Shittalpati
प्रकोप र त्यसको सही व्यवस्थापन

विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर आउँदैन तर त्यसको रोकथाम र न्यूनिकरणका विषयमा पूर्वानुमानकै आधारमा जोखिमलाई न्यूनिकरण गर्ने उपायका बारे पनि सरोकारवाला निकाय अत्यन्तै कमजोर हुनु आफैमा विडम्वनापूर्ण कार्य हो । नेपालमा विपद् व्यवस्थापन र त्यसको न्यूनिकरणका लागि पूर्वानुमानका आधारमा गरिने परामर्श अनि सल्लाहका आधारमा हुने गरेका रोकथाम भन्दा पनि विपद्लाई निम्त्याउनका लागि सहयोगी हुने कार्यलाई प्राथमिकता दिएको होकि भन्ने चिन्ता पनि त्यतिकै व्याप्त छन् ।

स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट हुने भौतिक विकास निर्माणका काममा प्रारम्भिक र विस्तृत वातावरणीय अध्ययनलाई वास्तै नगरेको भन्ने आरोप पनि लागिरहेकै हुन्छ । साना र ठूला योजना निर्माण र त्यसको व्यवस्थापनका क्षेत्रमा वातावरणीय अध्ययन नभएका कारण भू–क्षय, बाढी पहिरोले प्रसय पाएको पाइन्छ । परम्परागत रुपमा वर्षायाम शुरु हुनु अगाडि हुने गरेका सम्भावित क्षति न्यूनिकरणका कार्य अहिले हुँदैनन् । विज्ञान, प्रकृति र प्राकृतिक आचरणसँगै उपभोग शैलीमा वैज्ञानिकीकरणका नाममा यान्त्रिकी शैलीबाट हुने निर्माणमा भूगोल र त्यसको वनौटका आधारमा कार्य नभएका कारण पनि आज खन्यो, भोलि पानी परेपछि क्षत विक्षत भएर त्यसबाट हुने साना र ठूला क्षतिले झन् भन्दा झन् समस्या सिर्जना गरिरहेका हुन्छन् । अर्को तर्फ हाम्रा निर्माणका कामलाई वास्तविक मौसम र वातावरणीय प्रतिकुलताका आधारमा भन्दा कागजी प्रतिकुलतालाई हेरेर काम गर्ने परम्परा पनि वैज्ञानिक बनाउनुपर्ने हुन्छ । त्यसकारण विकास गरेर मात्र हुँदैन, त्यसको दीगोपनका लागि प्रकृतिसँगको प्राकृतिक अवस्थाका विषयमा पूर्वअध्ययन आवश्यक छ । तसर्थ प्रतिवर्ष हुने भौतिक र मानवीय क्षतिलाई कम गर्न प्रकृति र विज्ञान बिचको अन्तर सम्बन्धलाई उपयोग गर्नुको विकल्प छैन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update