Shittalpati
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए । ९ महिनासम्मको लकडाउनपछि पर्यटन क्षेत्र विस्तारै खुल्दै गएका छन् । तर लामो समयदेखि बन्द भइ थला परेको पर्यटन व्यवसायले अझै गति लिन भने सकेको छैन । नेपालभर रहेका सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गर्दै स्थल मार्ग र हवाइमार्गको समेत सम्भाव्यता अध्ययन गर्दै आन्तरिक उडान समेत सुचारु गरेको सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएसंगै पर्यटन क्षेत्रमा ध्यान दिन नसकेका कारण पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको छ । अझ पर्यटन क्षेत्रको विकासका लागि लागेका पर्यटन व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।

कोरोना भाइरसको संक्रमण कायमै रहेकाले अहिले पनि होटल तथा रेष्टुरा व्यवसायीले गति लिन सकिरहेको छैन । होटल तथा रेष्टुरामा गरेको लगानी उठाउन त के बैंकको ब्याज समेत तिर्न नसकेर व्यवसायीहरु विकल्पको खोजीमा छन् । होटल, रेष्टुरेण्ट तथा होमस्टेमा कार्यरत मजदुर तथा कर्मचारीको अवस्था अहिले पनि उस्तै नाजुक छ । प्रभावित अर्थतन्त्रका अन्य क्षेत्र विस्तारै पुनरुत्थान हुन थाले पनि पर्यटन क्षेत्र खासगरी होटेलहरू भने झनै थलिन थालेका छन् । सशस्त्र द्वन्द्वका कारण जसरी पर्यटन व्यवसाय समस्यामा परेको थियो र धेरै होटेल बन्द भएका थिए, अहिले करीब–करीब त्यस्तै अवस्था आउन थालेको देखिन्छ । सरकारी तवरबाट कुनै पनि सहयोग पर्याप्त नभएपछि व्यवसायले पुनर्जीवन पाउने आशा नभएको भन्दै व्यवसायीहरू निराश छन् । पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड हो । देशलाई आर्थिक समृद्विको दिशामा अगाडि बढाउने हो भने अब पर्यटन क्षेत्रको विकासलाई माथि उठाउनुको विकल्प छैन । यसर्थ सरकार र निजी क्षेत्रले बेलैमा सोंच्न जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update