Shittalpati
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोकका उपेन्द्रराज गहिरेले आगामी प्रतिनिधिसभा निर्वानको लागि क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी राजनीतिक दलको विकृति, विंसंगती, भ्रष्टाचार, जालझेल राजनीति अन्त्य गरी डिजिटल नेपाल निर्माणको लागि प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

२०४५ सालमा पाल्पाको पोखराथोकमा जन्मिएका ३४ बर्षीय गहिरे काठमाडौमा गैरआवासीय संस्थामा आइटी विज्ञको रुपमा कार्यरत छन् । अहिलेका राजनीतिक दलबाट नेपालको विकास तथा परिवर्तनको सम्भावना नरहेको र नभएका कारण काठमाडौमा बसेर विभिन्न विज्ञहरुको सर सल्लाहमा आ–आफ्नो क्षेत्र तथा जिल्लाबाट परिवर्तनका लागि क्रियासिल हुने अभियानका साथ आफु पाल्पामा आएको स्वतन्त्र उम्मेदवार गहिरेले बताए । युवामा नेतृत्व र रोजगारी भन्ने अभियानका साथ शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पशु, उद्योग व्यवसाय, आईटी क्षेत्रमा नेपाली युवाहरु दक्ष र सक्षम रहेको नेपालको विकासमा नेपालीहरुको प्रयोग गर्ने अभियानमा आफुहरु जुटेको स्वतन्त्र उम्मेदवार गहिरेले बताए । स्वतन्त्र उम्मेदवारहरुले राज्य शासन प्रणालीमा डिजिटल शासन प्रणाली, प्रत्यक्ष निर्वाचित राष्ट्रपती वा प्रधानमन्त्री, संघीय शासन व्यवस्था अन्तर्गत केन्द्र सरकार र स्थानीय सरकार र राईट टु रिकल, राईट टु रिजेक्ट प्रणाली सञ्चालन गर्ने अभियानको लागि जिल्लामा उम्मेदवारी दिने बताएका छन् । ‘म सबैभन्दा पहिले परिवारबाट विद्रोह गरेको छु, हिजोका दिनसम्म म परम्परागत राजनीतिक दलप्रति आवद्ध थिए आजदेखी स्वतन्त्र बनेको छ’ उनले भने । राजनीतिक दलहरुले आ–आफ्नो स्वार्थका लागि युवाको क्षमतालाई दास बनाएको र कमिसनको खेलमा सबै कुरा विदेश तथा विदेशीलाई सुम्पिएकाले देशमा परिवर्तन ल्याउन स्वतन्त्र रुपमा उम्मेदवारी दिएको गहिरेले बताए ।

परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न, परिवर्तनका लागि राज्यको नीति निर्माण तहमा युवा नेतृत्व, राजनीतिलाई लाजनीति हुनबाट जोगाउन, कुरिती, विंसगती, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापित गर्न, विकासका लागि दिगो योजना तथा पूर्वाधार विकासमा आमुल परिवर्तन गर्न, शिक्षा, स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न, आधरभुत तथा लक्षित कार्यक्रमहरुलाई व्यस्थित तरीकाले कार्यान्वयन गर्न स्वतन्त्र उम्मेदवारी दिएको गहिरेले बताए । जिल्लामा एक्लो व्यक्तिबाट पत्रकार सम्मेलन गरी अभियान शुरु गरेको, अब पालिका, वडा र टोल टोलबाट साथीहरुलाई अभियानमा गोलबन्द्ध गर्दै जाने स्वतन्त्र उम्मेदवार गहिरेले बताए ।

प्रकाशित मिति: आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update