पाल्पा, देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, कपिलवस्तु, काठमाडौं, मोरङ, झापा, सुनसरी, भक्तपुरका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १५ जना पक्राउ परेका हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय प्रेम बहादुर डाँगी र सोही उपमहानगरपालिका–८ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङकै लमही नगरपालिका–५ सुनखोली गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित गढवा गाउँपालिका–६ गढवा बस्ने भारत घर भएका २३ वर्षीय नसिव अहमदलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नगद ६ हजार रूपैयाँ सहित शिवराज नगरपालिका–९ बानियाभार बस्ने २२ वर्षीय अर्जुन सुनार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बहादुरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।काठमाडौंको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस्तै मोरङ, पथरी शनिश्चरे नगरपालिका–१० संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय घनश्याम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५५ मिलिग्राम सहित भद्रपुर नगरपालिका–७ बस्ने २३ वर्षीय सुबास राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट अवैध लागूऔषधसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै भक्तपुरको सूर्यबिनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट धादिङ धुनीबेशी नगरपालिका–२ घर भएका २९ वर्षीय सुरज लुइटेललाई प्रहरीले पक्राउ गरेको छ । यस्तै सुनसरकै धरान उपमहानगरपालिका–१६ स्वामीचोक बस्ने २१ वर्षीय विदुर कार्कीलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।


