सधैं जेठ ३० आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि २२ जेठ मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् । पूर्वी नेपालबाट यस वर्षको मनसुनी सुरु भएको हो । मनसुन अवधिभर यो वर्ष देशभर ठूलो वर्षा हुने आंकलन गरिएको छ । मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने बताइएको छ । वर्षाले निम्त्याउन सक्ने प्राकृतिक विपद् र समस्याप्रति अहिले नै सर्तक हुन आवश्यक छ । यो वर्षको भारी वर्षाले जनताका जीविकामा पनि ठूलो प्रभाव पार्ने देखिएको छ । यो वर्ष एक साताअघि नै मनसुन आउँदा कृषि क्षेत्र, त्यसमा पनि मकै बालीमा ठूलो राहत पुग्नेदेखिए पनि त्यसपछि हुन जाने अत्याधिक वर्षाका कारण यसले निम्त्याउने बाढी, पहिरो र डुबानले ठूलो क्षति पुर्याउने देखिन्छ ।
हरेक वर्ष मानिसले यि र यस्ता प्राकृतिक प्रकोपसँग पैठेजरी खेल्दै आउनु परेको छ । धेरैको प्राकृतिक प्रकोपका कारण ज्यान गएको छ भने कतिको घरबार नै गुमेको छ । प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । तर यसतर्फ पूर्व सतर्कता अपनाउन सकियो भने केही हदसम्म बच्न र बचाउन भने सकिन्छ । यसका लागि सरकार र सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, अहिलेसम्म पनि सरकारले यस्ता विषयमा चासो देखाएको छैन । न त जनतामा हुन सक्ने सम्भावित जोखिम र प्रभावका लागि समयमै जनचेतनाको जागरण ल्याइएको छ । सरकार बरु सत्ता स्वार्थका लागि कोसँग के गर्ने र कोसँग के नगर्ने भन्दै जोडघटाउ र भागबण्डामा समय खर्चेको छ । यो अत्यन्त दुखको कुरा हो । प्राकृतिक प्रकोपको कुनै समय र सीमा हुँदैन तापनि विश्वमा समय–समयमा आउने भुइँचालो, तुफान, ज्वालामुखी, बाढीपहिरोे, आँधीबेहेरी, अतिवृष्टि, अनावृष्टि र संक्रामक रोगहरू जस्ता प्रकोपहरूबाट बर्सेनि थुप्रैको संख्यामा जनधनको क्षति भएका र लाखौंको संख्यामा घरबार विहीन र घाइते भएका घटनाहरू घटि नै रहेका छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्छ, जुन प्रकोपहरू आकस्मिक र भयंकर हुने गर्छन् । यसर्थ मनसुन सक्रिय बन्दै गएकाले त्यसबाट हुन सक्ने क्षतिका बारेमा पहिले नै उच्च सतर्कता अपनाउन जरुरी छ ।