हरेक चाडपर्वको आ–आफ्नै महिमा र विशेषता रहेको हुन्छ । अन्य चाडपर्व र पूजाआजा जस्तै विश्वकर्मा पूजा पनि एक हो । यसको पनि आफ्नै सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व र महिमा रहेको छ । आश्विन महिनाको कृष्णपक्षको संक्रान्ति तिथिमा पर्ने यो पर्व हरेक वर्ष असोज १ गते विश्वकर्मा बाबाको पूजा गरी मनाइन्छ । आज नेपालमा धुमधामका साथ विश्वकर्मा बाबाको पूजा गरिदैंछ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथ भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । तर तीनै धातुजन्य वस्तुका काम गर्ने विश्वकर्मा र शिल्पी समुदायको सम्मान अहिलेसम्म हुन सकेको छैन । उनीहरुले नै बनाएको सामान र वस्तुलाई पूजा गर्ने तर त्यही बनाउने व्यक्तिहरुलाई विभेद गरिंदा नेपालको यो संस्कार र संस्कृति विरोधाभाषपूर्ण देखिन्छ । यसले सामाजिक विकासमा ठूलो समस्या सिर्जना गरेको छ ।
कामको आधारमा गरिएको विभाजन पछि जातीय र विभेदको आधार बनेको सबैले स्वीकार गरेको विषय हो । छुवाछुत हटाउनुपर्छ भन्ने चर्को नारा लाग्न थालेको धेरै वर्ष पनि बितिसक्यो । त्यति मात्र होइन, नेपालमा कानुनी रुपमा रुपमा जातीय छुवाछुतको अन्त्य भएको पनि धेरै भैसकेको छ । तर त्यो अहिलेसम्म व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन । हिन्दु धर्मग्रन्थहरुमा विश्वकर्मालाई भगवान मानेको छ । विश्वकर्माको स्थान ती ग्रन्थहरुमा उच्च कोटिको छ । तर त्यही हिन्दु धर्मको बाहुल्यता रहेको नेपाली समाजमा जीवित विश्वकर्माहरुमाथि विभेद हुने गरेको छ । यो अत्यन्तै दुःखको कुरा हो । हात हतियार बनाउने निर्माणका काम गर्नेहरु धर्मग्रन्थहरुको व्याख्यामा पुजिने तर वास्तविक जीवनमा अपहेलित हुनुपर्ने यो नेपालको आर्थिक सामाजिक विकासका लागि पनि ठूलो बाधकको विषय बनेको छ । निर्जीव विश्वकर्माको पूजा गरेर आफ्नो संस्कार र संस्कृति धान्दै गर्दा जीवित विश्वकर्माहरुको पनि सम्मान र पूजा गर्नुपर्छ । यसो गर्नै सके मात्र हरेक वर्ष विश्वकर्मा पजा गर्नुको अर्थ रहन्छ । अन्यथा पूूजा औपचारिकतामै सिमित बन्न सक्छ ।