प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सडक प्रदर्शन गर्यो । उसले सरकारको कार्यशैलीको कडा आलोचना गर्दै सडक प्रदर्शन गरेको हो । ७७ जिल्लामै आयोजना गरिएको सभामा काँग्रेस नेताहरुले अब काँग्रेस सशक्त भूमिकाका साथ प्रस्तुत हुने चेतावनी दिएका छन् । उनीहरुले आउँदो हिउँदे अधिवेशनको संसदमा र सडकमा सरकारको कठोर प्रतिवाद गर्ने चेतावनी दिए । कोरोना महामारीकै बीच सडक प्रदर्शन गर्नु रहर नभएर काँग्रेसमाथि लिइएको नीतिकै उपज भएको नेताहरुले प्रष्टोक्ति दिएका छन् । चिसो बढिरहँदा भइरहेको प्रदर्शनलाई काँग्रेसले आगामी निर्वाचन आफ्नो पोल्टामा जाने संकेतको रुपमा प्रस्तुत गर्न खोजेको छ । सभाहरुमा सहभागी संख्याले पनि पक्कै पार्टी पंक्तिमा उत्साह ल्याएको अनुमान गर्न सकिन्छ ।
पार्टीको आन्तरिक कलहका कारण चुनावपछि कहिल्यै एक जुट हुन नसकेको काँग्रेसलाई यसरी एक ढिक्का भएर सडकमा उत्रन भने सरकारको व्यवहारले उक्साएको हुनुपर्छ । दमौलीमा सरकारले अवरोध गरेकाले कांग्रेसहरू एक भएर विरोधमा लागेको देखिन्छ । सरकारबाट आजित र असन्तुष्ट जनता विपक्षप्रति आकर्षित हुन नसकेका बेला एकाएक काँग्रेस सडकमा आएको छ । सरकार र विपक्षबाट जनता बिमुख भएको मौका लोकतन्त्र विरोधहरूले छोप्न थालेका छन् । यस्तो अवस्थामा प्रमुख विपक्षी दल सडकमा जाँदा संविधानका पक्षमा वातावरण बन्न सक्ने संकेत देख्न पनि सकिन्छ । सरकारको विरोधमा शक्ति प्रदर्शन गर्नु काँंग्रेसका निम्ति आवश्यक पनि हो तर यसो भन्दै गर्दा कोभिड महामारीका बेला जनस्वास्थ्यमा असर पुग्ने गरी सडकमा उत्रिन भने हुँदैनथ्यो । जे भएपनि काँग्रेसले अब संसद्मा कसरी प्रस्तुत हुने भनेर समाजका विभिन्न समूहसँग छलफल थाल्नु उचित हुन सक्छ । यसर्थ काँग्रेसले सरकारलाई जनताप्रति उत्तरदायी बनाइराख्ने विपक्षको उत्तरदायित्व पूरा गर्नतर्फ ध्यान दिन जरुरी छ ।