Shittalpati
गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म

पाल्पा, नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन् । सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ठूलो मतान्तरले पछि पार्दै थापा पार्टी सभापतिमा विजयी भएका हुन् ।

शुक्रबार भएको निर्वाचनको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको थियो । मतगणना सम्पन्न भएपछि महाधिवेशनको मिडिया सेन्टरका संयोजक जीवन भण्डारीले थापा सभापतिमा निर्वाचित भएको जानकारी दिएका हुन् । अन्तिम मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका छन् । निर्वाचनमा ५४ मत बदर भएको थियो । कुल ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए । 
विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्म
काँग्रेस सभापतिमा  विजयी गगन थापाको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । विसं २०३३ साउन ४ गते सोलुखुम्बुमा जन्मिएका थापा २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदा कक्षा ९ मा अध्ययनरत थिए । १४ वर्षको उमेरमै बाल कांग्रेसका रूपमा आन्दोलनमा होमिएका उनी त्यसपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत संगठित राजनीतिमा सक्रिय भए । विसं २०५१ मा त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य निर्वाचित भएका थापा २०५३ मा सचिव र २०५५ मा सभापति बने । विद्यार्थी राजनीतिमा निरन्तर उकालो लागेका उनी २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष तथा २०५९ देखि २०६१ सम्म महामन्त्री बने । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि थापा राजतन्त्रविरोधी आन्दोलनमा सक्रिय भए । नेपाली कांग्रेसभित्र गणतन्त्रको मुद्दाले संस्थागत स्थान पाउनुअघि नै उनले गणतन्त्र र संविधानसभाको पक्षमा आवाज उठाउँदै आएका थिए । विसं २०६२÷०६३ को जनआन्दोलनमा अग्रपंक्तिमा देखिएका थापा आफ्ना प्रखर भाषण र स्पष्ट राजनीतिक अभिव्यक्तिका कारण राष्ट्रिय चर्चामा आए । राजाको प्रत्यक्ष शासनको विरोध गर्दा उनले पटक–पटक पक्राउ पर्नुका साथै राजद्रोहको मुद्दासमेत खेप्नुपरेको थियो । गणतन्त्र र राजनीतिक परिवर्तनका पक्षमा लिएको अडानले उनलाई युवा पुस्तामाझ परिचित र प्रभावशाली नेताका रूपमा स्थापित गर्‍यो ।
संसदीय राजनीतिमा स्थापित पहिचान
विसं २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित हुँदै थापाले संसदीय राजनीतिमा प्रवेश गरे । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका उनी संविधान निर्माण प्रक्रियामा सक्रिय रहे । विसं २०७१ मा संसद्को कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा २०७३ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भए । करिब नौ महिना स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाल्दा उनले स्वास्थ्य क्षेत्रको सुधार र संघीय संरचनाअनुसार स्वास्थ्य सेवाको व्यवस्थापनका विषयमा विभिन्न पहल गरेका थिए । विसं २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थापाले संसद्मा सुशासन, सार्वजनिक सेवा, जनजीविका र सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै आएका छन् । संसद्मा सरकारलाई जवाफदेही बनाउनुपर्ने विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको पहिचान बनेको छ ।
कांग्रेसभित्र सुधारको आवाज
संसदीय राजनीतिसँगै थापाले नेपाली कांग्रेसभित्र पनि संगठनात्मक सुधार र नेतृत्व परिवर्तनको मुद्दा निरन्तर उठाउँदै आएका छन् । विसं २०६७ मा सम्पन्न पार्टीको १२ औँ महाधिवेशनबाट अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसयता पार्टीको नेतृत्व शैली र कार्यपद्धतिमा सुधार हुनुपर्ने पक्षमा उभिँदै आएका थिए ।

१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थापा निर्वाचित हुन सकेनन् । तर, विसं २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनमा भने उनी महामन्त्री पदमा निर्वाचित भए । महामन्त्री बनेपछि पनि उनले पार्टीलाई समयानुकूल बनाउन नेतृत्वको कार्यशैली, संगठन सञ्चालन र राजनीतिक कार्यदिशामा परिवर्तन आवश्यक रहेको बताउँदै आएका थिए । पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको बहसलाई अघि बढाउने क्रममा थापाले महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसँग सहकार्य गरे । यही राजनीतिक प्रक्रियाको एउटा महत्वपूर्ण कडीका रूपमा विशेष महाधिवेशनलाई हेरिएको थियो, जहाँबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।
नेतृत्व परिवर्तनसँगै चुनौती पनि
थापाको सभापतिमा निर्वाचित हुनु कांग्रेसका लागि नेतृत्व परिवर्तनको महत्वपूर्ण घटनाका रूपमा देखिएको छ । तर, उनको नेतृत्वको आगामी बाटो सहज भने छैन । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विभाजन, आधिकारिकतासम्बन्धी विवाद र फरक समूहका गतिविधिले कांग्रेसको आन्तरिक एकता प्रमुख चुनौतीका रूपमा रहेको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो । अदालतले गगन थापा नेतृत्वको पक्षलाई आधिकारिकता प्रदान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि गर्दै आएको छ । देउवा पक्षले संस्थापन पक्षको महाधिवेशन बहिष्कार गर्दै छुट्टै १५औँ महाधिवेशन गर्ने मिति तय गरेको जनाइएको छ । यद्यपि, अदालतको फैसलासम्बन्धी पुनरावलोकनको विषयसमेत टुंगिन बाँकी रहेको अवस्थामा पार्टीभित्रको विवादले कस्तो रूप लिन्छ भन्ने प्रश्न कायमै छ । यस्तो परिस्थितिमा थापासामु पार्टीलाई एकताबद्ध बनाउने, असन्तुष्ट समूहलाई समेट्ने, संगठनलाई बलियो बनाउने र परिवर्तनको पक्षमा व्यक्त अपेक्षालाई व्यवहारमा उतार्ने जिम्मेवारी छ ।

नेतृत्व परिवर्तनको नाराले प्राप्त गरेको समर्थनलाई ठोस नतिजामा रूपान्तरण गर्नु उनको नेतृत्वको महत्वपूर्ण परीक्षा हुनेछ । लामो समय विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म आइपुगेका थापाले अब कांग्रेसलाई कस्तो दिशा दिन्छन् भन्ने चासो पार्टीभित्र मात्र सीमित छैन । सुशासन, राजनीतिक जवाफदेहिता र पुस्तान्तरणको मुद्दा उठाउँदै आएका उनीबाट कार्यकर्ता र आम नागरिकले गर्ने अपेक्षा पनि उत्तिकै महत्वपूर्ण छ । भारी मतान्तरसहितको विजयले थापालाई पार्टी सञ्चालनका लागि बलियो राजनीतिक आधार दिएको छ । तर, मतपरिणामले दिएको समर्थनलाई संगठनात्मक एकता, नीतिगत स्पष्टता र प्रभावकारी कार्यसम्पादनमा बदल्न सक्नु नै उनको नेतृत्वको वास्तविक सफलता मापन गर्ने आधार बन्नेछ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update