डा. श्रीमणि राज खनाल
तानसेन नेपालको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पहिचान बोकेको विशिष्ट सहर हो । यसको भौगोलिक अवस्थिति, शीतल हावापानी, श्रीनगरको प्राकृतिक सौन्दर्य, ऐतिहासिक दरबार, पुरानो बजारको मौलिकता, मठमन्दिर, जातीय तथा सांस्कृतिक विविधता र रैथाने उत्पादनले यसलाई पर्यटनको आकर्षक गन्तव्य बनाउने पर्याप्त आधार दिएका छन् । तर यति धेरै सम्भावना हुँदाहुँदै पनि तानसेनले अपेक्षित पर्यटकीय गति लिन सकेको छैन । पर्यटकीय सम्भावना र वास्तविक उपलब्धिबीचको यही दूरी कम गर्न तानसेन नगरपालिकाले पर्यटन नीति, २०८३ सार्वजनिक गरेको छ । यो प्रयास स्वागतयोग्य छ । अब मुख्य प्रश्न नीति बन्यो कि बनेन भन्ने होइन, यसले तानसेनको पर्यटनमा कस्तो परिवर्तन ल्याउँछ भन्ने हो ।
नीतिको पृष्ठभूमिमा तानसेनको पर्यटन विकासका लागि आवश्यक आधारभूत नीति, रणनीति र संस्थागत संरचनाको अभावलाई स्वीकार गरिएको छ । विगतमा भएका विभिन्न प्रयास, अध्ययन, सुझाव र निजी क्षेत्रका गतिविधिलाई योजनाबद्ध तथा दिगो विकासको लक्ष्यसँग जोड्नुपर्ने आवश्यकतालाई नीतिले औँल्याएको छ । यस अर्थमा नीति केवल पर्यटकीय स्थलको सूची होइन, तानसेनको पर्यटनलाई व्यवस्थित आर्थिक तथा सामाजिक गतिविधिमा रूपान्तरण गर्ने प्रयासका रूपमा आएको देखिन्छ । नीतिले तानसेनलाई ‘लिभिङ हेरिटेज सिटी’ अर्थात् जीवित सम्पदा सहरका रूपमा स्थापित गर्ने, ‘क्लिन एन्ड ग्रिन सिटी’ को अवधारणालाई अघि बढाउने, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने, स्थानीय उत्पादन र सेवाको प्रवद्र्धन गर्ने तथा रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र सामाजिक विविधताको उपयोग गर्दै पर्यटनका नयाँ वस्तु तथा गन्तव्य पहिचान, विकास र विविधीकरण गर्ने सोच पनि यसमा समेटिएको छ । यी लक्ष्य तानसेनको वास्तविक पहिचानसँग मेल खाने र दीर्घकालीन महत्व राख्ने विषय हुन् ।
नीतिको अर्को सकारात्मक पक्ष पर्यटनलाई एउटै क्षेत्र वा गतिविधिमा सीमित नराख्नु हो । सम्पदा संरक्षण, धार्मिक तथा आध्यात्मिक पर्यटन, पर्यावरणीय पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा आधारित पर्यटनलाई समेत यसले समेटेको छ । सामुदायिक वन, सिमसार, जैविक विविधता, पदमार्ग, घरबास, बर्डवाचिङ, वनस्पति उद्यानजस्ता सम्भावनाको खोजी गर्ने प्रस्तावले तानसेनको पर्यटनलाई विविधता दिन सक्छ । त्यस्तै, पुरानो बजारको मौलिकता संरक्षण, सम्पदायुक्त निजी घरहरूको अभिलेखीकरण, दरबार परिसरलाई सम्पदा क्षेत्रका रूपमा विकास र स्थानीय जातीय संस्कृतिको संग्रहालय स्थापना गर्ने सोच पनि उल्लेखनीय छन् । तर पर्यटन विकासको सफलता नीति कति व्यापक छ भन्ने कुराले मात्र निर्धारण गर्दैन । पर्यटकले गन्तव्यमा पुगेर के अनुभव गर्छ, कति समय बिताउँछ, कति खर्च गर्छ र फर्केपछि अरूलाई त्यहाँ जान कत्तिको सिफारिस गर्छ भन्ने कुराले यसको वास्तविक सफलता देखाउँछ ।
तानसेनको पर्यटनबारे यसअघि उठाइएको एउटा आधारभूत प्रश्न अझै सान्दर्भिक छ—पर्यटक तानसेन किन आउने, यहाँ आएपछि के हेर्ने, कसरी रमाउने र फेरि किन फर्कने ? पर्यटकीय स्थलको सूची हुनु र पर्यटकका लागि आकर्षक अनुभव उपलब्ध हुनु फरक कुरा हुन् । श्रीनगरमा दृश्यावलोकन गर्ने अवसर छ, पुरानो बजारमा इतिहास र वास्तुकला छ, रानीमहलमा ऐतिहासिक आकर्षण छ, धार्मिक स्थलहरूमा आस्था र संस्कृति छ । तर यी सबैलाई जोडेर पर्यटकले सहज रूपमा अनुभव गर्न सक्ने कार्यक्रम, पदमार्ग, निर्देशित भ्रमण, स्थानीय खानपान र सांस्कृतिक गतिविधि कति व्यवस्थित छन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ ।
पर्यटन नीतिमा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परियोजना तयार गर्ने, विभिन्न तहका सरकार, पर्यटन बोर्ड, समुदाय र निजी क्षेत्रलाई परिचालन गर्ने अवधारणा छ । तानसेन बजारका सम्पदायुक्त टोलको मौलिकता कायम राख्दै सौन्दर्यीकरण गर्ने र दरबार परिसरलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने सोच पनि सकारात्मक छ । तर सम्पदा संरक्षण भनेको पुराना घर र भवनको बाहिरी स्वरूप जोगाउनु मात्र होइन । तीसँग जोडिएको जीवनशैली, परम्परा, सीप, भाषा, खानपान, जात्रा र स्थानीय समुदायको सक्रियतालाई पनि संरक्षण गर्नुपर्छ । तानसेनको ढाका, करुवा, स्थानीय परिकार र परम्परागत सीपलाई पर्यटकले हेर्न, बुझ्न र खरिद गर्न पाउने अनुभवमा रूपान्तरण गर्न सकियो भने स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्छ ।
पर्यटकको बसाइ अवधि बढाउनु अर्को महत्वपूर्ण विषय हो । तानसेनमा पर्यटक आएर केही घण्टा घुमेर फर्किने अवस्थालाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि पर्यटकीय स्तरका होटल, व्यवस्थित घरबास, गुणस्तरीय भोजन, यातायात, सूचना सेवा, सार्वजनिक शौचालय, सरसफाइ र सुरक्षित घुमफिरको व्यवस्था आवश्यक हुन्छ । नीतिमा पाँचतारे स्तरको होटल स्थापनाका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने विषयसमेत उल्लेख छ । यो महत्वपूर्ण सम्भावना हो । तर ठूला होटलको प्रतीक्षामा मात्र पर्यटन विकासलाई सीमित गर्नु हुँदैन । मध्यमस्तरका होटल, मौलिक चरित्र भएका बुटिक आवास, पारिवारिक घरबास र स्थानीय खानपानका केन्द्रलाई पनि प्रोत्साहन गर्नुपर्छ । पर्यटकको आवश्यकता र बजेटअनुसार बसोबासका विविध विकल्प उपलब्ध हुनु आवश्यक छ ।
नीतिले शिक्षा तथा स्वास्थ्यमा आधारित पर्यटनको सम्भावनासमेत पहिचान गरेको छ । पर्यटन तथा होटल व्यवस्थापनका पाठ्यक्रम सञ्चालन, शैक्षिक संस्थासँग सहकार्य, स्वास्थ्य सेवाको स्तरोन्नति र छिमेकी जिल्ला तथा भारतबाट समेत उपचारका लागि आउने वातावरण बनाउने प्रस्ताव यसका उदाहरण हुन् । यस्ता कार्यक्रमले पर्यटनलाई परम्परागत घुमफिरभन्दा फराकिलो आर्थिक गतिविधिसँग जोड्न सक्छन् । तर यी प्रस्ताव कार्यान्वयन गर्न सम्बन्धित संस्थासँग स्पष्ट जिम्मेवारी, लगानी र समयसीमा निर्धारण गर्नुपर्छ । नीतिमा रिडीदेखि रेसुङ्गासम्म धार्मिक तथा पौराणिक क्षेत्र जोड्ने पदयात्रा मार्गको सम्भाव्यता अध्ययन, अन्य पालिकासँगको सहकार्यमा पाल्पालाई आलमदेवीसँग जोड्ने पदमार्ग र तानसेन चक्रपथ निर्माणको अवधारणा पनि उल्लेख छ । यी प्रस्तावले तानसेनलाई आसपासका गन्तव्यसँग जोडेर पर्यटकको बसाइ लम्ब्याउन मद्दत गर्न सक्छन् । तर पदमार्गको निर्माणसँगै त्यसको सुरक्षा, संकेत चिह्न, विश्रामस्थल, खानेपानी, स्थानीय गाइड र नियमित मर्मतको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
नीतिको एउटा बलियो पक्ष अनुगमन र मूल्याड्ढनलाई महत्व दिनु हो । काम योजनाअनुसार अघि बढेको छ कि छैन, कुन गतिविधि कहिले सुरु र सम्पन्न भयो, कति बजेट खर्च भयो र जिम्मेवारी कसले निर्वाह गर्यो भन्ने विषयमा अनुगमन फाराम बनाउने व्यवस्था उल्लेख छ । होटल तथा घरबासमा पर्यटकको संख्या, आम्दानी, सेवा गुणस्तर र प्रभावसम्बन्धी सूचकाड्ढसहित मासिक प्रगति विवरण लिने सोच पनि राखिएको छ । यो कार्यान्वयनका दृष्टिले महत्वपूर्ण आधार हो । तर अनुगमनलाई कागजी प्रतिवेदनमा सीमित नगरी सार्वजनिक जवाफदेहितासँग जोड्नुपर्छ ।
यहीँनेर नीतिको कार्यान्वयन पक्षमा केही प्रश्न उठ्छन् । नीतिमा समेटिएका सबै कार्यक्रम एकैपटक सञ्चालन गर्न सम्भव हुँदैन । त्यसैले तत्काल गर्न सकिने, मध्यम अवधिमा पूरा गर्नुपर्ने र दीर्घकालीन लगानी आवश्यक पर्ने कार्यक्रम छुट्याउनुपर्छ । प्रत्येक कार्यक्रमको प्राथमिकता, अनुमानित लागत, बजेटको स्रोत, जिम्मेवार निकाय र सम्पन्न गर्ने समयसीमा स्पष्ट हुनुपर्छ । निजी क्षेत्र र समुदायको लगानी परिचालन गर्ने भनिए पनि त्यसका लागि पारदर्शी प्रक्रिया, प्रोत्साहन र सहकार्यको व्यावहारिक ढाँचा आवश्यक हुन्छ । नीति कार्यान्वयन योजना बोर्ड बैठकबाट आवश्यकताअनुसार कार्यक्रम समावेश गर्दै जाने व्यवस्थामा आधारित देखिएकाले यसलाई नियमित बजेट, वार्षिक कार्ययोजना र सार्वजनिक प्रगति विवरणसँग जोड्नु अझ आवश्यक छ । पर्यटन विकास नगरपालिकाको एकल जिम्मेवारी मात्र होइन । होटल व्यवसायी, यातायात व्यवसायी, स्थानीय उद्यमी, सांस्कृतिक समूह, घरधनी, युवा, नागरिक समाज र स्थानीय बासिन्दा सबै यसका साझेदार हुन् । पर्यटकलाई राम्रो व्यवहार गर्ने संस्कार, स्वच्छ वातावरण, उचित मूल्य, भरपर्दो सूचना र सुरक्षित सेवा पनि पर्यटनका आधारभूत पूर्वाधार हुन् । स्थानीय युवालाई गाइड, आतिथ्य सेवा, डिजिटल प्रचार, हस्तकला र साहसिक पर्यटनका क्षेत्रमा सीप तथा उद्यमशीलताको अवसर दिन सकियो भने पर्यटनले रोजगारी सिर्जना गर्ने नीतिगत लक्ष्यलाई व्यवहारमा उतार्न सक्छ । तानसेनको प्रचारप्रसार पनि नयाँ ढ·ले गर्न आवश्यक छ । केवल सुन्दर तस्बिर र आकर्षक नाराले पर्यटकलाई लामो समयसम्म रोक्न सक्दैन । पर्यटकले यहाँ के गर्न सक्छ, कहाँ बस्न सक्छ, कस्तो खाना खान सक्छ, कुन पदमार्ग हिँड्न सक्छ र कुन समयमा सांस्कृतिक कार्यक्रम हेर्न सक्छ भन्ने जानकारी सहज रूपमा उपलब्ध हुनुपर्छ । डिजिटल सूचना प्रणाली, व्यवस्थित पर्यटकीय नक्सा, आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र स्थानीय गाइडको समन्वयले यसमा सहयोग पुर्याउन सक्छ ।
तानसेन पर्यटन नीति, २०८३ ले सम्भावनाको पहिचान र संस्थागत दिशानिर्देशका दृष्टिले महत्वपूर्ण आधार तयार गरेको छ । अब यसको सफलता नारामा होइन, परिणाममा मापन हुनुपर्छ । वार्षिक पर्यटक आगमन, औसत बसाइ अवधि, पर्यटकको खर्च, होटल तथा घरबासको उपयोग, स्थानीय उत्पादनको बिक्री, सिर्जना भएका रोजगारी र पर्यटक सन्तुष्टिजस्ता सूचकका आधारमा प्रगति मूल्याड्ढन गर्न सकिन्छ । अन्ततः तानसेनलाई पर्यटकीय गन्तव्य बनाउने काम यसको ऐतिहासिक गौरवको वर्णन गरेर मात्र पूरा हुँदैन । त्यो गौरवलाई आजको पुस्ताले अनुभव गर्न सक्ने र भोलिको पुस्ताले गर्व गर्न सक्ने जीवन्त सम्पदामा रूपान्तरण गर्नुपर्छ । पर्यटकलाई बोलाउने मात्र होइन, स्वागत गर्ने वातावरण बनाउने; घुमाउने मात्र होइन, रमाउने अवसर दिने; एकपटक आउने मात्र होइन, फेरि फर्केर आउन मन लाग्ने गन्तव्य बनाउने हाम्रो लक्ष्य हुनुपर्छ । तानसेनले पर्यटन नीति बनाएको छ । अब नीति कार्यान्वयनको इच्छाशक्ति, स्पष्ट प्राथमिकता र सबै पक्षको सहकार्य देखिनुपर्छ । पर्यटनको विकासले स्थानीय उत्पादन, रोजगारी, उद्यम र आम्दानीमा प्रत्यक्ष परिवर्तन ल्याउन सके मात्र ‘समुन्नत तानसेन’ निर्माणको लक्ष्य सार्थक हुनेछ । नीति कागजमा होइन, पर्यटकको अनुभवमा देखिनुपर्छ; यसको उपलब्धि प्रतिवेदनमा मात्र होइन, तानसेनवासीको जीवनस्तरमा प्रतिबिम्बित हुनुपर्छ ।
(लेखक प्रशासनिक क्षेत्रमा चार दशकभन्दा लामो अनुभव हासिल गरेका अनुभवी व्यक्तित्व समेत हुन् । हाल उनी शड्ढरदेव क्याम्पसमा प्राध्यापनरत छन् । सार्वजनिक प्रशासन, व्यवस्थापन, संस्थागत विकास तथा नीतिगत विषयमा विशेष रुचि राख्नुहुने उनी समसामयिक आर्थिक, सामाजिक तथा सार्वजनिक नीतिका विषयमा लेखन र विश्लेषण गर्छन् ।)

