Shittalpati
प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली

पाल्पा, समाजवादी चिन्तक एवं काँग्रेस नेता प्रदीप गिरीको निधनप्रति पाल्पामा शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस पाल्पाको आयोजनामा सोमबार शोक श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । पार्टी कार्यालयमा शोक पुस्तिकामा हस्ताक्षरसँगै स्व.गिरीको तस्वीरमा माल्यार्पण गरिएको थियो । गिरीका समकालिन पाल्पाका लक्ष्मण खनालबाट गिरीको तस्वीरमा माल्यार्पण गरी शोक श्रद्धाञ्जली कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा समाजवादी लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, पूर्व सांसद नारायणी शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, जिल्लाका सुरक्षा निकायका प्रमुखसहित जिल्लाका विभिन्न राजनीतिक दलका नेता, पत्रकारहरुले स्व. गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण समेत गरिएको थियो । नेपाली काँग्रेस पाल्पाले शोकको घडीमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने र शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको पार्टी सचिव सुनिता अधिकारीले बताईन । उनका अनुसार १३ औं दिन १६ भदौसम्म कार्यालयमा शोक पुस्तिका राखिने र शोकसभा आयोजना गरिने छ । गिरीको उपचारका क्रममा शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो । उनी घाँटीको क्यान्सरबाट पीडित थिए । भारतमा उपचार गराएर फर्किएपछि उनमा निमोनिया संक्रमण देखिएको थियो । उता संघीय संसद्, राष्ट्रियसभाले पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको सोमबारको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । उनको निधन प्रति राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ । बैठकले स्व.गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन समेत प्रकट गरेको छ । स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य समेत रहेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update