संक्रमित थपिँदै गएपनि हेलचेक्र्याइँ अत्याधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै जाने हो भने अवस्था झन् भयावह हुने देखिन्छ । भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग र सरसफाई जस्ता कुरामा ध्यान दिनु कोरोना रोकथामको अचुक उपाय मानिएको भएपनि अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् । अहिले दैनिकजसो सभा सम्मेलन, कार्यक्रम, बैठक जारी नै छन् । संक्रमित संख्या बढ्दै जानुमा भीडभाडको प्रभावमात्रै नभएर स्वास्थ्यका मापदण्डहरुलाई उल्लङ्घन गर्ने क्रमको पनि उत्तिकै हात रहेको देखिन्छ । कोरोना संक्रमितहरु अहिले त्यति धेरै गम्भीर संकटबाट गुज्रन नपरे पनि लापर्बाही र हेलचेक्र्याइँ भने निकै बढ्दै गएको छ । यो अत्यन्त दुखको कुरा हो । यस अघि कोरोनाका कारण धेरैले ज्यान गुमाउँदा समेत नागरिक स्तरबाट चेत नखुल्नुलाई विडम्वनाको रुपमा लिइन्छ ।
महामारीको प्रकोप वृद्धि भैरहेको विषम परिस्थितिमा सावधानी र सतर्कतालाई प्रभावकारी ढङ्गले अपनाउनुपर्ने हो, तर त्यस्तो कतै देखिएको छैन । कोरोनाको चौथो लहर आइरहेको हुँदा पनि खोप लगाएका–नलगाएका सबैले जनस्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गर्नुपर्छ । दीर्घरोगी र वृद्धवृद्धाहरू अझ बढी सतर्क रहनुपर्छ । छिमेकी मुलुक भारतमा अलि पहिलेदेखि नै संक्रमण उकालो लागिरहेकाले सरकारले नाका–नाकामा परीक्षणको व्यवस्था मिलाउनुपर्छ । स्वदेश आउने नागरिक स्वयंले पनि पर्याप्त सावधानी अपनाउनुपर्छ । खास गरी, व्यक्तिगत दूरी कायम गर्ने, मास्क लगाउने, समय–समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता संक्रमणकालका गुरुमन्त्रहरूको सबै नागरिकले अनिवार्य रूपमा पालना गर्नुपर्छ । सार्वजनिक यातायात र सार्वजनिक स्थलहरूमा पनि जनस्वास्थ्यका मापदण्डहरूको यथोचित पालना गर्ने–गराउने प्रबन्ध मिलाइनुपर्छ । यसर्थ कोरोनाको महामारीलाई थप भयावह बन्न नदिन त्यसप्रतिको निगरानीसँगै सावधानीलाई समेत बढाऔं र स्वास्थ्य मापदण्डहरुको पालनामा कडाइ गरौं ।