पाल्पा, आसन्न मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि मत माग्दै घरलैलो अभियानमा सक्रिय रहँदै आएका गैरे आइतबार काँग्रेस प्रवेश गरेका हुन् ।
लामो समय राप्रपाको राजनीतिमा सक्रिय हुँदै आएका उनले एक विज्ञप्ती जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाली काँग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको उनले बताए । ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उम्मेदवारी निष्क्रिय रहेको र काँग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ’ विज्ञप्तीमा भनिएको छ । गैरेलाई आजै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले काँग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए । सभापति श्रेष्ठले देशको विकास र जनताको सुख समृद्धिका लागि काम गर्ने पार्टी नै नेपाली काँग्रेस भएकाले यसै पार्टीको झण्डामुनि रहेर जनताको सेवा गर्न गैरेले लिएको निर्णय सही भएको बताए । उनले पछिल्लो समय नेपाली काँग्रेसको आदर्श,सिद्धान्त, नीति तथा कार्यक्रमबाट आकर्षित भएर काँग्रेसमा प्रवेश गर्नेको लर्को लागेको बताए ।