काठमाडौं, नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आजदेखि काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा हुँदै छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको काँग्रेसका प्रवक्ता तथा १५ औँ महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।
कांग्रेसले १५औँ महाधिवेशनको मूल मन्त्र ‘नयाँ कांग्रेस, नयाँ संकल्प’ तय गरेको छ । चालिसेका अनुसार महाधिवेशनका छलफल सत्रमा नयाँ संकल्पका विषयमा गहन छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ । महाधिवेशनमा ७ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने छन् । प्रवक्ता चालिसेले देशभरका ७७ जिल्ला र प्रवासबाट समेत गरेर ७ हजार ५ सय बढी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएका हुन् । यो संख्या कांग्रेस महाधिवेशनको इतिहासमा अहिलेसम्मकै बढी उनको भनाइ छ । ‘यो संख्या नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा धेरै हो । यति संख्याको सहभागीता अहिलेसम्म भएको छैन,’ प्रवक्ता चालिसेले भने । यस्तै, प्रवक्ता चालिसिले महाधिवेशनका लागि खाना, खाजा र पार्किङ लगायत व्यवस्थापनको काम समेत लगभग सम्पन्न भएको जानकारी दिएका छन् । भोटकोशी कारण देश शोकमा रहेको उल्लेख गर्दै उनले कुनै तामझाम बिना सामान्य ढंगले पार्टीको महाधिवेशन सम्पन्न गरिने उल्लेख गरे । प्रवक्ता चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको जानकारी दिए ।
यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन गर्न उनको विश्वास छ । उनले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने बताए । विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उनको भनाइ छ । उनका अनुसार असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुनेछ ।
आइतबारको उद्घाटन सत्रपछि सुरु हुने बन्द सत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षको लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्नेछन् । प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीनवटा हलमा छलफल गरिनेछ । प्रत्येक हलमा डिजिटल बोर्डको व्यवस्था गरिने भएकाले सहभागीहरूले प्रस्तुत प्रतिवेदन हेर्न तथा सुन्न सक्ने कांग्रेसले जनाएको छ ।


