सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता सिट बाँडफाँटको गृहकार्यमा जुटेका छन्् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भएपनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सकस परेको छ । अहिलेसम्म कुन दलले कति सिट लिने भन्ने बारेमा गठबन्धनका दलहरुले निष्कर्ष निकाल्न सकेका छैन । एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा छ भने अर्कातर्फ पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउने चुनौती छ । माओवादी र एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि वाम गठबन्धनको कसरत जारी राखेको छ । निर्वाचन घोषणा भएको लामै समय भइसक्दा पनि गठबन्धनले सिटको बाँडफाँट टुंगो लगाउन नसक्नु दुखद् हो । यस कारण पनि असंगतिपूर्ण गठबन्धनमाथि धेरै प्रश्नहरू उठिरहेका छन् ।
गठबन्धनका नेताको दिमागी घैंटामा घाम लाग्न सकिरहेको छैन । नेताहरू गठबन्धनका नाममा अझै पनि गैरवैचारिक तथा स्वेच्छाचारी राजनीतिक सिन्डिकेटलाई निरन्तरता दिने कार्यमा रातदिन जुटिरहेका छन् । यो जनताका लागि पाच्य हुन सक्दैन । जनतालाई दिने जवाफ पनि छैन । जनताबाट लिने मत पनि छैन । त्यसैले पनि गठबन्धका नेताको यस पालाको निर्वाचन निकै सकसपूर्ण रहन गएको सहजै अनुमान लगाउन सकिन्छ । त्यसमा पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि कसका नेता तथा कार्यकर्ता निर्वाचनका दिनसम्म कहाँ पुगिसक्ने हुन् ठेगान पनि छैन । पार्टीभित्र आकांक्षी धेरै हुन्छन् । यो स्वाभाविक हो भने अर्कातिर मेरो र तेरो पक्षको मानिस भनेर टिकट दिएरमात्र पनि हुने अवस्था छैन । यो पक्ष र त्यो पक्ष भनेर टिकट दिने हो भने जित्ने ठाउँमा पनि हार हुन सक्छ । त्यसैले व्यक्तिको पकड, पार्टीको पकड, कसको प्रभाव कस्तो छ त्यो सबै हेरेरमात्र टिकट बाँडफाँट गर्नुपर्ने आवश्यकता छ । यस्ता सैद्धान्तिक कुरालाई नेतृत्वमा रहेका व्यक्तिहरूले मनन् गर्न आवश्यक छ । नत्र गठबन्धन गरेकै कारणले मात्र रिसाइरहेका मतदाताहरू टिकट वितरणमा सन्तुष्ट बन्न सक्ने अवस्था नदेख्दा मत खसाल्नै नजालान् कि भन्ने दोधारमा पर्न सक्छन् । यी यावत् कुरामा गठबन्धन दलहरुले ध्यान दिनैपर्छ । यसर्थ दलहरुले बढी सिटको दावी गर्न छाडेर एक आपसमा सौहार्दपूर्ण वातावरणमा विर्नाचनमा होमिन जरुरी छ ।