Shittalpati
भन्सार छली गर्ने कार्य रोक

पछिल्लो समयमा भन्सार छली गर्ने क्रम बढेको छ । अहिले दैनिक रूपमा भन्सार नाकाहरूबाट छुटेका ट्रक समातिने र त्यसमा तिर्नुपर्ने राजस्व नतिरिएको पाइन्छ । पछिल्ला केही दिनयता पाल्पामा भारतीय बजारबाट भन्सार छलेर मल ल्याउने क्रम बढेको छ । गत शनिबार मात्र भारतीय बजारबाट भन्सार छलेर ल्याउँदै गरेको ३ सय ७२ बोरा अवैध युरिया मल पाल्पा प्रहरीले बरामद गर्यो । उक्त परिमाणको मल बरामद गरेको केही समयमै प्रहरीले मल भण्डारण गरी राखेको गोदाम नै फेला पा¥यो । रामपुर क्षेत्रमा धमाधम अवैध मल भित्रिएको सुइँको पाएको प्रहरीले खोज्दै जाँदा जिल्लाको रामपुर नगरपालिका–५ बेझाडको एक सटरमा मल भण्डारण गरिराखेको फेला पारेको हो । त्यो मल पनि भन्सार छली ल्याइएको थियो । त्यहाँ प्रहरीले भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक ६ सय ५० बोरा युरिया मल फेला पारेको छ । यी केही प्रतिनिधि घटना मात्र हुन् । भन्सार छलेर दैनिक रुपमा सयौंको संख्यामा भन्सार छली हुँदासम्म सरकार र सम्बन्धित निकाय मौन हुने गर्दछन् । राजस्व छली महाअपराध हो । आफ्नै देशलाई ठगेर कमाइएको पैसाले त्यस्ता व्यक्तिको अतीत हुने निश्चित छ । तर, पनि राजस्वमा हुने छली रोकिनुको साटो बढ्नु अझै दुर्भाग्यपूर्ण छ ।

यस्ता गतिविधिमाथि छानविन र कारवाही हुन सकिरहेको छैन् । यसलाई रोक्न अहिलेसम्म कुनै विशेष पहल हुन नसक्नु दुखद् हो । पछिल्ला वर्षहरूमा यस्ता असमान्य बेलाबाहेक सामान्य अवस्थामा पनि चोरी–पैठारीका घटना नियन्त्रणमा आउन सकेका छैनन् । राजस्व छलीमा कर्मचारीको समेत मिलेमतो हुने गरेको छ । खासगरी रसुवा, विराटनगर, भैरहवाजस्ता ठूला भन्सार नाकाहरूमा यस्तो गडबडी भएको फेला परेको छ । मुलुकका प्रमुख भन्सार नाकाबाट छुटेका ट्रकमै राजस्व छली हुनु गम्भीर विषय हो । राजस्व छली कुनै पनि हिसाबमा क्षमा दिने विषय होइन । पछिल्ला वर्षहरूमा नक्कली भ्याट बिल प्रयोग बढ्नुमा पनि भन्सार छली वा न्यून बिजकीकरणको ठूलो हात छ । त्यसैले चौतर्फी असर गर्ने भन्सार छली नियन्त्रणमा सरकार अत्यन्त गम्भीर बन्न आवश्यक छ । यसर्थ भन्सार छल्ने र छल्न सहयोग गर्ने जो कोहीलाई कडा भन्दा कडा कानुनी कारवाही गरी भन्सार छली गर्ने कार्यलाई रोक्न जरुरी छ ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update