Shittalpati
सच्चा सहिदको सम्मान गरौं

हरेक वर्षजस्तै यस पटक पनि आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको हो । वर्षभरि उपहास र बेवास्ता गरिने ‘सहिद गेट’ मा ‘नेताजीहरू’ को प्रवेशलाई ‘सहिद’ को सम्मान मान्ने कि एउटा प्रतिवद्धताविहीन कर्मकाण्ड ? बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा त्रिभुवनको सालिकलाई उठाएर संग्रहालयमा लैजाने अपमानजनक निर्णय गरे पनि अदालतले त्यसमा रोक लगाएर ‘सहिद’ प्रतिको सम्मान राष्ट्रको दायित्व भएको सन्देश दिएको थियो ।
माओवादी पृष्ठभूमिबाट आएका भट्टराई र उनको दल सरकारमा आएपछि सहिद उद्योग खोलेर हजारौंलाई सहिद घोषणा गरी एकातिर राष्ट्रिय ढुकुटीको दोहन गरे भने अर्कोतिर ज्यान र गद्दीको परवाह नगरी प्रजातन्त्रको लागि विद्रोहीहरूसँग सहकार्य गरेका राजा त्रिभुवनसँगै शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई अपमान गरे ।

सच्चा सहिदलाई अपमान गरेर समग्र नेपाल र नेपालीहरूलाई पनि अपमान गरे उनीहरूले । आफ्नो सेवा र जीवन राष्ट्रका नाममा अर्पण गरी निष्काम समर्पणको भावना बोक्नेलाई सहिद नभनी त्यसको परिभाषा नै बदलेर राजनीतिक दलीयताको सस्तो होडबाजीमा सहिदलाई लैजाने प्रवृत्तिले राष्ट्रियता, राष्ट्रिय स्वार्थ, राष्ट्रभक्ति जस्ता अवधारणासमेतको अवमूल्यन हुन पुगेको छ । त्यसैले सहिद दिवसकै अवसरमा भए पनि सम्भवतः सहिद को हो भन्नेबारे स्पष्ट परिभाषा र मान्यता सरकार र सबै दलले अगाडि सार्नु जरुरी छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको माघ १० देखि १५ गतेसम्म फरक–फरक मितिमा हत्या गरिएको थियो । नेपालमै पहिलोपटक प्रजापरिषद् नामक दल स्थापना गरेर उनीहरुले राणाविरोधी आन्दोलन नगरेको भएपनि त्यति सहजै राणा शासन ढल्ने थिएन । राणा शासन ढल्नु भनेको नेपाली राजनीति आधुनिक चरणमा प्रवेश गर्नु त हो नै, अधिकार प्राप्तिको आन्दोलन नयाँ अध्यायमा प्रवेश गर्नु पनि हो । राजनीतिक अधिकार प्राप्तिको आन्दोलनहरु नयाँ चरणमा प्रवेश गरे र अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु त्यसैको देन हो भन्दा अत्यूक्ति नहोला । औपचारिकताका लागि मात्र सहिद दिवस मनाउनु भन्दा उनीहरुले देखाएको शतमार्ग हिँड्नु र उनीहरुको योगदानको उचित कदर गर्नु नै सहिद प्रतिको सच्चा सम्मान हो । यसर्थ पनि निजी र दलगत स्वार्थबाट माथि उठेर सच्चा सहिदको सम्मान गर्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update