Shittalpati
इन्द्रजात्रा र यें या पुन्ही

मदन देउराली
प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा । इन्द्रजात्रालाई काठमाडौंमा मनाइने सबै भन्दा ठूलो तथा लामो धार्मिक सडक जात्रा चाडको रुपमा मानिन्छ । इन्द्रलाई वर्षा तथा स्वर्गका राजाको रुपमा पूजा गरिन्छ । यस अवसरमा राजा इन्द्रको पूजा गरिनुका साथै विभिन्न देवी देवताहरुको तथा लाखे नाँच गरिन्छ । यस्का साथै कुमारीको रथयात्रा पनि गरिन्छ ।

इतिहास अनुसार यसको शुरुवात लिच्छबीकालमा राजा गुणकामदेवको पालादेखि भएको भनिन्छ । किंबदन्ती अनुसार परापूर्व कालमा स्वर्गका राजा इन्द्रकी आमालाई पारिजात फूलको आवश्यकता परेछ तर उक्त फूल स्वर्गलोकमा नपाइने भएकोले स्वर्गका राजा इन्द्र सेतो हात्ती एैरावत चढी मृत्यलोक पुगेछन् र नेपाल मण्डलको काठमाडौं उपत्यकाको एउटा ठूलो बगैचामा पारिजात फूल प्रसस्त फुलिरहेको देखेर फूल टिप्न गएछ । यसरी इन्द्रले फूल टिप्दै गर्दा काठमाडौंको नेवार समुदायको मालीले देखेर समातेछन् । त्यो मालीले इन्द्रलाई चोर भनेर समातेर लगेर मरुटोलको काष्ठमण्डपमा एउटा खाममा बाँधेर राखेछन् । यसै घटनाको सम्झनामा काठमाडौंका विभिन्न चौकहरुमा इन्द्रको मूर्ति प्रदर्शन गर्ने गरिन्छ । यसरी पारिजातको फूल चार्ने आएकोले इन्द्रलाई चोरको रुपमा उसलाई सातदोवाटोमा राखेर प्रदर्शन गरेको हुनाले यसलाई इन्द्र जात्रा भनिएको भनिन्छ । उनले आफु इन्द्र भनेर भन्न पनि नसकेका रहेछन् । धेरै समयसम्म पनि आफ्नो छोरा नफर्केकोले इन्द्रकी आमा आफै काठमाडांै आई उ चोर नभई स्वर्गको राजा इन्द्र रहेको भनिछन् । स्थानीयबासी सबैले इन्द्र हो भन्ने थाहा पाएपछि माफी मागेर काठमाडांै उपत्यकामा खेतीपाती गर्ने बेलामा समयमै नै पानी पारिदिने शर्तमा इन्द्रलाई छोडिदिएको भनिन्छ । इन्द्रलाई नेवारहरुले खुँ देय अर्थात् चोर देवता भनेर पनि पुजा गर्दछन् । चोर चाहे जो भएपनि दण्ड सबैलाई बराबर हुन्छ भन्ने उदाहरण हो इन्द्रजात्रा । यही इन्द्रजात्रालाई येँ या पुन्ही नखको रुपमा मनाउने गरिन्छ ।

पूजा गर्नको लागि लिंग ठड्याउनु पर्छ जुन मानन्धर समुदायका स्थानीयहरु, गुठी संस्थानका प्रतिनिधि, गुरुजु पल्टन, सेनाहरु सबै मिली भक्तपुरको नाला भन्ने ठाउँको इन्द्रध्वज डाँडामा पुगी करिब ३२ हात लामो सल्लाको रुख छानिन्छ र त्यसलाई विधिपूर्वक पूजा गरिन्छ बोका बली दिइन्छ । त्यसपछि पहिला सुनको अनि चाँदीको र पछि फलामको बञ्चरोले रुख काटिन्छ । त्यस पश्चात युवाहरुको समूहले सो रुखलाई तान्दै ल्याइ भक्रपुर, मध्यपुर ठिमी, बानेश्वर हुँदै काठमाडौंको भोटाहिटीमा ल्याइन्छ । यहाँ ल्याएर पूजा गरिसकेपछि सो लिंगोलाई देवताको रुप मानेर सांस्कृतिक बाजा, नेपाली सेना, गुरुजु पल्टन सहित मानन्धर समुदायले तानेर हनुमानढोका पु¥याउँछन् । संस्कृतिविद्हरुका अनुसार यो जात्रा नेपाल सम्बत् ८८२ देखि राजा जयप्रकाश मल्लको पालाबाट शुरु भएको हो भने इन्द्रध्वज फहराउने चलन भने पृथ्वी नारायण शाहको पालामा र लिंग ठड्याउने काम पृथ्वीनारायण शाहका पुत्र प्रतापसिंह शाहले नयाँ रुप दिएर आफ्नो दरबार हुनमानढोका अगाडि ठड्याउने चलन चलाएको भनिन्छ । संस्कृतविद सत्यमोहन जोशीका अनुसार पहिला पहिला देवता र दानवका विच जहिले पनि युद्व भईरहने भएको र युद्वमा देवताहरुको हार हुने भएकोले इन्द्रादी सबै देवताहरु मिली भगवान श्री विष्णुको शरणमा गएछन् । भगवान श्री विष्णुले उनीहरुलाई एउटा झण्डा दिई पठाएछन् र युद्वमा जाँदा अग्रपंक्तिमा फरफहरायर लिएर जानु भनेछन् । त्यो झण्डा पाएपछि देवताहरुको जित हुन थालेछ । यही खुसीयालीमा विष्णुबाट प्राप्त भएको ध्वजालाई वर्षको एकपटक भए पनि फरफहरायर इन्द्रजात्रा मनाउने परम्परा चलाएको र यस चाडको महत्व भएको भन्नुहुन्छ । विभिन्न देवदेवीको नाँच तथा काठमाडौंको सडक सडकमा नेवारी समूदायले भोज खाने चलन रहेको छ । तर भोज खानु अगावै सम्हयबजी खुवाइन्छ । स्नाक्सको रुपमा सम्हयबजीलाई लिइन्छ । सम्हयबजी विभिन्न खाद्यान्न बस्तुहरु मिलाई बनाइएको नेवारी परिकार हो । यस अवसरमा सम्हयबजीको पहाड जस्तो बनाइ ठाउँ ठाउँमा सजाइन्छ  । यसरी बनाइएको सम्हयबजीको टुप्पामा एउटा सिंगो माछा वा यमरी बनाएर राखिन्छ ।

तानसेनमा इन्द्रजात्रा भनेर लिंगो ठड्याउने गरिदैन तर अरु काम भने गरिन्छ । पाल्पा नेपालमा विलय भइसके पछि पहिलो तैनाथवाला भइ आएका अमरसिह थापाले काठमाडांै उपत्यकाबाट थुप्रै हिन्दू बौद्ध नेवार कालिगढहरु पाल्पामा झिकाई विभिन्न मठ मन्दिरहरुको निर्माण गर्न लगाए । हुनत त्यो भन्दा अगाडि नै कोही काठमाडौं उपत्यकाबाट पाल्पा आइ सकेको पनि भनिन्छ । तर तानसेन सहरको रुपमा विकास अमरसिंह थापाको पालामा भएको मनिन्छ । उनले अमरनारायण मन्दिर, अमरेश्वर महादेव, अमर विनायक गणेशको मन्दिर फूलबारी ठूलो पोखरी बनाउन लगाएको भनिन्छ । पछि आउने तैनाथवालाहरुले पनि अरु नेवार कालिगढहरु झिकाएका थिए र ति नेवारहरु पनि सबै पछि यही स्थापित भए । यहाँ स्थापित भैसकेपछि तिनीहरुले काठमाडांै उपत्यकामा आफूहरुले मनाउने गरेका सबैजसो जात्रा चाडपर्व यहाँ पनि शुरु गरेको भनिन्छ । यही सन्दर्भमा इन्द्रजात्राको सम्झनामा यें या पुन्ही भने तानसेनको टक्सारटोलमा मात्र मनाइन्छ । येँ या पुन्हीका दिन टक्सारटोलका स्थानीयबासीहरुले भव्यताका साथ यो चाड आजसम्म पनि मनाउँदै आइरहेका छन् ।

टक्सारस्थित श्री सूर्य विनायक मन्दिर अगाडि अग्लो मञ्च बनाई त्यसमा मण्डप बनाइन्छ । मण्डपमा विभिन्न खाद्यान्नहरु राखेर सम्हयबजीको पहाड नै बनाइन्छ । चिउराको रास माथि कालो सेतो भटमास, केराउ, पकाएको आलु, अण्डा, कर्कलोको अचार, पाच्स्रेको साग, लसुन, अदुवा, यमरी, वोमरी, जेरी, माछा, छोयला, अम्बा, काँक्रो, आदि सबै छुट्टा छुट्टै लाइनमा मिलाएर राखेर पहाड जस्तो गरी सजाइन्छ । मण्डपको चार कुनामा चीउरा, माथि भटमास, अदुवा, कर्कलोको अचार राखी पात बनाइन्छ । मण्डपको अगाडि दाँयाबाँया तीनतिर राखिएको चीउरा माथि नै शाक्य सम्बत, येँ या पुन्ही लेख्ने गरिन्छ । समयबजीको टुप्पामा ठूलो यमरी राखिन्छ । यस्मा राखिएका सबै खाद्यान्नहरु सबै टोलवासीहरुबाट नै उठाइन्छ कसैले जिन्सी त कसैले नगद सहयोग गर्दछन् । आफ्ना पितृहरुको सम्झनामा उनीहरुको राम्रो ठाउँमा बास होस्, सुगति होस् भनेर कामना गर्दै येँ या पुन्ही मनाउन थालेको करिव ११० वर्ष भइसकेको पाका अग्रजहरु बताउनुहुन्छ । सबै तयार भइसकेपछि साँझपख भगवान श्री गणेशको पूजा गरिन्छ त्यसपछि धिमे बाजाको टोली सहितको टोलीले टकसारटोल परिक्रमा गर्दछन् । सो पूजामा उपस्थित सबैले आफ्ना पितृहरुको स्मरण गर्दै मैनबत्ति, धूपबत्ति बाल्ने गर्दछन् । भजन टोलीद्वारा पुरानो दाफा भजन गाउँछन् । भजनको समाप्ति पछि देवी देबताहरुलाई पूजा गरिन्छ र सो सम्हयबजी प्रसादको रुपमा आफ्ना नातागोता, छरछिमेकी तथा त्यस कार्यक्रममा उपस्थित सबैलाई खुवाउने चलन छ । यसो गरिएमा व्यापारमा लाभ, घरमा धनधान्य, ऐश्वर्य, सुख शान्ति आउने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । हुनत समयबजीलाई स्नाक्सको रुपमा लिइन्छ र अरु बेलामा पनि खाइन्छ । यसलाई स्वास्थ्यबर्धक खाजाको रुपमा पनि लिइन्छ । समयबजीमा रहेको अदुवा एसिडिटी तथा ग्याँसको समस्यालाई उत्तम मानिन्छ भने भटमासले मुटु रोगको खतरालाई कम गर्दछ । तोरीको तेलले छोयलामा भएको किटाणुहरुलाई खतम गर्दछ, हरियो साग तथा अण्डा, माछा, मासुलाई उच्च प्रोटिनको श्रोत मानिन्छ ।

टक्सारटोल मात्र एउटा यस्तो टोल हो जस्ले अहिलेसम्म आफ्नै श्रोत साधनबाट नेवारी संस्कृतिलाई संरक्षण गरिरहेको छ निरन्तरता दिइरहेको छ । कतैबाट संस्कृति संरक्षण भनेर आर्थिक सहयोग नपाएको पाका अंग्रजहरु बताउनुहुन्छ । देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले हरेक साल थोरै भएपनि आर्थिक सहयोग गर्ने प्रयास गरिरहेको छ तर स्थानीय सरकारलाई यस्ता संस्कृति प्रति केही चासो नभएको मा पाका अग्रहजहरु गुनासो गर्नुहुन्छ । अब यो जिम्मा युवा पुस्ताले लिनुपर्दछ र निरन्तरता दिनुपर्दछ तथा स्थानीय सरकारले आवश्यक आर्थिक सहयोग गरे मात्र हाम्रो संस्कृति बचिरहनेछ । नत्र सबै एकादेशको कथा हुनेछ । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update