वर्षायाम सुरु भएसँगै जंगली च्याउ उम्रिन थालेका छन् । हरेक वर्ष यही समयमा देशका विभिन्न ठाउँहरुमा जंगली च्याउ खाएर यति जनाको ज्यान गयो, यति विरामी भए भन्ने समाचारहरु आउने गर्छन् । यस पटक पनि पाल्पामा जंगलबाट ल्याएको विषालु च्याउ खाएर तीन जनाको ज्यान गएको छ भने दर्जा भन्दा बढी विरामी परेका छन् । पाल्पाको रम्भा गाउँपालिका–५ फलकुन की ६६ वर्षीया विनिमाया कामु मगर, सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चा र तानसेन नगरपालिका–८, मदनपोखरा कोकलका ८ वर्षीय अनुप रानाको मृत्यु भएको छ । जङ्गली च्याउ खाएर विरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको थियो । तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १३ जना विरामी परेका छन् । उनीहरुको अहिले उपचार भइरहेको छ ।
जङ्गली च्याउ खाएर अकालमा ज्यान गुमाउनु एउटा परिवारको पीडा मात्र होइन समाजकै सामूहिक क्षति हो । विषालु च्याउ थोरै मात्रामा सेवन गर्दा पनि कलेजो, मिर्गौला र मस्तिष्कमा गम्भीर असर गर्छ । कतिपय अवस्थामा सधैँ खाइरहने च्याउ पनि एकैपटक धेरै सेवन गर्दा विषाक्त हुने घटना देखिएको छ । खान हुने र नहुने च्याउ उस्तै देखिने भएकाले पहिचान गर्न कठिन हुन्छ । यही कठिनाइका कारण ग्रामीण समुदायलाई बारम्बार जोखिममा पार्ने गरेको छ । च्याउबारे परम्परागत मान्यता र भ्रम पनि मृत्युको कारण बनेका छन् । यो अत्यन्त दुखको कुरा हो ।
विशेष गरी जंगली च्याउ विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्दछ । मानिसले च्याउ पहिचान नै नगरी खाँदा मृत्युु समेत हुने गरेका थुप्रै घटना छन् । पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । हरेक वर्ष नेपालमा विषालु च्याउ खाँदा बिरामी पर्ने र ज्यानसमेत गुमाउने घटना दोहोरिरहनु अत्यन्त चिन्ताको विषय बनेको छ ।
धेरै मानिसले अनुभव, अनुमान वा अरूले खाएको आधारमा च्याउ सुरक्षित छ भन्ने विश्वास गर्छन् । तर च्याउको बाहिरी रंग, आकार वा गन्ध हेरेर मात्र विषालु वा अविषालु छुट्याउन सम्भव हुँदैन । केही विषालु च्याउ सामान्य खान योग्य च्याउसरी नै देखिने भएकाले भ्रम पैदा हुन्छ । यस्ता च्याउ सेवन गर्दा वान्ता, पखाला, पेट दुख्ने, कलेजो र मिर्गौलामा असर पर्ने तथा ज्यानसमेत जाने खतरा रहन्छ । विशेषगरी ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव, गरिबी तथा प्राकृतिक रूपमा पाइने खानेकुराप्रतिको निर्भरता बढी भएकाले जोखिम अझ बढेको छ । यस समस्याको समाधानका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि आवश्यक छ । स्थानीय तह, स्वास्थ्य संस्था र सञ्चारमाध्यमले विषालु च्याउको जोखिमबारे नियमित सूचना प्रवाह गर्नुपर्छ । विद्यालय तहदेखि नै सुरक्षित खाद्यबारे शिक्षा दिनु जरुरी छ । तसर्थ विषालु च्याउबाट हुने दुर्घटना रोक्न सचेतना, सावधानी र जिम्मेवार व्यवहार आजको आवश्यकता हो ।

