Shittalpati
काँग्रेस जिम्मेवार बन

अहिले मुलुक अत्यन्त संकटको दिशामा छ । बहुमत प्राप्त कम्युनिष्ट सरकारलाई जनताले पाँच वर्ष सरकार चलाउने गरी बहुमत दिएर सत्तामा पठाए तर तिनै कम्युनिष्ट नेताहरुबाटै देश संकटमा परेको छ । यो अत्यन्त दुःखको कुरा हो । नेकपा भित्रको लामो समयदेखिको आन्तरिक द्वन्द्व अन्ततः फुटमा गएर परिणत भएको छ । अहिले सरकार नै अल्पमतको अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि अहिले देशको राजनीतिले एक किसिमको तरङ्ग ल्याएको छ । प्रधानमन्त्री ओलीले नेपाली जनताको भावना र जनमतको अपमान गर्दै संसद् विघटन गरेपछि नेपाली राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । अहिले नागरिक समाजदेखि राजनीतिक दलहरु ओलीको कदमविरूद्ध सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । देशको जिम्मेवार पार्टी नेपाली काँग्रेसले पनि देशभर संसद् विघटनको विरोधमा आन्दोलन गरेको छ ।

देश गम्भीर मोडमा पुगेकाले जिम्मेवार पार्टीका हैसियतले काँग्रेसको भूमिका माथि प्रश्न उठेको छ । किनभने, काँग्रेसले संसद् विघटनको घटनामा धेरै पछिमात्रै प्रतिक्रियास्वरुप विरोधको कार्यक्रम ग¥यो । लोकतन्त्रको हिमायती भनिने काँग्रेसले ढिला गरी आन्दोलन थाल्नुले जनतामा आशङ्का उत्पन्न गरेको छ । खासगरी, काँग्रेस सभापति शेरबहादुर देउवाले ओलीको कदमप्रति नरम हुनुले पनि काँग्रेस संसद् विघटनको घटनामा प्रस्ट हुन नसकेको हो । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका प्रभावशाली नेताहरुले संसद् पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाउनुपर्ने विषयमा प्रतिक्रिया व्यक्त गरिरहँदा सभापति देउवाको रूचि नदेखिनुले काँग्रेसको भूमिकामाथि प्रश्न उठेको भने पक्कै हो । काँग्रेस सभापति देउवा अदालतको निर्णय नआउन्जेलसम्म पर्ख र हेरको अवस्थामा रहेकाले पनि काँग्रेस माथि आशङ्का उत्पन्न भएको हो । काँग्रेस लोकतन्त्रवादी पार्टी भएकाले पनि संविधान र लोकतन्त्रमा खतरा उत्पन्न हुँदा कुनै प्रतिक्रिया नदिनुले आम कार्यकर्ता र नागरिकमा आशङ्का उत्पन्न हुनु स्वभाविक नै हो । काँग्रेसले संसद् विघटनको घटनालाई असंवैधानिक भन्दै विरोध प्रदर्शनको कार्यक्रमलाई तीव्र बनाए पनि त्यसको समाधानको विषयबारे प्रस्ट नहुनुले काँग्रेस मुखले विरोध र मनले मध्यावधि निर्वाचनतर्फ जान चाहेको त होइन ? भन्ने प्रश्न उठेको छ । त्यसैले पनि अब काँग्रेस प्रष्ट हुन जरुरी छ । स्वाभाविकरुपमा काँग्रेसका लागि मध्यावधि निर्वाचन एउटा लाभको विषय हुनसक्ला । तर, विभिन्न लोकतान्त्रिक आन्दोलनहरुमा निर्णायक भूमिका खेल्दै आएको कांग्रेसले अहिलेको समयमा अवसर खोज्न उचित हुँदैन । यसर्थ अब काँग्रेसले समयमै ठोस निर्णय लिएर अगाडि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update