रामचन्द्र रायमाझी
पाल्पा, मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छाएको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद् पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । यतिबेला निर्वाचनको माहोलले पाल्पा पुरै तातेको छ । विभिन्न राजनीतिक दल, तिनका उम्मेदवार, कार्यकर्ता र स्वतन्त्रहरु मत माग्दै सर्वसाधारणको घरदैलो चाहर्न थालेको एक महिना पुग्न थालिसकेको छ । मत माग्न घरघरै हात जोड्दै र खुट्टा ढोग्दै उम्मेदवार घरदैलोमा पुगेका छन् । त्यति मात्र होइन उम्मेदवारहरू खेतबारीमा समेत पुगेर मत मागिरहेका छन् । सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा रहेको पाल्पा क्षेत्र नं. २ मा साना दल र स्वतन्त्र उम्मेदवारका कारण जित्न भने सहज छैन । पछिल्लो समय साना दल र स्वतन्त्रतर्फ मतदाताहरुको आकर्षण बढेकाले यहाँका ठूला दललाई चुनाव जित्न निकै सकस देखिएको छ ।
पाल्पा क्षेत्र नं २ मा सांसदको ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजावादीका नेता तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका नेता ठाकुर गैरे मानिए पनि दुवै जना साना दल र स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन् । छैटौं पटक उम्मेदवार बनेका पूर्व उद्योगमन्त्री पाण्डेय र संसदीय राजनीतिमा पहिलोपटक आएका गैरेबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । पाण्डेय र गैरेसहित यो क्षेत्रमा १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । जस मध्ये ३ जना स्वतन्त्र हुन् । पाण्डेय र गैरेबीचको प्रतिस्पर्धामा साना दल विशेषतः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेसन र स्वतन्त्र उम्मेदवारहरुले दिने चुनौती निर्णायक मानिएको छ । यहाँ पाण्डेय र गैरेको रामै्र पकड मानिन्छ । तर केही साना दल र स्वतन्त्र उम्मेदवारका कारण भने चुनौति थपिदिएको काँग्रेसका स्थानीय नेता–कार्यकर्ता बताउँछन् । यहाँ रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ पुस्ताको आकर्षण बढेकाले ठूला दललाई निर्वाचन जित्नका लागि सकस हुने धेरैले अांकल गर्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा सोमप्रसाद (सुमन) गैरेलाई अगाडि सारेको छ । अहिले उनी मतदाताहरुसँग भोट माग्नमै व्यस्त छन् ।
गैरेले आफ्नो जित सुनिश्चित रहेको दाबी गदै आएका छन् । ‘स्वतन्त्र पार्टीप्रतिको देशभरको आकर्षण, ठूला पार्टीका असन्तुष्ट मत, युवा र नयाँ अनुहार खोजिरहेका मतदाताका कारण म उत्साहित छु,’ उनले भने । गैरेले संसदीय चुनावले सरकार तथा नीति–नियम बनाउने भएकाले स्वतन्त्रहरू एकजुट हुनुको विकल्प नभएको बताए । अहिले एकजुट हुने सबैको विचार, आस्था र सिद्धान्त फरक भए पनि तत्कालीन रूपमा पुराना दललाई चुनौती दिन स्वतन्त्रहरू एक ठाउँमा आउनुको विकल्प नभएको गैरेको भनाई छ । गैरेको मतका कारण यहाँका दुुई ठूला दलका प्रतिस्पर्धीलाई सहज नभएको धेरैको आंकलन छ । यहाँबाट तीन स्वतन्त उम्मेदवार समेत छन् । उपेन्द्रराज गहिरे, जीवलाल सुवेदी, र केशरबहादुर आले स्वतन्त्र उम्मेदवार हुन् । उनीहरु पनि अहिले आ–आफ्ना एजेण्डा सहित चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारी दिएका जीवलाल सुवेदीले समृद्ध समाज निर्माण गर्ने संकल्प सहित चुनावी मैदानमा छन् । लामो समय पत्रकारिता क्षेत्रमा लागेका उनले पनि ठूला दलको मत तान्न सक्ने आंकलन गरिएको छ । अर्का स्वतन्त्र उमेदवार उपेन्द्रराज गहिरेले पनि आफू विकासको एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
गैरेले नागरिकको चाहना अनुसार विकासका एजेण्डा बोकेर नागरिकसँग मत माग्न घरदैलो गरिरहेका छन् । उता साना दल नेपाल आमा पार्टीबाट तारा प्रसाद खत्री, मंगोल नेशनल अर्गनाइजेशनबाट मन बहादुर दर्लामी, जनता समाजवादी पार्टीबाट दुरपता सोमै, नेपाल मजदुर किसान पार्टीबाट शिव सुन्दर दुख्या, राष्ट्रिय जनमुक्ति पार्टीबाट हुमबहादुर थापा मगर, राप्रपा नेपालबाट खडानन्द गैरेले चुनावी मैदानमा छन् । २०७४ मा यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट सोमप्रसाद पाण्डेय नै उम्मेदवार थिए । कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरी उनी विजयी भएका हुन् । यस पटक २०७४ को स्थिति यस क्षेत्रमा छैन । यसपालि कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादी एकै ठाउँमा छन् । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा भने एमाले अगाडि छ । एमालेले क्षेत्र २ मा स्थानीय तह निर्वाचनमा ३० हजार ५ सय ३६ मत पाएको थियो । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३ सय १३ र एकीकृत समाजवादीले ४ सय ३३ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ । स्थानीय निर्वाचनको मत परिणामका आधारमा गैरे अगाडि देखिए पनि नयाँ, युवा र स्वतन्त्र उम्मेदवारतर्फ सर्वसाधारणको आर्कषण रहेकाले उनलाई जित निकाल्न सहज भने देखिँदैन ।
‘स्थानीय निर्वाचनमा पाएको मत मेरो चुनाव जित्ने आधार हो,’ गैरेले भने, ‘कांग्रेसको उम्मेदवार छैनन्, त्यसैले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने उम्मेदवार मलाई मानेका छन् ।’ गठबन्धनका साझा उम्मेदवार पाण्डेय आफ्नो विरासतका कारण पुनः विजयी हुने विश्वास व्यक्त गर्छन्। ‘पार्टीहरूप्रतिको वितृष्णाका रूपमा स्वतन्त्र उम्मेदवार आएका हुन् तर दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले केही गर्न सक्दैन भन्ने कुरा पनि मतदाताले बुझेका छन्,’ उनले भने । यो क्षेत्रमा १ लाख ५ हजार २ सय ९३ मतदाता रहेका छन् ।