Shittalpati
रोजगारीको सुनिश्चितता गर

विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रहेका युवाहरुको अहिले रोजगारी गुमेको अवस्था छ । रोजगारको शिलशिलामा विदेश तथा घरबाहिर रहेका लाखौं युवाहरु बेरोजगार भएर घरमै बसेका छन् । विदेशमा रहेका नेपाली नागरिक स्वदेश फर्कनु राम्रो कुरा हो तर उनीहरूको फर्काइसँगै एउटा प्रश्न भने नमिठो गरी उठिरहेको छ । त्यो हो, के अब उनीहरूलाई विदेश फर्कनु नपर्ला त ? यो स्वदेशमा रोजगारीको सिर्जनासँग जोडिएको कुरा हो । त्यही प्रश्नको जवाफ युवाशक्तिले खोजिरहेको छ । रोजगारका क्रममा घरबाहिर रहेका युवाहरु पनि अहिले काम विहीन भएर घरमै छन् । एक हिसावले युवाहरु गाउँ फर्किएका छन् यो आफैमा स्वागत योग्य छ । तर उनीहरु गाउँमै बसेर के गर्ने भन्ने कुरा महत्वपूर्ण हो । जीविकोपार्जनका लागि केही न केही त अवश्य नै गर्नुपर्छ तर त्यसका लागि उपयुक्त वातावरण नहुँदा उर्जावान युवाहरु चिन्तित छन् ।

देश संघीय संरचना गइसकेपछि तीन तहका सरकार निर्माण भएका छन्, तर ती सरकारले स्वदेशमै रोजगार सिर्जना गर्ने भन्ने तर्फ एक रत्ति पनि सोचेका छैनन् । अब स्वदेशमा अभाव र समस्या हुने भनेको जनशक्तिको हुनुपर्छ । नीति, योजना र कार्यक्रमको होइन । जननिर्वाचित प्रतिनिधिहरूको दिमाग सिर्जनात्मक र रचनात्मक सोंच तथा योजनाले भरिनुपर्छ । उनीहरूले आफू बसेको कुर्सी र अफिस मात्र होइन, आफ्नो जिम्मेवारी सुम्पिएको सिंगो क्षेत्र र त्यसभित्रका हरेक कुरालाई देख्न, गम्न र तिनलाई समाधानको बाटो निकाल्न प्रयत्नरत रहनुपर्छ । आफ्नो देशमा सम्भाव्यताका स्रोत पहिचान गरिनुपर्छ । आवश्यक जनशक्तिको लेखाजोखा गरिनुपर्छ र कार्यक्रम कार्यान्वयनका लागि चरणबद्ध अल्पकालीन र दीर्घकालीन सोच बनाउनुपर्छ । आवश्यक जनशक्तिको क्षमता, दक्षता र संख्यात्मक आकार मापनको पनि हेक्का राखिनुपर्छ र गाउँ–गाउँमा नै रोजगारीको अवसर सिर्जना गर्न ढिलाई गर्नुहुँदैन । राज्यको दायित्व भनेको मुलुकमा रोजगारी सिर्जना गरेर जनतालाई स्वदेशमा नै स्वरोजगार बनाउनु हो । यसर्थ मुलुकमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्नतर्फ सरकारले अब बेलैमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update