Shittalpati
सिद्धबाबामा कारमाथि खस्यो ढुंगा, दुई जना घाइते

पाल्पा, पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको कारमाथि अचानक ढुंगा खस्दा दुई जना घाइते भएका छन् । घटनामा कार पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । बुधबार साँझ तिनाउ गाउँपालिका–३ स्थित सिद्धार्थ राजमार्गको माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै बा २० च ३९९९ नम्बरको कारमाथि सडक माथिबाट ढुंगा खसेर लागेको हो ।

कारमा चालकसहित तीन जना सवार थिए । ढुंगा लाग्दा बुटवल उपमहानगरपालिका–७, दिपनगर ‘क’ लाइनकी ३७ वर्षीया जुलन गैरे र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ र हाल बुटवलस्थित अस्पतालमा उपचार भइरहेको छ । कार चालक रुपन्देहीको शुद्धोधन गाउँपालिका–२, कोलुवाका ३६ वर्षीय राजकुमार लोध भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update