पाल्पा, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या एक हजार ३ सय ९७ पुगेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार दिउँसो २ बजेसम्म विभिन्न प्रभावित जिल्लाबाट थप ५ जनाको शव फेला परेसँगै बाढी तथा त्यसबाट सिर्जित विपद्मा फेला परेका शवको संख्या एक हजार ३ सय ९७ पुगेको हो ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा छन् । चितवनमा मात्रै ३ सय ६४ जनाको शव फेला परेको छ । त्यसपछि नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय २, रसुवामा १ सय ८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । जिल्लागत विवरणअनुसार रसुवामा १८९, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो । विपद्पछि फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई समेत तीव्रता दिइएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी हालसम्म १ हजार २ सय ३० वटा शव व्यवस्थापन गरिएको छ । तत्काल पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ । शवको पहिचानका लागि मृतक तथा उनीहरूका आफन्तबाट ठूलो संख्यामा डीएनए नमुना संकलन गरिएको छ । हालसम्म मृतकका तर्फबाट १ हजार २ सय ८६ र आफन्तका तर्फबाट १ हजार ८ सय ८९ गरी कुल ३ हजार १ सय ७५ वटा डीएनए नमुना संकलन गरिएको छ । संकलित नमुनाका आधारमा शवको पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ ।
यसैबीच, पहिचान हुन नसकेका शवहरूको विवरणसमेत सार्वजनिक गरिएको छ । हालसम्म पहिचान नभएका १ हजार ३ सय ६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ । आफन्त तथा परिवारका सदस्यले उक्त विवरणका आधारमा आफ्ना बेपत्ता सदस्यसँग मिलान गरी पहिचान प्रक्रियामा सहयोग गर्न सक्ने प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, बेपत्ता व्यक्तिको खोजी, शव व्यवस्थापन तथा अन्य आवश्यक कार्यका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले दिएको विवरणअनुसार हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी विपद् प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । बाढीपछि अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । मंगलबारसम्म ४ हजार ८९ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
विपद्का कारण विस्थापित तथा उद्धार गरिएका व्यक्तिहरूलाई विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा राखिएको छ । हालसम्म विभिन्न होल्डिङ सेन्टरमा ३ हजार ४ सय ४० जना व्यक्तिलाई राखिएको प्रहरीले जनाएको छ । भोटेकोशीमा आएको बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पु¥याएको छ । बाढीका कारण धेरै परिवार प्रभावित भएका छन् भने ठूलो संख्यामा मानिसहरू विस्थापित भएका छन् । उद्धार गरिएका तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, बेपत्ताको खोजी गर्ने र फेला परेका शवको पहिचान तथा व्यवस्थापन गर्ने काम एकसाथ अघि बढाइएको छ । बेपत्ता व्यक्तिको संख्या अझै हजारौँमा रहेकाले खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा सम्बन्धित निकायले निरन्तर प्रयास गरिरहेका छन् ।


