महाशिवरात्रीका दिन भगवान शिवको उपासना गर्ने गरिन्छ । मन्दिरहरूमा ‘महामृत्युञ्जय’को पाठ र ‘ओम नमः शिवाय’को जप गरेर प्रार्थना गर्ने पनि गरिन्छ । उक्त दिन शिवजीले ताण्डव नृत्य गर्नुहुन्थ्यो भन्ने कुरा कथनहरूमा सुन्ने गरिएको छ । त्यसदिन प्रत्येक शिव मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ । अधिकांश भक्तजनहरू त्यस दिन व्रत बस्ने, स्नान गरी भगवानको दर्शन गरेर शुद्ध र चोखो खाना खाने गर्छन् । यस दिन जानेर अथवा अञ्जानमा नै कसैले भगवान् शिवको उपासना गर्दछ भने भगवान् त्यससँग खुसी भई मनोवाञ्छित फल दिनुहुन्छ भन्ने विश्वास रहेको छ । संसारको सृष्टि, पालन र संहारमध्ये संहारकर्ता भगवान् शिव देवताहरूका पनि देवता महादेव भनी चिनिन्छन् । शिव नै ब्रह्मा हुन्, शिव नै विष्णु हुन्, शिव नै परम तत्व ब्रह्म हुन् । भक्तहरूसँग अत्यन्त शीघ्र प्रशन्न हुने आशुतोष भगवान् शिव विभिन्न कला र सिद्धिका प्रवर्तक पनि हुन् । संगीत, नृत्य, योग, व्याकरण, व्याख्यान, आयुर्वेद आदिका मूल प्रवर्तक शिव नै हुन् ।
नेपालमा यस वर्ष महाशिवरात्रि फागुन २७ गते बिहीबार परेको छ । यस दिन भक्तनजहरुले शिवको नाममा विभिन्न किसिमका मादक पदार्थहरु सेवन गर्ने गर्दछन् । भक्तजनहरू मन्दिरमा गएर शिवजीको प्रसाद भन्दै भाङ, धतुरो र गाँजा सेवन गर्ने गर्छन् । ‘के खोज्छस् कानो, आँखो’ भनेभैंm अधिकांश मानिसहरू शिवरात्रिको आडमा शिवजीको प्रसाद भन्दै अत्यधिक मात्रामा जाँड, रक्सी, गाँजा, भाङ, धतुरो तथा अन्य मादक पद्धार्थको सेवन गरेर बाटो तथा अन्य सार्वजनिक स्थानहरूमा अन्यन्त्र हिँडिरहेका हुन्छन् । कतिपय मानिसहरू बाटोमै खाएर द्रुत भएर लडिरहेका हुन्छन् । अचेत अवस्थामा जथाभाबी बोलिरहेका हुन्छन्, झै–झगडा गरिरहेका हुन्छन् । यो अत्यन्त गलत संस्कार हो । यस्तो प्रवृत्तिका कारण परिवार, समाजमा समेत नराम्रो असर पारेको हुन्छ । गाँजा, भाङको सेवन गरेर मात्र पर्व मनाइन्छ भन्ने गतल धाराणाको अत्यन्त गर्न जरुरी छ । सामान्य तरिकाले पनि यो पर्व मनाउन सकिन्छ । समुदायमा भजनकीर्तन, नाचगान गरेर, फलफूल, हलुवा, रोटी, तरकारी जस्ता सामान्य प्रसाद ग्रहण गरेर पनि शिवको पुजा गर्न सकिन्छ । शिवरात्रि जस्ता चाडपर्वले दिन खोजेको वास्तविक सन्देश बुझ्न तर्फ, ज्ञान र विज्ञान दुबैको रहस्य उद्घाटन गर्न तर्फ, परम तत्व अथवा परम ज्ञान प्राप्त गर्न तर्फ आजको मानवसमुदाय लाग्न आवश्यक छ । अन्यथा शिवरात्रिको महत्व नबुझी यसको नाममा गाँजा, भाङ, धतुरोजस्ता मादक पदार्थ सेवन गर्नाले स्वास्थ्य त बिग्रिन्छ नै, जीवन समग्र नै अर्थहीन बन्न पुग्दछ । तसर्थ मादक पदार्थ सेवन गर्न आजैदेखि बन्द गरौं ।