नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ । प्रतिव्यक्ती आयलाई सन्तुलित बनाउने हाम्रो बलियो माध्यम नै वैदेशिक रोजगारी भएका कारणहरुको सही पहिचान गरेर हरेक मेरुदण्डहरुलाई देश विकासको मूल प्रवाहमा समाहित गर्नका लागि स्वरोगार अनि स्वावलम्बी बन्ने कार्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ । उत्पादनमा ह्रास अनि, दैनिक उपभोग्यवस्तुहरु विदेशबाट आयात गर्नुपर्ने समस्याका विषयमा सरोकारवाला कहिकतै पनि जिम्मेवार भएको पाइदैन । पैसाको मूल्यमा ह्रास र वस्तुको मूल्यवृद्धिलाई नियन्त्रण गर्ने सोंच कतै पनि बन्न नसकेकै कारण समस्याहरु उत्पन्न भएका हुन् । यी र यस्ता समस्याहरुको निराकरणका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार भएर नीति नियम निर्माण मै ख्याल गर्नुपर्ने देखिन्छ ।
मौषमी कृषि, नगदेवाली र परम्परागत कृषिलाई वैज्ञानिकीकरण गर्दै अगाडि बढ्ने किसिमका स्पष्ट नीति नबन्दासम्म खाली अनुदान मात्रै दिएर आर्थिक विकास सम्भव छैन । उत्पादनलाई लागत मूल्यका आधारमा स्वस्थ्य बजार, अनि सरकारी रुपमा कृषकलाई प्रोत्साहनसँगै बजारीकरणको उपयुक्त वातावरण नबन्दासम्म देश गाउँको आर्थिक विकास हँुदैन र बेरोजगारी ज्यूका त्यू रहिरहन्छ । कृषि क्षेत्रमा भएका लगानी र त्यसको सही व्यवस्थापन अनि समयमा नियमन तथा अनुगमन नहुँदा पनि समस्याहरुले जरो गाडिरहेका छन् । यसका लागि स्वयं कृषि क्षेत्रमा लागेका कृषक, अनि उपभोक्ताहरु पनि देश र देश भित्रकै उत्पादनलाई प्रोत्साहन दिई कृषिका माध्यमबाट आत्मनिर्भर बन्न नसक्दासम्म मुलुकबाट बेरोजगारी हट्दैन र त्यो नहट्दासम्म देशबाट युवा पलायन हुने समस्याको समाधान हुन सक्दैन ।