Shittalpati
ख्याल गरौं है उखरमाउलो गर्मीमा !

केही दिनयता देशका विभिन्न स्थानहरूमा उखरमायलो गर्मी बढेको छ । यसै पनि वैशाख, जेठ महिना गर्मी हुने महिना हो । तर यस पटक भने वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय भई तापक्रम उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा अचाक्ली गर्मी बढेको हो । तराईमा अध्याधिक बढेको गर्मी पाल्पासहित पहाडी जिल्लामा समेत देखिएको छ ।

तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लू चलिरहेको छ । गर्मी बढेसँगै जल तथा मौसम विज्ञान विभागले सिङ्गो मधेश प्रदेश तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका तराईका कतिपय क्षेत्रलाई तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ । यस बाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन भनिएको छ । विभागले पहाडका उपत्यका र खोचमा पनि तापक्रम क्रमशः बढ्ने आकलन गरेको छ । यस्तो अवस्थामा सबैले उच्च सर्तकता अपनाउन आवश्यक छ । तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउनुु राम्रो मानिन्छ । तातो हावा तथा लूका कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोश हुने, बान्ता हुने लगायत जोखिम निम्तन सक्ने भएकाले समयमै सर्तक हुनुु अहिलेको आवश्यकता हो ।

गर्मी मौसममा तापमान बढ्दै जाँदा लु को खतरा पनि बढ्दै जान्छ । तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, हृदयको गति तीव्र हुने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनुका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ । प्रचण्ड गर्मीका कारण खासगरी दिउँसो हिँडडुललगायत घरबाहिरका गतिविधिमा असर परिरहेको छ । यस्तो अवस्थामा तातो हावा वा लुको असर जुनसुकै उमेर समूहलाई हुन सक्ने र अझै बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले आवश्यक सतर्कता अपनाउन जरूरी देखिन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update