Shittalpati
यातायातमा लापरवाही

कोरोना भाइरसको जोखिम कायमै रहेको छ । सार्वजनिक यातायात निर्वाध रुपमा गुडेका छन् । जसले गर्दा आवत–जावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडा मात्र बढी रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एक जना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई जे गरे पनि हुन्छ भन्ने भान परेको छ । महामारी कायमै रहे पनि व्यवसायीको समस्यालाई ध्यानमा राखेर सार्वजनिक यातायात खोलिएको हो ।

व्यवसायीहरुले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना गरी यातायात सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । तर त्यो प्रतिवद्धता अहिले उनीहरुले भुलेका छन् । एउटा सिटमा एकजना मात्र यात्रु बस्ने, बसभित्र स्यानिटाइजर उपलब्ध गराउने, मास्क अनिवार्य गर्ने भनिए पनि त्यस्तो व्यवस्था रहेको छैन । व्यवसायीहरुले आफु खुसी यात्रुहरु कोच्ने गरेका छन् । यातायातका साधनभित्र देखिएको यस्तो लापरवाहीले कोरोना संक्रमणको जोखिम बढाएको छ । संक्रमणको जोखिम न्यूनीकरणमा व्यवसायीले चासो दिन छाडेका छन् । स्वास्थ्य संवेदनशीलताप्रति यात्रुहरू पनि सचेत देखिएका छैनन् । स्वास्थ्य मापदण्ड पालना गराउने निकायसमेत यसबारे बेखबरजस्तै छ । आधा मात्र यात्रु रहनुपर्ने बसमा कोचाकोच गरेर बोक्ने, स्यानीटाइजर प्रयोग नगर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने सवारी साधनलाई सचेत गराउने, कारवाही गर्ने तथा सामान्य अनुगमनको काम पनि प्रशासनबाट भएको देखिँदैन । यस्तो बेलामा हेलचक््रयाइँ गर्न थालियो भने समस्या झन जटिल बन्न सक्छ । तसर्थ यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update