Shittalpati
शहरीकरण दिवसको सार्थकता

हरेक वर्ष अक्टोबर ३१ मा विश्व शहरीकरण दिवस मनाइन्छ । सहरीकरणका अवसर र चुनौतीबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । तीव्र गतिमा बढिरहेको सहरीकरणले मानव जीवनलाई सहज बनाउने अनेकौँ सम्भावना सिर्जना गरेको छ । तर, योजनाविहीन सहरीकरणले निम्त्याएका समस्या पनि उत्तिकै गम्भीर बन्दै गएका छन् । त्यसैले विश्व शहरीकरण दिवस केवल औपचारिक रूपमा मनाउने दिन मात्र नभई हाम्रा सहर कस्ता बनिरहेका छन् र भविष्यमा कस्ता बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्ने अवसर पनि हो ।

पछिल्लो समय नेपालमा पनि शहरीकरणको प्रभाव र परिणाम तीव्ररूपमा देखिन थालेका छन् । २००७ को परिवर्तनपछि शहरीकरणले आकार लिएको भएपनि पछिल्ला दशकमा यसले तीव्रगति लिएको छ । शहरमा मानिसको आर्कषण बढी देखिन्छ । सरकारी तथ्याङ्क अनुसार शिक्षा, रोजगारी, सुविधा र सरल जीवनको खोजिमा लाखौं नेपाली गाउँबाट शहर भित्रने गरेका छन् । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोवास फैलन थालेको छ । ग्रामीण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइ रहेको समयमा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ । ग्रामीण परिवेशहरु एकादेशको कथा जस्तै बन्न थालेको वर्तमान अवस्थामा अव्यवस्थित शहरीकरणले पनि निकै नै समस्या सिर्जना गरे कै छ । नेपालको सहरीकरणको एउटा प्रमुख समस्या योजनाविहीन विकास हो । सहर विस्तार भइरहेका छन्, तर त्यसअनुसार पूर्वाधार र सेवा सुविधाको विकास हुन सकेको छैन । खेतीयोग्य जमिन मासिँदै गएको छ । नदी तथा खोलाका किनार अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गा र खुला क्षेत्र हराउँदै गएका छन् । अव्यवस्थित सडक विस्तार, फोहोरमैला व्यवस्थापनको कमजोरी, वायु प्रदूषण र वर्षायाममा हुने डुबानले सहरी जीवनलाई चुनौतीपूर्ण बनाइरहेका छन्।

विकासका नाममा प्रकृति र वातावरणलाई बेवास्ता गर्ने प्रवृत्ति अन्ततः मानव जीवनकै लागि घातक बन्न सक्छ । नेपालका सहरलाई बस्नयोग्य, सुरक्षित, स्वच्छ, समावेशी र आर्थिक रूपमा सबल बनाउने दायित्व सरकारको मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकको पनि हो । तसर्थ दिवसका अवसरमा अव्यवस्थित सहरीकरणलाई नियमन गर्ने, दीर्घकालीन योजना कार्यान्वयन गर्ने र वातावरणमैत्री विकासलाई प्राथमिकता दिने प्रतिबद्धता आवश्यक छ । आजको आवश्यकता सहर विस्तार गर्नु मात्र होइन, व्यवस्थित सहर निर्माण गर्नु हो । सहर सबैका लागि हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै समावेशी, दिगो र मानवमैत्री सहरी विकासको बाटोमा अघि बढ्नु नै दिवसको सार्थकता हुनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update