Shittalpati
रक्तदाता दिवसको सार्थकता

आज विश्व रक्तदाता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ । विश्वरभर छरिएर बसेका स्वयंसेवी रक्तदातालाई विशेष सम्मान तथा धन्यवाद आदान–प्रदान गर्ने दिन पनि हो यो । आफ्नो शरीरको रगत निःस्वार्थ, निःशुल्क दानस्वरूप प्रदान गर्दै आइरहेका स्वयंसेवी रक्तदाताहरूको उच्च मूल्यांकन गरी अन्तर्राष्ट्रिय उत्सवका रूपमा सन् २००४ देखि यो दिनलाई विश्व रक्तदाता दिवसका रुपमा मनाउन थालिएको हो । यो दिवसकै कारण रगत अभावको समस्यालाई केही हदसम्म भए पनि समाधान गर्ने प्रयास भने भएको छ । यो आफैमा राम्रो कुरा हो । नेपालमा स्वयंसेवी रक्तदाताहरूको संख्य बढ्दै जानुलाई सकारात्मक मान्नुपर्छ । तर रक्तदाता बढ्दै गए पनि सरकार र सम्बन्धित निकायले भने यथेष्ट व्यवस्थापनमा ध्यान दिन सकेका छैनन् । यो अत्यन्त दुखको कुरा हो । स्वयंसेवी रक्तदाताको संख्या क्रमिक वृद्धि भइरहेको अवस्थामा यसको सदुपयोग सही तवरले गर्न सकेमा रगत अभाव सहज रुपमा परिपूर्ति गर्न सकिन्थ्यो । जबसम्म स्वयंसेवी रक्तदाताको सही व्यवस्था हुँदैन, तबसम्म कुनै पनि देशका रक्तसञ्चार केन्द्रको औचित्य पुष्टि हुने छैन । यी स्वयंसेवी रक्तदाता नै एक मात्र औचित्य पुष्टि गर्न सक्ने प्रमुख स्रोत हो । स्वयंसेवी रक्तदातालाई रक्तदानका क्षेत्रमा हरदम समाहित हुनेखालका क्रियाकलापको आवश्यकता पर्छ ।

आजसम पनि निःशुल्क लिएको रगत निःशुल्क वितरण गर्न सकिएको छैन । जसरी रक्तदाताले निःशुल्क रगत दान गर्छन् त्यसरी नै सेवाग्राहीले निःशुल्क प्राप्त गर्ने वातावरण अविलम्ब बनाउनेतर्फ सम्बन्धित निकाय र सरकार गम्भीरतासाथ लाग्न आवश्यक छ । मानवरगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पूर्ण रूपमा निःशुल्क वितरण गर्ने र गराउने राज्यको नीति छ । तर अझै पनि यो निःशुल्क बन्न सकेको छैन । केही संघसंस्थाहरुले खुलेआम बिलबीजक काटी बिक्री–वितरण गरिरहेका छन् । तर पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । मानवजगत् नयाँ–नयाँ रोगव्याधीले आक्रान्त छ। उपचारका क्रममा विभिन्नखाले रोगका लागि विभिन्न किसिमका रक्तसमूह र त्यस रक्तसमूहका रगतबाट तयार पारिएका रक्ततत्वको आवश्यकतानुसार माग पनि बढ्ने क्रम छ । रगत र रगतबाट तयार पारिएका रक्ततत्वको माग र आपूर्तिमा मेल नखाँदा रगत खोज्नेले भोगेका अप्ठ्यारा र पीडा पनि नियमनकारी संस्थाको नजरमा परेको देखिँदैन । जबसम्म यस्ता पीडालाई शतप्रतिशत सम्बोधन गर्न दक्तदाताहरुको सही व्यवस्थापन हुन सक्दैन तबसम्म यो दिवसले साथर्कता पाउन सक्दैन ।

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update