काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा प्रमुख राजनीतिक दलका नेताहरूले लोकतन्त्रलाई थप खुला, समावेशी र उत्तरदायी बनाउँदै मुलुकको आर्थिक समृद्धि तथा राजनीतिक स्थायित्वका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हन् ।
नेपाली कांग्रेस सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउँदै ‘खुलामञ्च’लाई खुला संवादको प्रपतकका रूपमा व्याख्या गरे । संसद र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई नै खुलामञ्च आवश्यक रहेको उनको भनाइ थियो । रास्वपा सभापति रवि लामिछानेले कांग्रेसले निष्ठा र अवसरको राजनीति गरेको भए आफू पनि कांग्रेसमै हुन सक्ने टिप्पणी गर्दै पुराना दलले आफूलाई समयअनुकूल सुधार गर्नुपर्ने बताए । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गगन थापामाथि देश नेतृत्व गर्ने ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा अल्झिँदा आर्थिक समृद्धि ओझेलमा परेको भन्दै अब १०–२० वर्षको स्पष्ट राष्ट्रिय विकास योजना बनाउनुपर्ने बताए । नयाँ पुस्तालाई विश्वास गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्ने उनको जोड थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, राष्ट्रियता, विकास र समृद्धिका लागि कांग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको बताए ।
जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र लोकतन्त्रको चुनौती सामना गर्न दलहरू एक ठाउँमा उभिनुपर्ने उनको धारणा थियो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संवाद, सद्भाव र एकताको आवश्यकता औँल्याउँदै देशभित्र र विदेशमा रहेका नेपालीलाई जोड्ने नीति आवश्यक रहेको बताए । महामन्त्री गुरुराज घिमिरेले कांग्रेसलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने प्रतिबद्धता जनाए भने उपसभापति पुष्पा भुसालले महाधिवेशनलाई पद व्यवस्थापनभन्दा आत्मसमीक्षा, पुनर्जागरण र पुनर्निर्माणको अवसर बनाउनुपर्ने बताइन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले गणतन्त्रपछि पनि थारू समुदायको धर्म, संस्कृति र पहिचानमाथि प्रश्न उठेको भन्दै अधिकारको प्रभावकारी कार्यान्वयन माग गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजादेखि जेन–जी पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताए । जसपा नेता शरतसिंह भण्डारीले ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार्य नहुने भन्दै संविधानलाई थप समावेशी बनाउन संशोधन आवश्यक रहेको धारणा राखे ।
श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले सत्ता कति समय चलाउनेभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्नेमा राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने बताए । खुलामञ्चमा भएको कांग्रेस महाधिवेशनले फरक राजनीतिक धारका नेताहरूलाई एउटै मञ्चमा उभ्याउँदै संवाद, पुस्तान्तरण, समावेशिता, लोकतान्त्रिक खुलापन र राष्ट्रिय सहकार्यलाई आगामी राजनीतिको साझा एजेन्डाका रूपमा अघि सारेको छ । अधिवेशन दुई दिन सम्म चल्ने छ ।


