गुल्मी, गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीय कल्पना पुनको शव फेला परेको छ । आइतबार साँझ करिब ५ बजेतिर मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमानामा पर्ने निस्ती खोलाले बगाएपछि पुन बेपत्ता भएकी थिइन् ।
उनी मुसिकोट नगरपालिका–स्थित घरबाट तीज मनाउन इस्मा गाउँपालिका–४ हुलमा रहेको माइतीघर जाँदै थिइन् । खोलाले बगाएपछि स्थानीय र प्रहरीले उनको खोजी सुरु गरेका थिए । खोजीका क्रममा सोमबार दिउँसो करिब १२ बजेतिर अमराईको ठूला पहरास्थित निस्ती खोलामा उनको शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीम किरण बोगटीले जानकारी दिए ।
खोजी कार्यमा इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएको थियो । खोला तर्ने क्रममा खोलाले बगाएको खबरपछि प्रहरी खटिएको थियो । शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ ।


