विश्वभर फैलिरहेको कोरोना महामारीको अवस्था अझै पनि कायमै छ । नेपालमा लामो समयदेखि भएको लकडाउनका कारण व्यापार व्यवसायमा असर परेको भन्दै सरकारले सबै क्षेत्र खुलाउन अनुमति दिएसँगै अहिले जताततै भीडभाड बढेको छ । भीडभाडको अवस्थालाई हेर्दा कोरोना संक्रमण कम भएको जस्तो देखिन्छ तर त्यसो होइन । सरकारले परीक्षणको दरलाई घटाएका कारण यस्तो देखिएको हो । भीडभाडले बरु कोरोना संक्रमणको जोखिम बढाएको छ । पछिल्लो समय कोरोनाको दोस्रो चरण सुरू भइसकेको स्थिति पनि छ । यो अवस्था झन जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् । पछिल्लो समय जिम्मेवार राजनितिक दलहरु नै संक्रमणलाई नियन्त्रण गर्ने दिशामा लाग्नुको सट्टा उल्टै सडकमा निस्किएर संक्रमणलाई निम्त्याउन उदृत देखिएका छन् । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि नेकपा, काँग्रेस, जसपा लगायतका राजनीतिक दलहरु सडकमा भेला भएर आन्दोलनमा उत्रिएका छन् । यसले पनि के प्रष्ट हुन्छ भने महामारीको समयमा भेला भएर आन्दोलनमा उत्रिनु भनेको संक्रमणलाई निम्तो दिनु हो । उनीहरूको आन्दोलनले महामारी फैलनसक्ने जोखिमलाई बेवास्ता गरेको देखिएको छ । यसरी जिम्मेवार राजनीतिक दलहरुले नै समुदायमा कोभिड—१९ को संक्रमण हुनसक्ने जोखिमलाई बेवास्ता गर्नु जनताप्रति गैरजिम्मेवार देखिनु र संक्रमण माथि नै खेलाँची गर्नु हो ।
भौतिक दूरी र सुरक्षा सावधानीको बेवास्ता गर्दा संक्रमणको अवस्था झन भयावह हुने निश्चित छ । नेपालको संविधानले कुनै व्यक्ति वा शक्तिलाई शान्तिपूर्वक आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार दिएको छ । सरकारले नागरिकको त्यस्तो अधिकार र स्वतन्त्रतामा हस्तक्षेप गर्नु हुँदैन । नारा, जुलुस लगाउँदैमा निषेध गर्नु वा प्रतिबन्ध लगाउनु असंवैधानिक हुन्छ । तर, कसैका पक्षमा पनि जुलुस निकाल्ने वा नारावाजी गर्नेले आफू र अरूलाई पनि जोखिममा पार्न लागेमा भने सरकारले तमासा हेरेर बस्न मिल्दैन । कोरोना महाव्याधिबाट जनतालाई बचाउन यसको खोप उपलब्ध गराउन र कोरोनाको परीक्षण दर बढाउँदै संक्रमितको स्तरीय उपचार गर्नेतर्फ केन्द्रित हुनुपर्ने अवस्थामा सरकार सडकमा नाराजुलुसको रमिता हेरेर बस्नु जनमतको ठाडो उपहास गर्नु हो । यसर्थ सरकार र राजनीतिक दलहरु जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गम्भीर बनि कोरोना महामारीमा यस्ता गतिविधिहरु बन्द गरी संक्रमणसँग लड्नका लागि एक जुट हुन आवश्यक छ ।