पाल्पा, अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।
शर्माले भने बजेट निर्माणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । विगतमा अर्थमन्त्रीमाथि प्रश्न उठेर छानबिन हुँदा राजीनामा नदिएको भन्दै शर्माले सम्बोधनका क्रममा भने, ‘मैले गल्ती गरेको छैन, तपाईंहरुको आवाजलाई सम्मान गर्दै राजीनामा दिएको छु ।’ तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’ आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए ।
शर्मा मन्त्री भएकै बेला विभिन्न समयमा आलोचित बन्दै आएका छन् । उनीमाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको समेत आरोप लागेको छ ।