Shittalpati
भोटेकोशी बाढी अपडेट : एक हजार ३९२ को शव फेला

पाल्पा, भोटेकोशी बाढीमा परी मृत्यु हुनेमध्ये एक हजार ३  सय ९२ जनाको शव फेला परेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोमबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार हालसम्म रसुवामा १ सय ८६, नुवाकोटमा २ सय २, धादिङमा ७१, चितवनमा ३ सय ६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।

फेला परेका शवहरूको पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ । शवको पहिचानका लागि डिएनए नमुना संकलन गर्ने, अभिलेख तयार गर्ने तथा अन्य आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । हालसम्म पहिचान तथा व्यवस्थापनसम्बन्धी प्रक्रिया पूरा गरी १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरिएको छ । व्यवस्थापन गरिएका शवहरूलाई हालका लागि सुरक्षित रूपमा माटोमुनि राखिएको जनाइएको छ । शव पहिचानका लागि मृतक तथा उनीहरूका आफन्तबाट ठूलो संख्यामा डिएनए नमुना संकलन गरिएको छ ।  हालसम्म मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ८ सय ५३ गरी कुल ३ हजार १ सय ३९ वटा डिएनए नमुना संकलन गरिएको छ । डिएनए परीक्षण तथा अन्य पहिचान प्रक्रियाबाट शवहरूको वास्तविक पहिचान खुलाउने प्रयास भइरहेको छ । यसैबीच, हालसम्म पहिचान हुन नसकेका १ हजार ३ सय ५४ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । आफन्त तथा परिवारका सदस्यलाई शव पहिचानमा सहज होस् भन्ने उद्देश्यले पहिचान नभएका शवसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको जनाइएको छ । प्रभावित क्षेत्रमा आवश्यकताअनुसार प्रहरी परिचालन गरी बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । बाढीका कारण अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता छन् । उपलब्ध विवरणअनुसार हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ । नदी, खोल्सा, बाढी प्रभावित बस्ती तथा अन्य सम्भावित स्थानमा खोजी तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ । त्यस्तै, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा २ हजार ७ सय ८१ जना व्यक्तिलाई राखिएको छ । बाढीका कारण विस्थापित तथा प्रभावित व्यक्तिहरूलाई तत्कालीन व्यवस्थापन र आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले होल्डिङ सेन्टरमा राखिएको जनाइएको  छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update