Shittalpati
‘जिउँदो सहिद’ विजयको अवसान !

        नरेश चन्द्र भट्टराई

जिन्दगीको अन्तिम सत्य भनेको नै मृत्यु हो । आखिर मानवीय चोला जन्मेपछि मर्नु नै पर्दछ । मात्रै ढिलो या चाँडो भन्ने हो । केही मृत्यु अविस्मरणीय र अमर रहन्छ । जुन बाँचुञ्जेल जीवनमा गरेका राम्रो कर्मको फल हो । जीवनका अनेकन आरोह अवरोहबीच पछिल्लो समय क्यान्सर रोगको शिकार भएका नेपाली राजनीतिका जिउँदो सहिद, एक उदाहरणीय व्यक्तित्व, एउटा आदर्शपात्र विजयीराज घिमिरे उपचारकै क्रममा आफ्नो देह लिला समाप्त गर्न बाध्य भए । ५४ वर्षको औषत उमेरमै घिमिरे अस्ताउन पुगे । उनै घिमिरेका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए । स्वास्थ्य उपचार र छोराछोरी पढाउँदा उनले काठमाडौंमा आफ्नो बस्ने घर र पाल्पाको रामपुमा रहेको खेत समेत बेचेर वृद्ध आमा र परिवारका साथ काठमाडौंमा डेरामा बसेर स्वास्थ्य उपचार गर्दै आएका थिए । दृढ आत्माविश्वास र उच्च मनोवलका धनी विजय क्यान्सर रोगसँग विगत ४/५ बर्षदेखि लडेर बाँचिरहेका थिए । आफुलाई जस्तोसुकै दुख र कष्ट भए पनि सबै सहेर अरूसँग हाँसीमुख प्रस्तुत हुन्थे उनी । आफुलाई भेट्न आउने सबैलाई अतिथि सत्कार गरी माया, सद्भाव र आदर गरेर पठाउँथे । उनीसँगको संगत, बसाइ, भेटघाट र घरमा पुग्ने जोकोहीले पनि यो महसुस अवश्य गरेको हुनुपर्छ । पार्टीभन्दा माथि उठेर सबैलाई समान व्यवहार गर्दथे । तर दैवको लीला विहीबार साँझ नेपाली काँग्रेसमा बौद्धिक नेताका रूपमा परिचित जिउँदो सहिद ,हामी सबैका प्रिय विजय ! हामी सबैबाट विदा भए । हामी सबैलाई छोडेर गए । सबैलाई रुवाएर गए । प्रहरीको गोलीबाट समेत बाँचेका विजय अन्ततः मृत्युसँग पराजित भए ।

प्रजातन्त्रको स्थापनाको लागि २०४६ साल फाल्गुन ७ गते पाल्पा रामपुरमा भएको आन्दोलनको नेतृत्व विजयले गरिरहेका थिए । पुलिसलाई उनी माथि गोली हान्ने आदेश थियो । विजयलाई ताकेको गोली छलेर दाई सूर्यप्रसाद घिमिरे सहिद भए । विजयको टाउको र शरीरमा गोली लाग्यो । हात भाँचियो । संयोगले बाँचेका विजय दाजुलाई अन्तिम विदाइ गर्दै भुमिगत रूपमा लुक्दै छिप्दै तानसेन ध्रुर्वघाट आईपुगे । उनको स्वास्थ्य अवस्था खराब भएकाले उपचार अनिवार्य थियो । तानसेन मिसन अस्पतालमा रामपुर गोली काण्डमा घाइते आन्दोलनकारीलाई उपचार्थ ल्याइएको थियो । पुलिस प्रशासनको अस्पताल भित्र र बाहिर सर्वत्र निगरानी थियो । जिल्ला भरि चारैतिर विजयको खोजी भइरहेको थियो । यस्तो जटिल परिस्थितिमा अस्पतालभित्र लगेर विजयको उपचार गराउनु चुनौति र जोखिमपूर्ण थियो । पुलिस प्रशासनको आँखा छल्दै घाइते विजयलाई ध्रुर्वघाटबाट भिन्न पहिरनमा (कुमाल पहिरनमा) मिसन अस्पतालमा ल्याई भूमिगत शैलीमै उपचार गराउने र त्यहाँबाट निकाली सुरक्षित स्थानमा पुर्याउने चुनौति र जोखिमपुर्ण कार्य गर्ने सौभाग्य मैले यो पंक्तिकारले पाएको थियो । जुन सौभाग्य सफतापूूर्वक निर्वाह गरेको थिए । उपचारपछि सरकारी जासुसहरूको आँखा छल्दै विभिन्न साथीहरूको सहयोगमा विजय नौतुना सेल्टरमा पुगेका थिए ।

पोखरा गण्डकी बोर्डिङ्गबाट एसएलसी पास गरेका विजयले त्रिचन्द्र कलेज काठमाडौंबाट प्रमाणपत्र , त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक गरेर भारतको बम्बईबाट २०५० मा सिए पास गरेका थिए । कम उमेरमा सिए पास गर्ने कुशाग्र प्रतिभाका धनी विजयराज घिमिरे पाल्पाका लागि मात्र नभई देशकै लागि एक सम्भावना बोकेका बौद्धिक व्यक्ति थिए । उनका दुई छोरा , एक छोरी र एक बुहारी छन् । हाल उनी वृद्ध आमाका साथ सपरिवार काठमाडौंमा डेरा गरी बस्दै आएका थिए ।

रामपुर स्कुलमा पढ्दा देखिनै विद्यार्थी राजनीतिमा सक्रिय विजय नेपाल विद्यार्थी संघको पाल्पा जिल्ला सचिव भएका थिए । नेपाली काँग्रेस पाल्पाका सचिव , नेपाली काँग्रेस महासमिति सदस्य र २०५६ र २०७४ मा २ पटक पाल्पा क्षेत्र नं १ बाट प्रतिनिधि सभाको उम्मेदवार भएका घिमिरे गोरखापत्र संस्थानमा बोर्ड सदस्य साथै राष्ट्रिय बीमा संस्थानमा महानिर्देशक भएर आफ्नो कार्य निर्वाह गरेका थिए । प्रतिकुल स्वास्थ्यको बाबजुद पनि पार्टीको १४औं महाधिबेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएर जाने उनको अन्तिम इच्छा भने पार्टीमा मौलाएको विकृत गुटबन्दीका कारण अधुरो रह्यो । आफु माथि भएको अन्याय र पिडाका बावजुद अन्तिम घडीसम्म पनि राजनीतिमा क्रियाशिल विजय सबै विचार धाराका मानिसका प्रिय थिए । पार्टी र प्रजातन्त्रप्रतिको उनको आस्था र विश्वास कहिल्यै डगमगाएन् । सधैं पार्टी र प्रजातन्त्रप्रति निष्ठावान रहे । प्रजातान्त्रिक मूल्यमान्यताका लागि जीवन अर्पण गरेका घिमिरे अस्पतालको शैयामा रहँदासम्म पनि भेट्न जाने शुभचिन्तकहरूसँग आफ्नो स्वास्थ्यको भन्दा पनि देश , जनता र संगठनका बारेमा कुरा गर्दै थिए । देश र जनताका बारेमा चिन्तित थिए । आफुलाई जस्तो सुकै दुख र कष्ट भए पनि अरूलाई नबताउने र सहन सक्थे उनी । सधै प्रसन्न मुद्रामा रही सबैलाई माया गर्ने , सबैका प्रिय विजय ! तिम्रो विचार संधै अमर रहने छ ! तिम्रो आत्मालाई संधै शान्ति मिलोस् ! भावपूर्ण श्रद्धाञ्जली साथै सम्पर्ण शोकाकुल परिबवारजन र आफन्तजनहरूमा हार्दिक समवेदना !

( लेखक भट्टराई विश्लेषक तथा बौद्धिक व्यक्तित्व समेत हुन् ।)

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update