यस पटक पनि रोपाइँको बेलामा किसानले मल नपाउने स्थिति देखा परेको छ । देशाका अधिकांस जिल्लाहरुमा यति बेला मल अभावका समाचारहरु बाहिर आएका छन् । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका किसानहरु यस वर्षको धानखेतीका लागि पनि मल अभाव भोग्न बाध्य भएका छन् । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले वर्षेनि मलको समस्या झेल्नुपरेको छ । सरकारले मल अभाव हुन नदिने बताउँदै आए पनि किसान भने मल खोज्न भौतारिरहेका छन् । किसानले यतिबेला धानको बीउ राखिसकेका छन् । बिस्तारै असार लाग्दै छ । तर, बजारमा रासायनिक मलको अभाव हुन थालेको छ । यो यसपटक मात्र होइन, हरेक वर्ष दोहोरिने समस्या हो । हरेक वर्ष धान, मकै र गहुँजस्ता प्रमुख कृषिबाली लगाउने बेलामा मलको अभाव हुनु भनेको कुनै आश्चार्य रहेन । हरेक सरकारले आफ्नो बजेटमा कृषिमा जोड दिने तर किसानलाई खेतीको समयमा मल नदिने परम्पराको निरन्तरता यसपटक पनि जारी छ ।
नेपालमा कति मल आवश्यक पर्छ भन्ने तथ्याङ्क कृषि मन्त्रालयमा छ होला । त्यो तथ्याङ्कलाई आधार मानेर खेती गर्नु अघि नै मलको व्यवस्था गर्नु पथ्र्यो सरकारले तर त्यसो गर्न सकिरहेको छैनन् । हरेक वर्ष किसानले रातभर लाइन नबसी मल पाएका छैनन् । अझ कतिले त लाइन बसेर पनि पाएका छैनन् । यो अत्यन्त दुःखको कुरा हो । सरकारले हरेक बर्ष कृषिमा पर्याप्त बजेट विनियोजन गरे पनि किसानले समयमै मल पाउन नसक्नु विडम्बना हो । मल अभावकै कारण किसानको उत्पादनमा ह्रास आउने गरेको छ । जसको परिणाम नेपालले ठूलो मात्रमा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु परेको छ । वास्तवमा नेपाल कृषिप्रधान मुलुक होइन । किन भने जुनसुकै पार्टीको नेतृत्वमा सरकार आए पनि समयमा मलको व्यवस्था समेत गर्न नसक्ने, वार्षिक खर्बौंको कृषिजन्य वस्तु आयात गर्नुपर्ने र मौसमी वर्षमा भर पर्ने भएपछि कसरी कृषिप्रधान मुलुक हुन सक्छ ? बजेटमा कृषिलाई जसरी प्राथमिकता दिइएको छ, त्यसरी नै व्यवहारमै कार्यान्वयन हुनु आवश्यक छ । यसर्थ, सरकारले किसानलाई समयमै मल उपलब्ध गराउने दिशामा गम्भीर बन्न जरुरी छ ।