई आफ्नो निजी सम्पत्ति ठान्नेहरूले एउटा कुरा सम्झनुपर्छ—कुर्सी स्थायी होइन । आज जो व्यक्ति कुर्सीमा बसेको छ, भोलि त्यही कुर्सीमा अर्को व्यक्ति बस्न सक्छ । आज वरिपरि घेरिएर उभिएको भीड भोलि अर्कैलाई घेर्न सक्छ । तर पदमा हुँदा गरिएको व्यवहारको इतिहास भने पदसँगै सकिँदैन । त्यो इतिहास मानिस जहाँ गए पनि उसको पछाडी हिँडिरहन्छ । त्यसैले पदमा हुँदा कसलाई कति दबाइयो भन्ने भन्दा, पदबाट ओर्लिएपछि कसले कति सम्मान पायो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

शान्ति कमजोरी होइन । धैर्य डर होइन । सहनशीलता निरीहता होइन । तर शान्तिलाई डर, धैर्यलाई कमजोरी र संस्कारलाई निरीहता सम्झेर सीमारेखा मिचिरहने हो भने प्रतिरोध स्वाभाविक हुन्छ । किनकि सम्बन्ध सम्मानबाट बन्छ, डरबाट होइन । नेतृत्व विश्वासबाट चल्छ, दादागिरीबाट होइन । अनुशासन सहमतिबाट बलियो हुन्छ, थिचोमिचोबाट होइन् । चापलुसीले विवेक किन्न सकिँदैन । झुटो प्रशंसाले दृष्टिकोण बदल्न सकिँदैन । मानिसको पदभन्दा उसको व्यवहार ठूलो हुन्छ । पदमा हुँदा सबैले माया गरेको देखिन सक्छ । तर पद सकिएपछि पनि जसले माया, सम्मान र सम्बन्ध जोगाउन सक्छ, वास्तविक अर्थमा ठूलो त्यही हो । किनकि पदमा हुँदा कतिपयले बाध्य भएर पनि नमस्कार गर्छन् । कुर्सीले धेरैलाई नजिक ल्याउँछ । तर कुर्सी हटेपछि पनि जोसँग सम्बन्ध बाँकी रहन्छ, त्यहाँ स्वार्थ कम र चरित्र बढी हुन्छ । हरेक व्यक्तिभित्र सम्मान पनि हुन्छ, आक्रोश पनि । माया पनि हुन्छ, प्रतिरोध पनि । धैर्य पनि हुन्छ, निर्णय गर्ने साहस पनि । सम्मान दिनेलाई सम्मानकै जवाफ मिल्छ । माया दिनेलाई माया थपिएर फर्किन्छ । विश्वास गर्नेलाई विश्वासको मूल्य दिइन्छ । साथ दिनेलाई साथको अर्थ बुझिने गरी साथ दिइन्छ । तर अपमान, अन्याय, स्वार्थका लागि सम्बन्धको प्रयोग, शक्तिको प्रदर्शन र पदको दम्भमा अरूलाई होच्याउने प्रयासलाई सधैं मौनताले स्वीकार गर्दैन ।
यो पृथ्वी गोलो छ ।
समय घुमिरहन्छ ।
सहनशीलताको पनि सीमा हुन्छ ।
धैर्यको पनि अन्त्य हुन्छ ।
मौनताको पनि एउटा आवाज हुन्छ ।
र त्यो आवाज उठेपछि त्यसलाई दबाउन सजिलो हुँदैन ।

गलतलाई गलत भन्नु कसैको विरोध गर्नु होइन । नजिकको होस् वा टाढाको, आफ्नो होस् वा पराइ—व्यवहार गलत छ भने प्रश्न उठ्छ । एकहोरो सम्बन्धले सत्यलाई बन्धक बनाएर राख्न सक्दैन । राजनीतिको सबैभन्दा ठूलो विडम्बना यही हो— आफूले गल्ती गर्दा ‘राजनीतिक परिस्थिति’, अरूले प्रश्न गर्दा ‘षड्यन्त्र’ । आफूले शक्ति प्रयोग गर्दा ‘अनुशासन’, अरूले प्रतिरोध गर्दा ‘अराजकता’ । आफूले गुट बनाउँदा ‘संगठन’, अरूले आवाज उठाउँदा ‘विद्रोह’ । यस्तो दोहोरो मापदण्ड धेरै दिन टिक्दैन । जनताले सबै बुझेका छन् । जनताले सबै देखेका छन । उनीहरू केवल बोलिरहेका छैनन्, पर्खिरहेका छन् । समयले सबैको हिसाब देखाउँछ । इतिहासतिर फर्केर हेर्दा पनि त्यसका उदाहरण प्रशस्तै भेटिन्छन् । सत्य बोल्दा कसैको प्रिय बन्न नसकिएला । तर दादागिरी र दमनले जनताको प्रिय बन्ने बाटो रोक्न सक्दैन । त्यसैले कसैसँग कस्तो सम्बन्ध राख्ने भन्ने निर्णय धेरै हदसम्म उसको व्यवहारले नै निर्धारण गर्छ ।
सम्मान खोज्नेले सम्मान पाउँछ ।
माया खोज्नेले माया पाउँछ ।
साथ खोज्नेले साथ पाउँछ ।
तर अन्याय, अपमान र दादागिरी रोज्नेले प्रतिरोध पनि भोग्नुपर्छ ।
याद राख्नुहोस्
शान्त हुनु कमजोरी होइन ।
सहनु डर होइन ।
अनुशासन दासता होइन ।
असहमति अराजकता होइन ।
र विद्रोह सधैं अपराध हुँदैन ।

कहिलेकाहीँ विद्रोह अन्यायविरुद्ध उभिने अन्तिम नैतिक हतियार पनि हुन्छ । त्यसैले व्यवहार गर्नुअघि एकपटक सोच्नुहोस् । किनकि मानिसलाई आफूले जस्तो व्यवहार गर्छ, अन्ततः त्यही व्यवहारको प्रतिबिम्ब बनेर समय उसको अगाडि उभिन्छ ।
कुर्सी तपाईंको हुन सक्छ,
सत्ता तपाईंको हुन सक्छ,
आजको भीड पनि तपाईंको हुन सक्छ,
तर चरित्रको फैसला तपाईंको हातमा हुँदैन—
त्यो फैसला समयले गर्छ ।

अन्ततः मानिसको उचाइ उसको पदले होइन, पदबाट ओर्लिएपछि पनि उसलाई दिइने सम्मानले मापन हुन्छ । कुर्सीमा बस्नु ठूलो कुरा होइन । कुर्सीबाट उठिसकेपछि पनि सम्मानित भएर उभिन सक्नु नै वास्तविक सफलता हो । (नोट : यो लेख कुनै एक व्यक्ति वा विशेष समूहलाई लक्षित गरेर लेखिएको होइन । पद र शक्तिको आडमा जनतामाथि गरिने व्यवहार, नेतृत्वमा देखिने दम्भ, असहमति दबाउने प्रवृत्ति र सम्बन्धलाई स्वार्थका लागि प्रयोग गर्ने सबै प्रवृत्तिप्रति यो एउटा सामान्य वैचारिक धारणा हो । लेखन क्रममा कतै त्रुटि वा कमजोरी देखिएमा त्यसको आत्मसमीक्षा स्वर्गीय पिता, माता र स्वयं लेखकप्रति पनि समान रूपमा लागू हुन्छ ।)

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update