पदम न्यौपाने
एउटा भनाइ छ (तिमिले तिमिलाई कस्तो बनाउने तिमिमै निर्भर रहन्छ । तर एउटा तितो सत्य के हो भने तिमिले जे गरेउ या गरेंं भन्छौ नी त्यो तानसेनलाई पढेर, जानेर र चिनेर गरेनौ । इतिहास, सम्पदा र संस्कृतिले सम्पन्न तानसेनले पनि यही भनाइ जस्तै यथार्थ बोकेर बसेको बर्षौं भयो । यही पृष्ठभूमिमा बडो कठीन मेहनत पश्चात तानसेन नगरपालिकाद्धारा झण्डै एक वर्ष अगाडि गठन गरेको तानसेन पर्यटन वोर्डद्धारा तानसेन पर्यटन नीति तयार गरेको छ । तानसेन नगर क्षेत्रको सम्भावना र कार्यान्वयनको मार्गचित्र सहितको पर्यटन नीतिले इतिहास, सम्पदा, संस्कृति र प्रकृतिलाई आर्थिक समृद्धि एवं समुन्नतीसँग जोड्ने दूरदर्शी अभियानलाइ समावेश गरेको छ ।
१. सम्भावनाको शहर, परिणामको प्रतीक्षा
नेपालको इतिहास, संस्कृति, प्रकृति र सभ्यताको विशिष्ट पहिचान बोकेको तानसेन केवल पाल्पा जिल्लाको सदरमुकाम मात्र होइन, यो नेपालको पुरानो सहरी सभ्यता, मध्ययुगीन बजार संरचना, ऐतिहासिक सम्पदा र जीवन्त सांस्कृतिक परम्पराको प्रतिनिधित्व गर्ने एउटा विशिष्ट नगर हो भन्ने स्विकार गर्दै सेनकालीन इतिहासदेखि राणाकालीन संरचनासम्म, नेवारी वास्तुकलादेखि मगर संस्कृति र परम्परासम्म, ढाका र करुवाको हस्तकलादेखि रानीमहलको प्रेमकथासम्म तानसेनसँग पर्यटकलाई आकर्षित गर्न सक्ने असाधारण सम्पत्तिको संरक्षण, सम्वद्र्धन र व्यवस्थित उपयोगमा जोड दिएको छ । यसले एउटा गम्भीर प्रश्न खडागरेको छ र विश्लेषण गर्दै भनेको छ – यति धेरै सम्भावना भएको तानसेनले पर्यटनबाट अपेक्षित आर्थिक तथा सामाजिक लाभ किन लिन सकेको छैन ? पर्यटनको सम्भावना हुनु र पर्यटन उद्योगको विकास हुनु दुई फरक कुरा हुन् । सम्भावना भौतिक, अभौतिक र प्राकृतिक रूपमा प्राप्त हुन्छ, तर त्यसलाई आर्थिक अवसरमा रूपान्तरण गर्न स्पष्ट दृष्टिकोण, नीति, योजना, लगानी, संस्थागत संरचना र निरन्तर कार्यान्वयन आवश्यक हुन्छ ।
तानसेनको पर्यटन विकासमा विगतमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संघसंस्थाले प्रयास गर्दै आए पनि ती प्रयासहरू पर्याप्त रूपमा एकीकृत, योजनाबद्ध र परिणाममुखी हुन नसकेको अवस्था छ । पर्यटकको आगमन, बसाई अवधि, खर्च गर्ने क्षमता, स्थानीय अर्थतन्त्रमा परेको प्रभाव तथा पर्यटन व्यवसायको वास्तविक योगदानको व्यवस्थित अभिलेखसमेत कमजोर रहेको नीतिले स्वीकार गरेको छ । त्यसैले पर्यटनलाई आकस्मिक गतिविधि होइन, योजनाबद्ध आर्थिक विकासको आधार बनाउने सोच आवश्यक भएको स्पष्ट पारेको छ । यसै सन्दर्भमा तयार गरिएको तानसेन पर्यटन नीति एउटा सामान्य पर्यटन प्रवद्र्धन दस्तावेज मात्र होइन । यो तानसेनको ऐतिहासिक पहिचान, सांस्कृतिक मौलिकता, प्राकृतिक सम्पदा, स्थानीय उत्पादन र जनशक्तिलाई एकीकृत गरी समृद्ध पाल्पा निर्माण गर्ने दीर्घकालीन विकास दृष्टिकोण पनि हो ।
२. तानसेन पर्यटन नीतिको दूरदृष्टि : सांस्कृतिक पर्यटकीय नगरी तानसेन
नीतिले आफ्नो दूरदृष्टि स्पष्ट रूपमा प्रस्तुत गरेको छ–“समुन्नत र समृद्ध पाल्पा : सांस्कृतिक पर्यटकीय नगरी तानसेन ।” यससँग जोडिएको अर्को मूल भावना हो– “हाम्रो पाल्पा : समुन्नत पाल्पा ।” यसको अर्थ पर्यटनलाई केवल पर्यटक भित्राउने माध्यमका रूपमा सीमित नगरी समग्र सामाजिक तथा आर्थिक रूपान्तरणको साधन बनाउनु हो । नीतिको ध्येय पाल्पालाई पर्यटकको रोजाइ बनाउने र तानसेनलाई आकर्षक, जीवन्त, अनुभव प्रदान गर्ने, सुरक्षित तथा दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने रहेको छ । यसका लागि नीतिले दशवटा प्रमुख उद्देश्य अगाडि सारेको छ । तीमध्ये तानसेनलाई मौलिक सांस्कृतिक शहरका रूपमा ब्रान्डिङ गर्ने, धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई जोड्ने, ढाका तथा करुवालाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने, युवा, परिवार र पदयात्रामैत्री शहर बनाउने, पर्यटकको संख्या वृद्धि गर्ने र पर्यटनबाट रोजगारी तथा उद्यमशीलता विकास गर्ने उद्देश्य विशेष महत्वका छन् । त्यसैगरी तानसेनलाई Living Cultural Heritage City का रूपमा स्थापित गर्ने तथा पर्यटनको माध्यमबाट स्थानीय उत्पादन, सेवा र संस्कृतिको संरक्षण गर्ने लक्ष्यसमेत राखिएको छ । यो दृष्टिकोणले एउटा महत्वपूर्ण सन्देश दिन्छ– तानसेनको विकासका लागि नयाँ पहिचान खोज्नुपर्दैन, आफ्नै मौलिक पहिचानलाई व्यवस्थित रूपमा संरक्षण, विकास र विश्व बजारमा स्थापित गर्नुपर्छ ।
३. सम्पदा संरक्षण : पर्यटन विकासको पहिलो आधार
तानसेनको सबैभन्दा ठूलो सम्पत्ति यसको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । यहाँको पुरानो बजार, परम्परागत घरहरू, मठमन्दिर, चैत्य, विहार, दरबार, टोल र गल्लीहरू केवल भौतिक संरचना मात्र होइनन् । यी संरचनाले विगतको सामाजिक जीवन, आर्थिक गतिविधि, कला, वास्तुकला र सभ्यताको इतिहास बोकेका छन् । तानसेनको मध्ययुगीन बजार संरचना यसको विशेष पहिचान हो । सेनकालीन तथा राणाकालीन वास्तुकला, नेवारी शैलीका घरहरू र परम्परागत सहरी संरचनालाई संरक्षण गर्दै तानसेनलाई मौलिक सांस्कृतिक शहरका रूपमा विकास गर्न सकिन्छ ।
नीतिले तानसेनको ऐतिहासिक बजार संरचनालाई विश्व सम्पदा शहरका रूपमा पहिचान गराउने पहल गर्ने विषयलाई महत्व दिएको छ । यसका लागि विगतका अध्ययन प्रतिवेदनको उपयोग, सम्पदायुक्त निजी घरहरूको अभिलेखीकरण, संरक्षण र मौलिक स्वरूप कायम राख्न घरधनीलाई प्रोत्साहन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । पाल्पा दरबार, रानीमहल, सत्येश्वर महादेव मन्दिर, रणउजिरेश्वरी भगवती मन्दिर, अर्गली दरबार, अमरनारायण मन्दिर, मणमुकुन्देश्वर महादेव र बंशगोपाल , भीमसेन मन्दिर, शीतलपाटी, बारुदखाना र टक्सारजस्ता सम्पदाको संरक्षण तथा उचित व्यवस्थापनलाई पर्यटन विकाससँग जोड्ने नीति छ । यसका अतिरिक्त नेवार, मगर, बोटे तथा अन्य समुदायको संस्कृति झल्काउने संग्रहालय, लोकबाजा र लोकभाखाको संरक्षण तथा सम्पदा शिक्षालाई विद्यालय तहसम्म पु¥याउने सोच पनि नीतिमा समेटिएको छ ।
यसबाट एउटा महत्वपूर्ण अवधारणा स्थापित हुन्छ– सम्पदा संरक्षण भनेको पुराना घर र मन्दिर जोगाउनु मात्र होइन, तीसँग जोडिएको जीवनशैली, संस्कृति, सीप, भाषा, परम्परा र सामुदायिक पहिचान जोगाउनु पनि हो । तानसेनको पुरानो बजारलाई संग्रहालयजस्तो निर्जीव बनाउनु हुँदैन । त्यहाँका घरमा मानिस बसून्, व्यापार चलोस्, परम्परागत सीप जीवित रहून् र पर्यटकले स्थानीय जीवनको वास्तविक अनुभव गर्न पाऊन् । यही नै Living Cultural Heritage City को वास्तविक अर्थ हो भनेको छ ।
४. पर्यटनका विविध आयाम : तानसेनलाई बहुआयामिक गन्तव्य बनाउने
पर्यटनलाई एउटा मात्र क्षेत्रसँग जोडेर विकास गर्न सकिँदैन । तानसेन पर्यटन नीतिको अर्को महत्वपूर्ण पक्ष भनेको पर्यटनका विभिन्न विधालाई एकीकृत रूपमा विकास गर्ने अवधारणा हो पनि ।
क. सांस्कृतिक तथा सम्पदा पर्यटन
तानसेनको पुरानो बजार, दरबार, मठमन्दिर, परम्परागत घर, जात्रा, पर्व, स्थानीय खाना, हस्तकला र सांस्कृतिक जीवनलाई पर्यटकीय अनुभवका रूपमा विकास गर्न सकिन्छ र ढाका र करुवा केवल स्थानीय उत्पादन होइनन्, तानसेनको पहिचान हुन् । तिनको उत्पादन, प्रदर्शन, बिक्री, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि विशेष कार्यक्रम आवश्यक भएको औल्याइएको छ ।
ख. धार्मिक तथा आध्यात्मिक पर्यटन
पाल्पा धार्मिक तथा आध्यात्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । रुरुक्षेत्र, रानीघाट, भैरवस्थान, सिद्धबाबा, सत्यवती, ऋषिकेशव मन्दिर, स्वामीनारायण आस्था लगायत क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनसँग जोड्न सकिन्छ । नीतिले रुरुक्षेत्रलाई मुक्तिदायिनी पवित्र क्षेत्रका रूपमा प्रवद्र्धन गर्ने, शालिग्राम संग्रहालय स्थापना गर्ने सम्भावना खोज्ने, रुरुक्षेत्रमा धार्मिक मेला तथा कुम्भ र अर्धकुम्भको सम्भाव्यता अध्ययन गर्ने र रानीघाटलाई उत्तरवाहिनी मोक्षधामका रूपमा विकास गर्ने अवधारणा पनि अघि सारेको छ । त्यसैगरी योग, ध्यान, आरोग्य तथा बौद्ध पर्यटनलाई समेत प्राथमिकता दिइएको छ ।
ग. पर्यापर्यटन तथा प्रकृति पर्यटन
तानसेनको प्राकृतिक सौन्दर्य पर्यटनको अर्को ठूलो आधार हो । श्रीनगर वन, विभिन्न सामुदायिक वन, जैविक विविधता भएका क्षेत्र र सिमसारलाई पर्यापर्यटनसँग जोड्न सकिन्छ । इको रिसोर्ट, होमस्टे, बर्ड वाचिङ, जडीबुटी उद्यान, वनस्पति उद्यान तथा प्रकृतिमा आधारित पर्यटन गतिविधि सञ्चालन गर्ने नीतिमा छ । विशेषगरी श्रीनगर वनलाई व्यवस्थित, वैज्ञानिक र वातावरणमैत्री ढङ्गले विकास गर्न सकिएमा तानसेनको पर्यटन पहिचान अझ फराकिलो बन्न सक्छ नीतिले भनेको छ ।
घ. शिक्षा, स्वास्थ्य तथा कृषि पर्यटन
तानसेनको पर्यटन विकासलाई शिक्षा, स्वास्थ्य र कृषिसँग जोड्ने अवधारणा नीतिको नवीन पक्ष हो । त्रिभुवन बहुमुखी क्याम्पस तथा अन्य शैक्षिक संस्थालाई पर्यटन अध्ययन र अनुसन्धानसँग जोड्ने, अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम सञ्चालनका सम्भावना खोज्ने तथा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गरी छिमेकी जिल्ला र भारतीय नागरिकसमेत आकर्षित गर्ने सोच अघि सारिएको छ ।
त्यसैगरी माडीफाँट र अर्गलीफाँटको कृषि उत्पादनलाई नमुना कृषि पर्यटनका रूपमा विकास गर्ने, अदुवा खेती, मौरीपालन, बाख्रापालन, ढाका उद्योग तथा ढलौट उद्योगलाई सिकाइ र अवलोकनका केन्द्र बनाउने प्रस्ताव गरिएको छ । यसले पर्यटनलाई होटल र रेस्टुरेन्टको व्यवसायभन्दा धेरै फराकिलो बनाउँछ । किसान, विद्यार्थी, शिक्षक, उद्यमी, स्वास्थ्यकर्मी र स्थानीय उत्पादकसमेत पर्यटन अर्थतन्त्रका सहभागी बन्न सक्छन् ।
ङ. खेल तथा साहसिक पर्यटन
तानसेनको भौगोलिक अवस्था र हावापानीलाई खेल पर्यटनसँग जोड्न सकिन्छ । नीतिले टुँडिखेलको अधिकतम उपयोग, नियमित राष्ट्रिय खेल प्रतियोगिता, कुनसरेको प्रस्तावित खेल मैदान र रानीमहल क्षेत्रमा बीच भलिबलको सम्भावना अघि सारेको छ । त्यसैगरी प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ, हाइकिङ, राफ्टिङ, क्यानोनिङलगायत साहसिक पर्यटन गतिविधिको सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति छ ।
५. पूर्वाधार र पहुँच : पर्यटकलाई तान्ने मात्र होइन, टिकाउने व्यवस्था
पर्यटन विकासको महत्वपूर्ण आधार पहुँच र पूर्वाधार हो । तानसेनको भौगोलिक अवस्थिति आफैँमा रणनीतिक छ । पोखरा र लुम्बिनीबीच रहेको तानसेनले यी दुई प्रमुख पर्यटकीय गन्तव्यबीच आवतजावत गर्ने पर्यटकलाई आकर्षित गर्न सक्छ । तर त्यसका लागि केवल सडकको अवस्थिति पर्याप्त हुँदैन । पर्यटकलाई तानसेनमा रोकिने, घुम्ने र बस्ने कारण दिनुपर्छ । नीतिले डिजिटल नक्सा, क्यूआर कोड सूचना प्रणाली, पदमार्ग, साइनेज, सार्वजनिक शौचालय, पार्किङ, फोहोर संकलन केन्द्र तथा पर्यटक सूचना केन्द्र निर्माणलाई प्राथमिकता दिएको छ । सिद्धार्थ राजमार्गको डुम्रेदेखि लामडाँडासम्ममा एक पर्यटक सूचना केन्द्र स्थापना गर्ने, पाल्पा दरबार परिसरमा कोसेलीघर र सूचना केन्द्र बनाउने तथा नगरका सबै वडामा कम्तीमा एउटा पर्यटन परियोजना सञ्चालन गर्ने अवधारणा यसका महत्वपूर्ण पक्ष हुन् । त्यसैगरी बतासेडाँडा क्षेत्रलाई चौबीसै घण्टा रमाउने स्थल बनाउने, तानसेन चक्रपथ निर्माणको पहल गर्ने र कालिगण्डकी करिडोर तथा जलयात्रालाई पर्यटनसँग जोड्ने सोच पनि समेटिएको छ । यसकालागि आवश्यक कुरा यी योजनालाई प्राथमिकताका आधारमा वर्गीकरण गरी कार्यान्वयन गर्नु हो । पर्यटकका लागि सूचना, यातायात, पार्किङ, स्वच्छ शौचालय, सुरक्षित आवास, पदमार्ग र प्रभावकारी गाइड सेवा आधारभूत आवश्यकता हुन् नीतिमा भनिएको छ ।
६. स्थानीय अर्थतन्त्र र रोजगारी : पर्यटनको लाभ नागरिकसम्म पुग्नुपर्छ ।
पर्यटन विकासको सफलता पर्यटकको संख्या बढ्नुमा मात्र हुँदैन । त्यसबाट स्थानीय नागरिकले कति रोजगारी पाए, स्थानीय उत्पादनको बिक्री कति बढ्यो, होटल तथा व्यवसायको आम्दानी कति वृद्धि भयो र नगरको आर्थिक गतिविधिमा कस्तो परिवर्तन आयो भन्ने विषयले यसको वास्तविक सफलता निर्धारण गर्छ ।
नीतिले निजी तथा सामुदायिक होमस्टे, कोसेलीघर, स्थानीय खानाका महोत्सव, ढाका तथा करुवा महोत्सव, चुकाउनी उत्सव, मगर खाना महोत्सव र अन्य सांस्कृतिक कार्यक्रमलाई पर्यटनसँग जोडेको छ । यसले स्थानीय उत्पादन र सेवालाई बजार प्रदान गर्नेछ । युवालाई पर्यटन उद्यमशीलतामा आकर्षित गर्न, स्थानीय जनशक्तिलाई तालिम दिन र स्वरोजगारी सिर्जना गर्न पनि मद्दत पुग्नेछ , नीतिले उपाय पनि सुझाएको छ ।
नीतिमा विशेष रूपमा उल्लेख गरिएको ‘अष्ट ज’ मोडेल पनि यस सन्दर्भमा महत्वपूर्ण छ । जल, जमिन, जंगल, जनशक्ति, जनावर, जराजुरी, जलवायु र जडिबुटीको उपयोग गरी घरेलु उद्यम प्रवद्र्धन गर्ने अवधारणाले पर्यटनलाई स्थानीय स्रोत र उत्पादनमा आधारित बनाउन खोजेको छ । त्यसैगरी विदेशमा रहेका नेपाली तथा अन्य जिल्लामा बसोबास गर्ने पाल्पालीलाई आफ्नो जन्मभूमिको विकासमा सहभागी गराउने ‘एक पटकको पाल्पाली, सधैँको पाल्पाली’ भन्ने भावना पनि आर्थिक तथा सामाजिक पुँजी परिचालनको महत्वपूर्ण आधार बनाउने लक्ष्य पनि लिएको छ । यसको अर्थ पर्यटन विकास सरकारको मात्र जिम्मेवारी होइन । स्थानीय व्यवसायी, घरधनी, किसान, युवा, महिला, सामाजिक संस्था र विदेशमा रहेका पाल्पाली सबैको साझा अभियान बनाउन खोजेको छ ।
७. पर्यटन प्रवद्र्धन र ब्रान्डिङ : तानसेनको कथा विश्व बजारसम्म
आजको पर्यटन प्रतिस्पर्धामा राम्रो गन्तव्य भएर मात्र पुग्दैन, त्यसको पहिचान र कथा विश्व बजारसम्म पु¥याउन सक्नुपर्छ । तानसेनसँग भन्न सकिने अनेकौँ कथा छन् । रानीमहलको प्रेमकथा, युद्धको गाथा, सेन राजाहरुको पहल, पाल्पाली ढाकाको सीप, करुवाको कला, पुरानो बजारको इतिहास, श्रीनगरको प्राकृतिक सौन्दर्य, भैरवस्थानको सांस्कृतिक परम्परा र रुरुक्षेत्रको धार्मिक महत्त्वलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सकिन्छ ।
नीतिले वेबसाइट, सामाजिक सञ्जाल, भिडियो, डिजिटल सामग्री, अनलाइन ट्राभल पोर्टल, गुगल म्याप, मोबाइल एप, डिजिटल टुर गाइड, क्यूआर कोड र स्टोरी टेलिङलाई पर्यटन प्रचारका माध्यमका रूपमा उपयोग गर्ने प्रस्ताव गरेको छ । वशेषगरी भारतीय पर्यटकलाई लक्षित गरी सम्भावित भारतीय शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, पोखरा, लुम्बिनी, चितवन र काठमाडौंका पर्यटन व्यवसायीसँग सम्बन्ध विस्तार गर्ने तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन सम्मेलनमा सहभागिता जनाउने रणनीति छ । विदेशी सञ्चारकर्मी, टुर अपरेटर, पर्यटन व्यवसायी र गाइडलाई पाल्पा भ्रमण गराउने सोच पनि महत्त्वपूर्ण छ ।
यसका लागि तानसेनको एउटा स्पष्ट अन्तर्राष्ट्रिय ब्रान्ड पहिचान आवश्यक छ । तानसेनलाई केवल Hill Station भनेर चिनाउनु पर्याप्त हुँदैन । यसको ऐतिहासिक, सांस्कृतिक र जीवित सहरी सभ्यताको पहिचानलाई केन्द्रमा राखेर ब्रान्डिङ गर्नुपर्छ भनेको छ ।
८. संस्थागत संरचना, लगानी र वित्तीय व्यवस्थापन
कुनै पनि नीति कार्यान्वयन गर्ने संस्थागत संरचना बलियो भएन भने त्यसको परिणाम आउँदैन । तानसेन पर्यटन नीतिले तानसेन पर्यटन बोर्ड अन्तर्गत पर्यटन कार्य समिति, वडा पर्यटन प्रवद्र्धन समिति, होमस्टे निर्देशन तथा व्यवस्थापन समिति र होटल, लज, रेस्टुरेन्ट तथा रिसोर्टको स्तर निर्धारण समितिजस्ता संरचनाको परिकल्पना गरेको छ ।
लगानीका लागि प्रत्येक पाँच वर्षमा लगानी सम्मेलन गर्ने, परियोजनाको सूची तयार गर्ने, सम्भाव्यता अध्ययन भएका परियोजना कार्यान्वयनमा ल्याउने, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहकार्य गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । नीतिमा पर्यटनसम्बद्ध योजना तथा गतिविधिबाट प्राप्त आम्दानीको २५ प्रतिशत पर्यटन विकास कोषमा जम्मा गरी पुनः पर्यटन विकासमा लगानी गर्ने अवधारणा पनि समेटिएको छ । नीतिले सार्वजनिक निजि साझेदारी र सार्वजनिक निजि र समुदायको साझेदारीलाइ प्राथमिकता दिएको छ ।
९. अबको मुख्य चुनौती : नीतिलाई परिणाममा बदल्ने
तानसेन पर्यटन नीतिको सबैभन्दा ठूलो परीक्षा यसको दस्तावेजमा होइन, कार्यान्वयनमा हुनेछ।
हाम्रो विगतको समस्या सम्भावना र योजनाको अभाव मात्र होइन, भएका योजनालाई निरन्तरता दिन नसक्नु पनि हो । त्यसैले अब पर्यटन विकासलाई घोषणामुखी होइन, परिणाममुखी बनाउन आवश्यक छ भन्ने संकल्प पनि गरेको छ ।
तानसेनको पुरानो बजार संरक्षण र विश्व सम्पदा सहरको सम्भावनालाई उच्च प्राथमिकतामा राख्दै नीतिले पर्यटनस्थल, होटल, होमस्टे, सूचना केन्द्र, गाइड, यातायात र सडकको नियमित अनुगमन गर्ने, मासिक प्रगति प्रतिवेदन लिने, पर्यटक संख्या र आम्दानीको तथ्याङ्क संकलन गर्ने तथा सुझावका आधारमा सुधार गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
यसलाई प्रभावकारी बनाउन वार्षिक पर्यटन प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था पनि व्यवहारमा स्थापित गर्नुपर्छ । नागरिकले नीति कार्यान्वयनको अवस्था र पर्यटनबाट प्राप्त उपलब्धिबारे जानकारी पाउनुपर्छ ।
१०. निष्कर्ष : तानसेनको भविष्य पर्यटनमा, पर्यटनको भविष्य हाम्रो जिम्मेवारीमा
तानसेनसँग इतिहास छ, सम्पदा छ, संस्कृति छ, प्रकृति छ, मौलिक उत्पादन छ र सम्भावना पनि छ । अभाव छ भने यी सबै पक्षलाई एउटै विकास दृष्टिकोणमा जोड्ने प्रभावकारी कार्यान्वयनको ।
तानसेन पर्यटन नीति यही अभाव पूरा गर्ने एउटा महत्वपूर्ण प्रयास हो । यसले पर्यटनलाई होटल, रेस्टुरेन्ट र घुमफिरको सीमित परिभाषाबाट बाहिर निकालेर सम्पदा संरक्षण, स्थानीय अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, वातावरण, उद्यमशीलता र रोजगारीसँग जोडेको छ। अब तानसेनले आफ्नो विगतको गौरवको चर्चा गरेर मात्र पुग्दैन, त्यस गौरवलाई वर्तमानको आर्थिक समृद्धि र भविष्यको सम्भावनासँग जोड्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।
नीतिको सबैभन्दा महत्वपूर्ण पक्ष, पर्यटनको लाभ तानसेनका प्रत्येक वडा, प्रत्येक समुदाय र नागरिकको जीवनमा पुग्नुपर्छ रहेको छ । यसका लागि नगरपालिका नेतृत्व, पर्यटन बोर्ड, निजी क्षेत्र, नागरिक समाज, स्थानीय समुदाय र देशका अन्य भाग एवं विदेशमा रहेका पाल्पालीबीच साझा प्रतिबद्धता आवश्यक छ । नीतिवाट हामीले बुझ्नुपर्ने कुरा के हो भने पर्यटन विकासका लागि पर्यटकलाई निमन्त्रणा दिनुभन्दा पहिले पर्यटक स्वागत गर्न सक्ने वातावरण बनाउनुपर्छ । प्रचार गर्नुभन्दा पहिले उत्पादन र सेवा तयार गर्नुपर्छ न। लगानी माग्नुभन्दा पहिले लगानीयोग्य परियोजना तयार गर्नुपर्छ । अनि सपना देख्नुभन्दा पहिले सपनालाई कार्यान्वयन गर्ने संस्थागत क्षमता निर्माण गर्नुपर्छ । तानसेनको पर्यटन विकास कुनै एउटा सरकार, जनप्रतिनिधि वा पर्यटन व्यवसायीको मात्र अभियान होइन । यो तानसेनको पहिचान, पाल्पाको समृद्धि र भावी पुस्ताको भविष्यसँग जोडिएको साझा जिम्मेवारी हो । तानसेनले अब आफ्नो इतिहासमा गर्व गर्ने मात्र होइन, आफ्नो इतिहासलाई भविष्यको समृद्धिको आधार बनाउने समय आएको छ ।
(लेखक तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष समेत हुन् । )

