देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार वेहोर्न सक्छ या सक्दैन भन्ने चिन्ता देश चलाउले राजनेताहरुमा कम भयो कि भन्ने आरोप लागिरहेका छन् । निर्वाचन आउँला, हाम्रो मतदानबाट आउने परिणामबाटै सवक सिकाउने कि भन्ने भर र विश्वासका आशाहरु पनि केलाइरहेका छन् जनताहरु । त्यसकारण पनि प्रदेश र संघीय निर्वाचन २०७९ साल मंसिर ४ गतेका लागि तोकिएको अवस्थामा अहिले माहोल तातेको छ । सत्ता साझेदार दलहरु गठबन्धनका कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहदा धेरै ठाउँबाट बिवादका स्वरहरु पनि मौलाइरहेका छन् ।
स्वतन्त्र उम्मेदवार र नयाँ दर्ता भएका पार्टीका नयाँ अनि आफुलाई युवा भन्न रुचाउने नेताहरुका आ–आफ्नै हठातका कारण पनि पुराना र लोकतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पार्टीहरु छायामा पर्दै गएका छन् । जनविश्वास गुमेको होकि भन्ने आभास मौलाएको छ । समाजमा नकारात्मकताले प्राथमिकता पाइहरेको छ । त्यसकारण पनि यो पटकको निर्वाचन विगतका भन्दा अति नै फरक अवस्थाको परिणाम लिएर आउने छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सहभागी मतदाताको तुलनामा ६ महिनाको अन्तरालमै झण्डै पाँच प्रतिशत युवा मतदाता थपिएका छन् । उनीहरुको मनस्थिति पुरातन भन्दा फरक छ । त्यसकारण पनि अब राजनीतिमा लागेका नेता र तिनका पार्टीहरुले समयसापेक्ष आफ्ना भनाई र भोगाईलाई व्यवहारिक बनाएर अगाडि नबढ्ने हो भने जतिसुकै हल्ला गरे पनि देशले मुहार फेर्न सक्दैन । नयाँ मतदाताको आरोप छ कि पार्टीका नेताहरु धेरै उमेरको हिसावले पनि जिम्मेवार छैनन् र पुरातनवादी सोंचका कारण पनि समस्याहरु उत्पन्न भइरहेका छन् । त्यसकारण पनि नेपालको राजनैतिक फाँटमा अब, अग्रजको अनुभव र अनुजको जोसलाई सक्रियताका साथ अगाडि बढाउनुको विकल्प छैन ।