चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला पुनःबेलायतमा नयाँ स्वरुपमा कोरोना भाइरस संक्रमण देखिएको विषयले यति बेला सर्वत्र चासो र चिन्ता बढेको छ । नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको छ । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएका मध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको छ । स्वास्थ्य मन्त्रालयले पुस पहिलो साता बेलायतबाट आएका नागरिकले अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने र प्रयोगशालामा स्वाब परीक्षण गर्न आग्रह गरेको छ । बेलायतमा असोजमै पहिलो पटक नयाँ भाइरस देखापरेको थियो । अहिले फ्रान्स डेनमार्क, नाइजेरिया लगायत मुलुकमा नयाँ स्वरुपको कोरोना भाइरस देखापरेको छ । यस भाइरसले त्रास बढाएको छ । यसको संक्रमण फैलिसकेकाले विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा रोक लगाई सकेका छन् ।
नयाँ खाले कोरोनाको संस्करण विश्वव्यापी हुनबाट रोक्न सबैले आ–आफ्नो देशमा यसबारेमा नियन्त्रण कसरी गर्न सकिन्छ भनी छलफल चलाउन थालेका छन् । यसले विश्वका अधिकांश देशहरूमा स्वास्थ्य सहकार्यको आवश्यकतालाई बेलैमा बोध गराएको छ । त्यसैले, नेपालमा पनि सबै जना यसबारे उच्च सर्तक हुन जरुरी छ । यो आफैंमा उच्च प्रजातिको भएका कारण पनि जनमानसमा चिन्ता थपिएको छ । पछिल्लो चरणमा भारतमा यो प्रजातिको कोरोना भाइरसको आगमन भइसकेको पुष्टि भएपछि नेपाल पनि यसबाट अछुतो रहन सक्दैन । त्यसो त बेलायतबाट नेपालमा आएका पाँच जनामा यो प्रजातिको कोरोना भाइरस संक्रमण भेटिएपछि नेपाल अब अछुतो नरहेको पुष्टि भइसकेको छ । उच्च सर्तकता नपनाउने हो भने यसले थप संकट निम्त्याउने देखिन्छ । तसर्थ सरकार र नागरिकले समयमै संक्रमण हुनबाट जोगिन उच्च सर्तकता अपनाउन जरुरी छ ।