Shittalpati
रोहितको परिकल्पना : गुलेली

पुष्कर अथक रेग्मी

लुम्बिनी प्रदेश पाल्पा जिल्ला तानसेन नगरपालिका मेहल्धारा निवासी माता दीनकुमारी र पिता बेदराज उपाध्याय ज्ञवालीको माहिला सुपुत्र रोहितप्रसाद ज्ञवालीको जन्म बि.सं. २०१८।०२।२० मा भएको हो। सानो छँदा ‘कल्लु’ नामले बोलाइने साहित्यकार रोहितप्रसाद ज्ञवाली पाल्पा तानसेनका क्रियाशील एवं लगनशील साहित्यकार हुनुहुन्छ ।  लामो समयसम्म निजामति सेवामा रही सेवा निवृत्त राष्ट्रसेवकको रुपमा जेष्ठ जीवन यापन गरिरहनु भएका ज्ञवाली शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपालका संस्थापक सदस्य, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्ष रहनु भएको छ । प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका ज्ञवालीले माता दीनकुमारी ज्ञवालीको स्मृतिमा अक्षयकोष स्थापना गरिदिनु भएको छ ।

जसको व्याजबाट हरेकवर्ष एकजना छात्रालाई छात्रवृत्ति प्रदान गरिन्छ । लुम्बिनी वाङ्गमय प्रतिष्ठान पाल्पाका कोषाध्यक्ष, प्रगतिशील लेखक संघ पाल्पाका सदस्य, पोखराथोक साहित्य संगमका आजीवन सदस्य, जनमत साहित्यिक मासिक पत्रिकाका आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटीका विशिष्ट सदस्य समेत रहेका ज्ञवालीले बाल्यवस्थादेखिनै साहित्य लेखनका साथै आध्यात्मिक चिन्तन, कर्मकाण्ड सेवा, अध्ययन र चित्रकारितामा समेत रुचि राख्दै टेक्सटाइल, जनरल मेकानिक्स, बाटिककला लगायतका क्षेत्रमा समेत दखल राख्दै आउनु भएको छ । कालिका मन्दिर व्यवस्थापन समिति तुम्कोट, वाला अर्घाखाँचीबाट प्रकाशित हुने सङ्गालोहरुबाट लेख रचनाहरु प्रकाशन गर्दै, उत्साह, शंखनाद, दीपज्योति, शिक्षाज्योति, दीपशिखा, वाटिका, हाम्रो पुरुषार्थ जस्ता सङ्गालोहरु र परेवा पाक्षिक, नव चेतना दैनिक, देउराली साप्ताहिक लगायतका पत्रपत्रिकाहरुमा कविता, तथा लेख रचनाहरु प्रकाशित गर्दै आउनु भएको छ । यसैगरी ज्ञवालीले ‘नेपाली लोकवार्ता परिषद् नेपाल काठमाण्डौं’ को भाग ११ मा अर्घाखाँची, गुल्मी, पाल्पाको लोकवार्ता सङ्ग्रह पुस्तकमा ‘पाल्पाका ब्राह्मणहरुको कुलायन पूजा परम्परा र यसको साँस्कृतिक तथा सामाजिक महत्व’ शीर्षकीय लेखबाट अनुसंधान लेखतर्फ पनि कलम चलाएको देखिन्छ । विशेषतः आख्यान र गद्य विधामा कलम चलाउँदै आउनु भएका साहित्यकार ज्ञवालीका उपन्यास आशाका अड्ढुरहरु (२०७३) विविध सङ्ग्रह यात्रा एक तरङ्ग अनेक (२०७४), कविता सङ्ग्रह कुण्ठा देशको (२०७८), संयुक्त साइनो सङ्ग्रह पाल्पाली साइनो (२०७७) र संयुक्त साइनो सङ्ग्रह पाल्पाली साइनो भाग दुई (२०७८) प्रकाशित भएका छन्। अझै पनि केही कृतिहरु प्रकाशोन्मुख पाण्डुलिपि अवस्थामै रहेका छन् । यस पटक आफू स्वयम् परिकल्पनाकार रहेको काव्य उपविधा गुलेली लक्ष्य (गुलेली काव्यको रचना विधान र सिर्जना सञ्चय–२०८२) प्रकाशित गर्नु भएको छ । कविता, निबन्ध, आख्यान र नाटक साहित्यका चार विधाहरु हुन् । जसमध्ये कवितालाई सर्वप्राचीन समृद्ध विधाको रुपमा लिइन्छ । आधुनिक नेपाली साहित्यको काव्य विधा अन्तर्गत लघुतम काव्य उपविधाको रुपमा आगो, टुक्का, द्विपदीय; त्रिशुल, बाछिटा, सुसेली, साइनो, पञ्चक, छेस्का, कोपिला, झिल्का, उदक, त्रिपदीय; शीत, खोरिया, चतुष्पदीय; पञ्चाङ्ग पञ्चपदीय; षड्ऋतु षट्पदीय स्वरुपमा उपस्थित भएका छन् ।

यसै परिप्रेक्ष्यमा साहित्यकार रोहितप्रसाद ज्ञवालीद्वारा त्रिपदीय काव्य उपविधाको रुपमा गुलेली परिकल्पना, प्रस्तावना गर्नु भएकोमा अपूर्व अद्भूत खुशी लागेको छ । काव्य विधाको लघुतम उपविधाको इतिहास खोतल्दा शीत, त्रिशुल, षड्ज्रऋतु, खोरिया, छेस्का, पञ्चाङ्ग, गुलेली काव्यको परिकल्पना प्रस्तावना गर्ने स्रष्टाहरू पाल्पाली नै हुन् । यद्यपि शीत, त्रिशुल र गुलेली काव्यको जन्मभूमि पाल्पाको तानसेन हो। काव्य उपविधाहरुको परिकल्पना र प्रयोग गरेर मात्र हुँदैन । त्यसको व्यापिकरण र मान्यताका लागि रचना विधान र उदाहरणहरु समेत निर्माण गरिनु पर्दछ । यसै परिप्रेक्ष्यमा साहित्यकार रोहितप्रसाद ज्ञवालीद्वारा त्रिपदीय काव्य उपविधाको रुपमा गुलेली परिकल्पना, प्रस्तावना गर्नु भएकोमा अपूर्व अद्भूत खुशी लागेको छ । यहि क्रममा परिकल्पनाकार रोहितप्रसाद ज्ञवालीद्वारा लिखित त्रिपदीय काव्यको रुपमा लक्ष्य (गुलेली काव्यको रचना विधान र सिर्जना सञ्चय) प्रकाशन भएको छ । प्रस्तुत गुलेली काव्य लक्ष्यलाई परिकल्पनाकारद्वारा गुलेलीको परिकल्पना र प्रस्तावना, पृष्ठभूमि, गुलेलीको जन्म, गुलेलीको परिचय अर्थ र परिभाषा, कविताका तत्वहरु, गुलेली काव्यको अक्षर गणना, व्याकरण सन्दर्भ र लेख्य चिन्हहरु, गुलेली काव्यको सम्भाव्य भुलहरू, गुलेली संरचनाका आधारहरू अनुप्रास प्रयोगका अवस्था र उदाहरण, गुलेली समूह संरचना, कविताको अन्य त्रिपदीय उपविधासँग गुलेली काव्यको सम्बन्ध, गुलेली रचना विधान शीर्षकहरू रहेका छन् । शीर्षकभित्र उपशीर्षकहरूद्वारा गुलेली काव्यलाई सैद्धान्तिक रूपमा अझ पुष्ट्याइएको छ ।
हुने हुनामी यहाँ भइरहन्छ
टारेर कहाँ यहाँ टार्न सकिन्छ
सत्कर्म त यहाँ गर्दै जानुपर्छ ।

वि.सं. २०७९।०६।१२ मा सामाजिक संजाल मार्फत प्रेषित त्रिपदीय काव्य नै परिकल्पनाकारको पहिलो गुलेली हो । ‘बाह गुणे तीन बराबर छत्तीस अक्षरमा  संरचित त्रिपदीय लघु काव्य नै गुलेली हो ।’ भनी परिकल्पनाकारद्वारा परिभाषित गरिएको छ । गुलेलीको संरचना अनुसार अक्षरी आंशिक अनुप्रास र पूर्ण स्थायी शब्दानुप्रास भएका त्रिपदीय काव्यलाई गुलेली मानिएको छ । गुलेलीको अर्थ, परिभाषा र संरचनालाई मध्यनजर गरी भन्नुपर्दा मेरो विचारमा ‘बाह्र गुणे तीन पंक्ति अन्त्यानुप्रास सहित छत्तीस अक्षरी संरचनायुक्त त्रिपदीय काव्य उपविधा नै गुलेली हो ।’ परिकल्पनाकारज्यूले बडो मेहनतका साथ गुलेली काव्यको सैद्धान्तिक कृति लक्ष्य तयार पारी सार्वजनिक गर्नुभएको छ। जसले लघुतम काव्य उपविधामा चासो राख्नेहरुलाई गुलेली काव्य के हो र कसरी लेखिन्छ भन्ने स्पष्ट जानकारी दिएको छ। सिद्धान्तभित्र एक श्लोकलाई ॐ शक्ति मानी बाह अक्षरलाई महिना, कृष्ण/शुक्ल पक्षका मालिक, द्वादशादित्य, बाह्र मसलाको समन्वय सहित “ॐ नमोः भगवते बासुदेवाय“ महामन्त्रलाई पुष्टि गरिएको छ । शब्दार्थता, मौलिकता, लघुता, सूत्रात्मकता, संरचनात्मकता, नवीनता, पृथकता र उपयोगिता गुलेली काव्यका विशेषताहरू हुन् । कृतिभित्र गुलेली काव्यको परिकल्पना प्रयोगका लागि आधारभूत सिद्धान्तहरू आविस्कार गरिएको छ भने सिर्जना सञ्चय अन्तर्गत गुलेलीमा त्रिपदीय शब्द र पंक्तिरूपी मट्याङ्ग्राद्धारा लक्ष्य साँधिएको छ । सामाजिक असमानता, विकृति, विसंगती, कुरीति र कुशासनका विरूद्ध झटारो हानिएको छ। आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, राजनैतिक, समसामयिक विषयवस्तुको उठान गरी साँधिएको शब्दशक्तिरूपी मट्याङ्ग्राले जीवन र जगतमा ‘सत्यम् शिवम् र सुन्दरम्’ को प्राप्ती गरेको छ ।

समग्रमा भन्नुपर्दा रोहितप्रसाद ज्ञवालीको त्रिपदीय काव्य उपविधा गुलेली कृति लक्ष्य सरल र सुपाच्य रहेकोले महनीय छ । विषयवस्तुको गहनता मननीय छ । कृति सबैका लागि प्रेक्षणीय रहेको छ । सैद्धान्तिक विमर्श सहित उपस्थित कृति सङ्ग्रहणीय छ । नेपाली लघुतम काव्यको इतिहासमा अनुसन्धानीय रहनुका साथै वाङ्गमगको आकाशमा विलोकनीय रहेको छ। हरेक स्रष्टा र द्य्रष्टा सहित काव्य गुरु र चेलाहरुका लागि कृति उदाहरणीय छ । लघुतम काव्य पारखीहरूका लागि आस्वादनीय रहनुका साथै नेपाली साहित्यमा नवीनतम प्रयोग र परिकल्पनाको जनसंख्यामा लेखक प्रशंसनीय पात्रको रुपमा उपस्थित हुनुभएको छ । कविता साहित्यमा नवीनतम प्रयोग र पृथक प्रस्तुतिका साथ अवतरण भएको कृति गुलेली काव्य लक्ष्य शोध, खोज, सोंच, ओज र बोधपूर्णरुपले व्यापिकरण हुँदै जानेछ र साहित्यकार रोहितप्रसाद ज्ञवाली परिकल्पनाकारको रुपमा प्रतिष्ठापित हुनुहुनेछ । बधाई ‘शुभकामना’ परिकल्पनाकारको बाँकी जीवन गुलेली काव्यमय बनिरहोस् ‘शुभ यात्रा ’( लेखक स्रष्टा समीक्षक र शीत त्रिशूलका परिकल्पनाकार हुन् )

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update