पाल्पा, लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पाल्पाका माधव अर्यालले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार तानसेनमा भएको नेपाल प्रेस युनियन पाल्पा शाखाको बैंठकमा केन्द्रीय सदस्य समेत रहेका अर्यालले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
युनियनको केन्द्रीय सदस्य समेत भएकाले अब सचिवको लागि मैदानमा होमिएको उनको दाबी छ । युनियनको सृदृढीकरण,समस्याबाट गुज्रिदै आएका मिडियाको उत्थान र पत्रकारहरुको संरक्षणका लागि सचिवमा उम्मेदवारी घोषणा गरेको अर्यालले बताए । युनियनको बैंठकले अर्याललाई सचिवमा भारी मतले विजयी बनाउन सबै केन्द्रीय प्रतिनिधिहरुलाई आग्रह समेत गरेको छ । युनियनका सभापति भरत शर्माले अर्याल पाल्पाबाट एक्लो उम्मेदवार भएकाले पनि सबैले विजयी बनाउन सहयोग गर्नुपर्ने बताए ।
दुई दशक भन्दा बढी समयदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका अर्यालले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय, क्षेत्रीय, जिल्ला र विभिन्न क्षेत्रबाट समेत उनी पुरस्कृत तथा सम्मानित भएका छन् । उनी कान्तिपुर दैनिकका उपसम्पादक समेत हुन् ।
युनियनको ९ औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुने गरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । २०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६ सय २० प्रतिनिधि चयन भएका छन् ।