मंसिर ४ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मत परिणाम आएसँगै सरकार बनाउने खेल सुरु भएको छ । सरकार कस्को र कस्तो बन्ला भन्ने आम नागरिकको जिज्ञासा अहिले सर्वत्र छ । यो हुनु स्वाभाविक पनि हो । सबैले उत्सुकतापूर्वक यसलाई हेरिरहेका छन् । केहीले नयाँ पुस्तालाई चाहेका छन् भने केहीले उही पुरानै पुस्ताको वकालत गरिरहेका छन् । उही यथास्थितिवादी शक्तिहरूलाई मात्र कति अगाडि ल्याउने भन्ने चाहनेहरूले नयाँका लागि लबिङ गरिरहेका छन् । जुन पार्टीको भए पनि नयाँ पुस्ताको प्रधानमन्त्री बनिदिए हुन्थ्यो भन्ने सोच धेरैको छ । यसलाई सकरात्मक रुपमा लिनुपर्दछ । देशको विकास र समृद्धि पुराना पुस्ताबाट हुन नसकेपछि अहिले नयाँ पुस्ताको चाहाना राख्नुलाई उचित मान्न सकिन्छ । यस पटकको निर्वाचन परिणामले पनि नयाँ पुस्तालाई नै अगाडि बढ्ने संकेत गरेको देखिन्छ । त्यसैले पनि अबको सरकारको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्छ । नयाँ र कर्मशील व्यक्तित्वलाई मूलुकको नेतृत्व दिने कामलाई पहिलो प्राथमिकतामा राखिएन भने मुलुकले नयाँ मोड लिन सक्दैन । युवा अनि समग्र देशको विकासमा लाग्ने हुटहुटी भएकालाई पाखा पारेर पुरानै अनुहारलाई पुनरावृति गर्ने कार्यलाई रोक्नुपर्छ । अन्यथा हामीले परिकल्पना गरेको अग्रगमनसँगै समुन्नतिका सबैबाटाहरु बन्द हुन सक्ने खतरा बढेर जान्छ ।
अब बन्ने नयाँ सरकार जतिसुकै र जुनसुकै दलहरुको सहभागितामा होस् या नहोस् जे होस, तर नयाँ अनुहारहरु संसदमा छिरेका छन् । उनीहरुको हुटहुटीलाई सम्बोधन गरेर अगाडि बढ्ने विषयमा पाका पुस्ताका नेताहरु नयाँ सोंचका साथ अगाडि बढ्ने वातावरण बन्नुपर्छ भन्ने कुरा नै पहिलो प्राथमिकता हो । एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी जो सुकैले सरकारको नेतृत्व गर्लान् तर त्यसको नेतृत्व गर्ने मौका नयाँ पात्रलाई दिनुको विकल्प छैन । मुलुकले युवा खोजेको छ । युवाको जोस् र पाकापुस्ताको अनुभवलाई मिश्रण गरेर नयाँ मुलुक निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बेला आएको भन्ने कुराको आभाष हुन नसकेको अवस्थालाई यस पटक क्रम भंग गर्नुको विकल्प नै छैन । कुनै पनि पार्टीलाई एकलौटी बहुमत नआएको सन्दर्भमा एकलौटी सरकार पनि बन्न नसक्ने अवस्थाको मूल्याङ्कन गरी युगको माग बुझेर सरकारको नेतृत्व केही युवाका हातमा आयो भने मात्र मुलुकले जनताको विश्वास जित्न सक्छ । अन्यथा सधैंभरी समस्याहरुका पहाड बोकेर अगाडि बढ्न सक्ने अवस्था रहँदैन । मुलुकको समग्र विकासमा टेवा दिनका लागि यो नै अन्तिम विकल्प हुने छ । अन्यथा मुलुकले कोल्टे फेर्ने अवसर पाउदैन । अब हामीले हाम्रा सन्ततिलाई अस्त व्यस्त नबनाउनका लागि यो नै अन्तिम विकल्प हुनेछ । यसर्थ नयाँ सोंच र भिजन भएका नयाँ पुस्ताको सरकार बन्न सकोस् ।