पछिल्लो समय देशका ७० जिल्लामा डेंगुको प्रकोप फैलिएको छ । कोरोना महामारी कायम रहे पनि डेंगु संक्रमणले थप समस्या उत्पन्न गराएको छ । नेपालमा पछिल्लो समय डेंगु प्रकोपबाट दैनिक सयौँ बिरामी भेटिने गरेको पाइन्छ । पाल्पामा पनि डेंगुका बिरामी भेटिएका छन् । पाल्पा सहित केही जिल्लाहरुमा कीट अभावका कारण अझै धेरै संक्रमितको पहिचान हुन सकेको छैन । धेरैजसो नेपालीहरु सिकिस्त नभइकन अस्पताल नजाने, समयमै चिकित्सकसँग परामर्श गर्ने गर्दैनन्, जसका कारण जटिल समस्याका कारण ज्यानसमेत गुमाउन विवश हुन्छन् । हरेकजसो अस्पतालहरुमा बिरामीको चाप बढ्दो छ । अनुगमन, अनुसन्धान गर्नुपर्ने सरकारी निकाय यतिबेला मौन देखिन्छन् । नागरिकहरु स्वास्थ्यकर्मीको खोजीमा भौतारिएको अवस्था छ । सरकार तथा राजनीतिक दलका नेताहरुको ध्यान भने चुनावी नेतृत्वमा कसरी आपूm पुग्ने भन्नेमा केन्द्रित छ । सरकार मन्त्री र दलका नेताहरु साधारण रुघा लागे पनि देशको ढुकुटी प्रयोग गरेर विदेश पुग्ने तर आम नागरिक भने स्वदेशमै सामन्य उपचार समेत पाउन नसक्नु विडम्वना हो । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेलवाड गरिनु गलत हो ।
डेंगु विशेषगरी एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्ने गर्दछ । प्रायः यी लामखुट्टेले दिउँसो टोक्ने गर्दछन् । त्यसैले उक्त अवधिमा बढी सतर्कता अपनाउनुपर्छ । संक्रमणबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । यसका निम्ति लामखुट्टेलाई फैलने वातावरण दिनु हुन्न । टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा यो लामखुट्टेले फूल पार्छ । त्यसैले यसलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरि पनि पानी जम्न दिनु हुँदैन । भाँडाकुँडा, गमला, छत, बरण्डा, बार्दलीलगायत घरका सबै अन्तरकुन्तरमा ध्यान पु¥याउनुपर्छ । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंशवृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्छ । यसका लागि सरकारी तवरबाट पनि सचेतनाका अभियानहरु सञ्चालन गर्नु पर्दछ । सरकार र सम्बन्धित निकायले सचेतनासँगै संक्रमति विरामीहरुको पहिचान गरी सोही अनुसार उपचारको प्रवन्ध मिलाउनुपर्छ । जसले गर्दा संक्रमण फैलनबाट रोक्न सकिन्छ । जसले जसरी योगदान गरे पनि डेंगुको नियन्त्रण गर्नु अहिलेको आवश्यकता हो । यसर्थ डेंगु रोकथाम तथा नियन्त्रणमा सबै मिलेर लागौं ।