नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । हिमाल, पहाड, तराई, वनजंगल, नदी–नाला, जैविक विविधता र दुर्लभ वन्यजन्तुले नेपाललाई विश्वमै विशेष पहिचान दिएका छन् । तर पछिल्ला वर्षहरूमा प्रकृति संरक्षणको क्षेत्रमा गम्भीर चुनौतीहरू देखा परिरहेका छन् । विकासको नाममा भइरहेको अव्यवस्थित दोहन, बढ्दो वातावरणीय प्रदूषण, वन विनाश तथा जलवायु परिवर्तनका असरले नेपालको प्राकृतिक सन्तुलन कमजोर बन्दै गएको छ ।
विशेषगरी सडक विस्तार, जथाभावी खानी उत्खनन, नदीजन्य पदार्थको अत्यधिक दोहन तथा अव्यवस्थित शहरीकरणले वातावरणीय संकट बढाएको छ । कतिपय स्थानमा विकास निर्माणका काम वातावरणीय प्रभाव मूल्यांकनलाई बेवास्ता गरेर सञ्चालन गरिँदा प्राकृतिक संरचना नै जोखिममा परेका छन् । वन क्षेत्र घट्दै जाँदा वन्यजन्तुको बासस्थान नष्ट भइरहेको छ भने मानव–वन्यजन्तु द्वन्द्व पनि बढ्दो अवस्थामा छ । जलवायु परिवर्तन अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ । हिमालमा हिउँ पग्लिने गति तीव्र हुँदै गएको छ भने अनियमित वर्षा, बाढी, पहिरो र खडेरीका घटनाले जनजीवन प्रभावित बनाइरहेका छन् । नेपालले विश्व प्रदूषणमा न्यून योगदान गरे पनि यसको असर भने अत्यधिक भोगिरहेको अवस्था छ । यसले कृषि, पर्यटन र जनस्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेको छ ।
प्रकृति संरक्षणका लागि बनेका नीति तथा कानुन प्रभावकारी कार्यान्वयन हुन नसक्नु पनि अर्को समस्या हो । संरक्षणका नाममा योजना बन्ने तर व्यवहारमा कमजोर अनुगमन हुने प्रवृत्तिले अपेक्षित परिणाम आउन सकेको छैन् । स्थानीय तहदेखि केन्द्रसम्म समन्वयको अभाव, जनचेतनाको कमी तथा राजनीतिक प्राथमिकतामा वातावरणीय विषय पछाडी पर्नु चिन्ताजनक पक्ष हुन् ।
अब प्रकृति संरक्षणलाई केवल वातावरणविद्को चासोको विषय मात्र मान्न मिल्दैन । यो मानव अस्तित्व र भावी पुस्ताको सुरक्षासँग प्रत्यक्ष जोडिएको सवाल हो । त्यसैले दिगो विकासको अवधारणालाई व्यवहारमा उतार्दै प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्नुपर्छ । समुदायको सहभागिता, प्रभावकारी कानुन कार्यान्वयन तथा वातावरणमैत्री विकास नीति अपनाउन सके मात्र नेपालले आफ्नो प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई दीर्घकालसम्म जोगाउन सक्नेछ ।

