Shittalpati
मानव विकासमा जरुरी

मानवको जीवनलाई सन्तुष्ट, सिर्जनशील र समाजको भलाइको लागि योगदान गर्न सक्ने बनाउने प्रक्रिया नै मानव विकास हो । दिगोपन मानव विकासको अर्को महत्वपूर्ण स्तम्भ हो । मानव जीवनलाई दीर्घकालिन रुपमा सुरक्षित बनाएर विकास गर्नु नै दिगोपन हो । यसले प्रविधिको विकास गर्ने क्रममा प्राकृतिक स्रोतहरु, प्रजातिहरु र वातावरणलाई पनि भावी पुस्ताको लागि बचाउनुपर्छ भन्ने सोंच राख्छ र राख्नु पनि पर्दछ । उत्पादनशीलता विकासको वस्तुपरक स्तम्भ हो । पारम्परिक रुपमा यसलाई मात्र विकासको कडी मान्ने गरिन्थ्यो । उत्पादनशीलताले लगानी गरेर आर्थिक वातावरण निर्माण गर्दै बढीभन्दा बढी लाभ हाँसिल गर्नुलाई जनाउँछ । सशक्तिकरणको अवधारणाले कल्याणकारी विकासलाई जोड दिन्छ । यसले जसलाई विकास चाहिएको हो त्यो व्यक्ति नै विकासको प्रक्रियामा सहभागी हुनुपर्छ भन्ने धारणा राख्छ । यसले मानिसलाई आफूले चाहेको विकल्प रोज्ने अवसर दिन्छ । सहकार्यका स्तम्भले विकास गर्नको लागि सहभागिता एवं आपसमा सहयोगको आदान–प्रदान गर्न जरुरी छ ।

कुनै पनि व्यक्ति सर्वज्ञ र सर्वश्रोत सम्पन्न हुँदैन । त्यसैले एक अर्कासँग मिलेर अगाडि बढ्ने हो भने विकास सम्भव हुन्छ भन्ने सहकार्य अवधाराणाको आशय हो । सुरक्षाको अवधारणाले मान्छेलाई अवसर विना डर सुरक्षित तवरले उपयोग गर्ने वातावरण दियो भने विकास सम्भव छ भन्ने मान्यता राख्छ । कुनै पनि व्यक्तिसँग सबैभन्दा पहिला साधन श्रोतमा पहुँच हुन जरुरी छ । व्यक्तिगत विकासको लागि चाहिने प्राथमिक कुराहरुः– सु–स्वास्थ्य र सम्पत्ति वा पैसा हुन् । यी कुराहरुमा व्यक्तिको पहुँचको विकास हुन जरुरी छ । त्यसपछि व्यक्तिगत विकासको लागि शिक्षा, कौशल जस्ता कुराहरुमा मानिसमा पक्कड हुनु आवश्यक छ । आजको समयमा शिक्षा र कौशल जस्ता कुराहरुले मान्छेलाई सम्पत्ति आर्जन गर्ने र गुणस्तरीय जीवन जिउन सक्ने क्षमता दिन्छ । यसर्थ आधुनिक शिक्षा र नवीनत्तम प्रविधिसँग परिचित हुन आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update